११ माघ २०८१ शुक्रबार
image/svg+xml ५:५० पूर्वाह्न
कला

शैलेन्द्र अधिकारीकाे बौद्ध दर्शनमा आधारित ‘अर्हत्’ उपन्यासकाे लाेकार्पण

नेपाली साहित्यमा बौद्ध दर्शनमा आधारित ‘अर्हत्’ उपन्यास सिर्जना भएको छ। साहित्यकार शैलेन्द्र अधिकारीले बौद्ध दर्शनमा आधारित उपन्यासको सिर्जना गरेका हुन्। उनले सिर्जना गरेको उक्त उपन्यास नेपाल प्रज्ञाप्रतिष्ठानमा लोकार्पण गरिएको छ।

अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष धम्मशोभन महास्थवीर, कान्तिपुर दैनिकका प्रधानसम्पादक उमेश चौहान, साहित्यकार नवराज लम्साल, भिक्षु महासंघका सचिव निग्रोध भन्ते, अग्रज्ञानी गुरुमा, शिखा बुक्स्का प्रबन्धक पुष्पराज पौडेल, पब्लिक क्याम्पस संघ नेपालका महासचिव गोविन्दबहादुर कार्की लगायतले संयुक्त रूपमा कृतिकाे लाेकार्पण गरेका थिए।

उपन्यासकारलाई शुभकामना दिंदै निग्रोध भन्तेले बुद्ध जन्मेको देशमा बुद्धसम्बन्धी लेखन तथा अनुसन्धान कम भइरहेको, राज्यका भाषा,साहित्य र संस्कृति सम्बन्धी निकायहरूले बेवास्ता गरिरहेको बेला बुद्धजीवनीमा आधारित उपन्यास लेखिनु सुखद् भएको बताए।

लाेकार्पण कार्यक्रममा उमेश चौहानले पुस्तककाे समीक्षा गर्दै बुद्ध आध्यात्मिक व्यक्तित्व त हुन् नै उनको प्रभाव राजनीतिमा झन् धेरै भएको बताए। बुद्धको सहअस्तित्वको अवधारणाले नेपाली राजनीति प्रभावित हुनुपर्ने उनको तर्क थियो। यस दिशातर्फ प्रेरित गर्न अर्हत् उपन्यासमा प्रशस्त गुण रहेको उनले बताए।

त्यस्तै साहित्यकार डा. नवराज लम्सालले पूर्वीय ज्ञान परम्परा अत्यन्त समृद्ध रहेको र त्यस परम्पराको आदरणीय महामानव बुद्ध रहेको बताए। सांख्य दर्शन जहाँ पुगेर रोकिन्छ त्यहींबाट बुद्धले ज्ञानको नयाँ क्षितिज उघारेको कुरालाई उपन्यासकारले उपन्यासको वैचरिक विषय बनाएको बताए।

शिखा बुक्स्ले बजारमा ल्याएको उक्त उपन्यास हार्डकभर र सफ्टकभरमा उपलब्ध छन्। उपन्यासकार शैलेन्द्र अधिकारीका निर्वेद उपन्यास र बह्मास्त्र कथासंग्रह यसअघि नै प्रकाशित छन्।

प्रकाशित: ३० भाद्र २०८१ ०९:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App