१२ वर्षअघि अमरनाथ यात्रा गरेदेखि नै चार धामको यात्रा गर्ने रहर थियो। १० वर्षअघि केदारनाथमा हिमताल फुटेर ठुलै जनधनको क्षति भएकाले चार धाम यात्रा गर्न मलाई उत्सुकता थियो। २०८१ सालको वैशाखको अन्त्य पारेर चार धाम यात्रामा निस्क्यौं। यो यात्रामा धार्मिक यात्री १५ जना र सहयोगी पाँच जना गरी २० जना सहभागी थियौं। यात्रा १४ दिनको थियो।
यसपालि भारतमा चुनाव रहेको र भारतमा प्रायः वैशाख–जेठ महिनामा गर्मी बिदा हुने साथै चार धाम यात्रा पनि वैशाखको अक्षय तृतीयादेखि कात्तिक पूर्णिमासम्म हुने भएकाले भारतमा यी चार धाममा यात्राको बेला बाटोमा टेक्ने ठाउँ नै छैन। भगवान्को दर्शन गर्न घण्टौं लाइन बस्नुपर्ने बाध्यताले गर्दा यो समयमा चार धाम यात्रा नगर्नुस् भन्ने मेरो सल्लाह छ। यो चार धाममा प्रत्येक ठाउँमा जसले पैसा तिर्छ, उसलाई दर्शन गर्न लाइन बस्नु नपर्ने। भगवान्को दर्शन गर्न केदारनाथमा भारु २१ सय र अरू जम्मै ठाउँमा भारु पाँच सय दियो भने लाइन नबसीकन भगवान्को दर्शन गर्न पाइने व्यवस्था गरी भगवान्लाई व्यापारीको वस्तु बनाएकोमा मेरो मन पटक्कै खुसी भएन।
महाकाली नदीको शारदा ब्यारेज
पश्चिम नेपालमा मेरो पहिलो यात्रा थियो। महाकाली नदी देख्नासाथ मेरो मन प्रफुल्ल भयो। ठुलो नदी तर नदीको प्रायः पानी जति भारततिर पठाइएको, नेपालतर्फ एउटा सानो कुलो मात्र छोडिएको। यो देख्दा साह्रै नमजा लाग्यो। त्यही कुलोबाट आएको महाकाली नदीको पानीले हातमुख धोई मन शान्त पारेँ।
हरिद्वार
हरिद्वार पुगेपछि नारायणी नदीको याद आयो। नेपालमा कालीगण्डकी, मस्र्याङ्दी, त्रिशूली नदी मिलेर नारायणी नदी बनेजस्तै हरिद्वारको नदी पनि भागीरथी र अलका नन्द मिलेर गंगा नदी बन्ने रहेछ।
हामीलाई हरिद्वारमा बेसरी ठगियो। प्रतिव्यक्ति भारु पाँच सय लिने अनि गल्ली गल्लीका देवता घुमाउन लाने। पुजारीसँग ट्याम्पो ड्राइभरको साँठगाँठजस्तो लाग्यो। यस सन्दर्भमा मेरो सल्लाह छ, हरिद्वार घुम्ने भनेको मानसा देवी, चन्दी देवी तथा हरिद्वारमा रहेको घाट हुन्।
हरिद्वारमा धेरै भिडभाड विशेषतः आरतीका बेला तथा गल्ली गल्लीमा रहेका मन्दिर घुम्ने बेला हुन्छ र यस्तै समयमा पैसा चोरी हुने सम्भावना पनि बढी हुन्छ। हाम्रो समूहकै एक जना साथीको पैसा तथा कागजातहरू चोरी भयो। त्यसैले पैसा राख्दा भित्री खल्ती तथा एकै ठाँउमा नराखी विभिन्न खल्तीहरूमा राख्ने गर्नुपर्छ।
हरिद्वारमा हाम्रै समूहका एक साथीकी श्रीमती हराएर खोज्दा खोज्दै झन्डै आरती हेर्न छुटेको, धन्य हेर्न पाइयो। देहरादुन घुम्दा ठ्याक्कै हामीलाई बुटवल घुमेजस्तै लाग्यो। मानसा देवी र चन्दी देवीमा पनि केबुलकारको व्यवस्था छ तर निकै दयनीय अवस्था थियो। मलाई त विक्रम ट्याम्पोमा बसेजस्तो लाग्यो। त्यहाँ घुम्न आउने भारतीय तीर्थयात्रीहरूले पनि मनकामना केबुलकारको प्रशंसा गरे तथा हरिद्वारमा रहेको केबुलकारप्रति निकै असन्तोष पोखे मेरैअघि।
यमुनत्री यात्रा
यमुनत्री यमुना नदीको मुहान पनि हो। यमुनत्रीमा रहेको मन्दिरलाई यमुनादेवीका रूपमा पुजिने गरेको छ। तर दुर्भाग्य यमुनत्रीको यात्रा गर्न पाइएन। हामी बिचबाटोबाट नै फर्किनुपर्यो।
हाम्रो एजेन्टले यात्राको टिकट लिएको तर टिकटमा तिथिमिति उल्लेख नगरेको पत्र लिई यात्रा गरिएको रहेछ। त्यसैले हाम्रो यात्राको नाम चार धाम यात्रा भयो तर व्यवहारमा तीन धाम यात्रा हुन गयो। कुरा बुझ्दा २० हजार यात्रीको कोटामा ४० हजार यात्रीको जमघट भइसकेकाले कुनै अप्रिय घटना नहोस् भनेर यात्रीलाई रोकेका रहेछन्।
गंगोत्री यात्रा
गंगोत्रीलाई गंगाको स्रोत पनि भनिन्छ। गंगोत्री मन्दिर भागीरथी नदीसँगै रहेको छ। गंगोत्री गह्रवालको उत्तरकाशीमा ३१०० मिटर उचाइमा अवस्थित छ। मन्दिरमा गंगाको मूर्ति तथा अन्य मूर्तिहरू छन्। यो मन्दिर पहिला नेपालको सिमाना विस्तारका बेला पश्चिम सतलज र पूर्वमा टिस्टासम्म नेपाल फैलिएको थियो।
यो मन्दिर १८ औं शताब्दीमा नेपालका अमर सिंह थापाले बनाएका थिए। यो मन्दिरलाई सानो ठाउँ छोडेर बाँकी होटल, पसल तथा व्यक्तिको घरले घेरेर राखेकाले मन्दिर कहाँ छ भनी ठम्याउन नै गाह्रो छ। नेपालमा मन्दिरभन्दा घर साना तर भारतमा मन्दिरभन्दा मन्दिर वरपर रहेका घर तथा होटलहरू ठुला थिए। मैले भागीरथी नदीमा हात मुख धोई लाइनमा बसेर दर्शन गरें। नदीमा पूजा गरी बत्ती चढाएँ। मन्दिरका पुजारीले तीर्थयात्रीको ढाडमा आशीर्वादका नाममा ढ्याप ढ्याप आवाज आउने गरी हातले हान्ने चलन देखेर मलाई हाँसो उठेको थियो।
केदारनाथ यात्रा
चार धाममा सबभन्दा गाह्रो केदारनाथ यात्रा हो। केदारनाथ मन्दिर रुद्रप्रयाग जिल्लामा ३५८३ मिटरको उचाइमा अवस्थित छ। यो मन्दिर मन्दाकिनी नदी छेउ तथा केदारनाथ हिमालको काखमा तीनतिरबाट हिमालले घेरेर रहेको छ। केदारनाथ पुग्दा नेपालको मुक्तिनाथ पुगेजस्तो लाग्यो। १० वर्षअघि हिमताल फुटेर बाढीले क्षति गरेका निसाना अझै छन्।
केदारनाथमा प्रायः दिउँसो २ बजेपछि हावाहुरी, पानी पर्ने, हुस्सु लाग्ने गर्दो रहेछ। त्यसैले त्यो ठाउँले चिसो परिचय बोकेको महसुस भयो। मन्दिरमा खासै होटल छैनन्। टेन्टमा बास बस्नुपर्छ। टेन्टबासको प्रतिव्यक्ति ३५० भारु लाग्छ। केदारनाथ मन्दिरपरिसरमा रहेको शिवको मन्दिर साह्रै आकर्षक छ। मन्दिरभित्र पाँच पाण्डवको मूर्ति पनि लोभलाग्दा छन्।
यात्राका क्रममा बाटोभरि यात्रुको भिड, खच्चड तथा घोडाको भिड, बाटो चिप्लो, जसले गर्दा बाटोमा जाँदाजादै हामीसँग हिँडेका यात्रीकी श्रीमती हराएर एक घण्टापछि बल्ल भेट्न सक्यो भनी गुनासो गर्नुभयो।
अर्को हाम्रै समूहका पाँच जनामध्ये एक जना एकातिर चार जना अर्कातिर परेर एक आपसमा खोज्दाखोज्दै केदारनाथको दर्शन गर्न पाइएन। मेरी पनि श्रीमतीलाई लाइनमा राखेर अरू साथीलाई खोज्न हिँडेको थिएँ। फर्कंदा उनले आफूभन्दा अघि लाइनमा बस्ने हाम्रै समूहको तीर्थयात्रीको लाइनमा बस्न गइछिन्। खोज्दा खोज्दै एक घण्टा लाग्यो। अन्तमा सँगै लाइन बसी भगवान्को दर्शन गरी बेलुका साढे सात बजे त्यहाँबाट तल झर्यौं।
केदारनाथको शिरमा ढाका टोपी लगाएर नेपालीहरू कोही जुम्लाबाट, कोही जाजरकोटबाट कामका लागि समेत त्यहाँ गएका रहेछन्। आफ्नो दैनिक गुजारा चलाउन तथा परिवार पाल्न तीर्थयात्री बोक्ने, तीर्थयात्रीलाई घोडा चढाउने काम गरेको देखियो। उनीहरूको दुःख साह्रै दर्दनाक थियो।
यात्राको बेला मलाई घोडा चढाएर लाने र डोकोमा बोकेर लाने नेपाली दाजुभाइको कुरा सुन्दा साहै्र मार्मिक लाग्यो। ‘नेपालीलाई भारतीयहरूले साह्रै हेप्ने। न उचित ज्याला पाएको छ, न ज्यानको सुरक्षा छ। न लास पाएको छ न क्षतिपूर्ति, न त्यस्तालाई कुनै कानुनी कारबाही नै भएको छ,’ ती नेपाली श्रमिकले भने।
केदारनाथ जाने बेला न्यानो लुगा तथा ड्राइफ्रुटको व्यवस्था गरेर जानुहोला। साथै एक रात केदारनाथ नै बस्नेगरी जानु अति उत्तम हुन्छ। जसले गर्दा रातिको आरती, त्यस्तै बिनालाइन भगवान्को दर्शन साथै भोलिपल्ट बिहानको केदारनाथ वरिपरिको सुन्दर दृश्य पनि हेर्न पाइन्छ।
बद्रीनाथ यात्रा
बद्रीनाथलाई विष्णु भगवान्का रूपमा लिइन्छ। चार धाम यात्रामध्ये सजिलो धामजस्तो लाग्यो। यहाँ यात्रा गर्दा एक दिन बस्ने गरी आउँदा ठिक हुन्छ। यस ठाउँमा आफ्ना पितृहरूको कल्याणका लागि श्राद्ध गरिन्छ। यहाँ हामी पुग्दा झन्डै ४ किमि त लाइन नै थियो।
लाइनमा बसी दर्शन गरेर आउनेसँग सोध्दा नौ घण्टा लाइन बसेँ भन्नुभयो। हामी भने समय अभावका कारण भगवान्को मुख्य ढोकासम्म पुगेर नमस्कार गरी फक्र्यौं। अलकानन्द नदीमा हातमुख धोई पूजा गरेर बत्ती बाली हामीमध्ये आवश्यकले श्राद्धसमेत गरी नेपाली आश्रममा बस्यौं। त्यसपछि नेपाली पण्डितले ल्याएको प्रसाद र जल लिई आफ्नो दक्षताअनुसार चन्दा दिई त्यहाँबाट फक्र्यौं। फर्कने बेला नेपाली पण्डितले हामीलाई खादा लगाई बिदाइ गर्नुभयो।
पशुपति यात्रा
मेरो चार धामको यात्रा गरिसकेपछि नेपालको पशुपतिनाथ दर्शन गर्नुपर्छ भन्ने मान्यताबमोजिम हामी श्रीमान्–श्रीमती नेपाल फर्केको भोलिपल्ट नै नुहाइधुवाइ गरी पशुपतिनाथको दर्शन तथा पूजापाठ गर्यौं। पशुपति यात्राका क्रममा उत्तर काशीमा एक व्यक्तिले भनेको कुरा याद आयो। उहाँले संस्कृत भाषामा रहेको पशुपतिनाथको महिमाबारे श्लोक पढेर सुनाउनुभएको थियो।
‘भगवान् शिवको मुख्य भाग नेपालमा छ तर तपाईंहरू धार्मिक तीर्थयात्रीका नाममा भगवान्को टाउकोलाई छोडी पुच्छर दर्शनका लागि बेकारमा दुःख गर्नुहुन्छ। तपाईंहरू धार्मिक तीर्थयात्री होइन, पर्यटक हो।’ उहाँको यो कुरा मेरो मनमा अझै ताजै छ, जीवनभर भुल्दिनँ होला। मलाई मनमनमा लाग्यो, भारतमा तीर्थयात्रा गरेर फर्केपछि पशुपतिनाथको दर्शन गर्नु अनिवार्य छ, पशुपतिनाथको दशैनपश्चात मात्र मेरो मनले शान्ति पाउँछ।
प्रकाशित: २९ असार २०८१ ११:२९ शनिबार