८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

उपहार

कथा

देवेशलाई विवाह गरेपछि सालीहरूले भिनाजुको सम्बोधन गर्दा कताकता मज्जा र अनौठो महसुस भएको थियो। उसका सालीहरू धेरै थिए। सालीले भिनाजुलाई माया गरेको उसले समाजमा देखेको थियो। त्यसैले धेरै साली भएकोमा ऊ रमाएको पनि थियो। विवाहपश्चात् उसलाई सालीहरूको नाम सम्झन केही समय पनि लागेको थियो। उसका सालीका नाम-रिमा, शुभा, तारा, आर्या, आभा र विभा।

यी सबैका आआफ्ना विशेषता थिए। साझा विशेषताका रूपमा भने उनीहरू सबै साह्रै नै राम्रा थिए। चित्रकारले बनाएका सुन्दर चित्रजस्तै। कोही मिठो खाना बनाउने, कोही तीक्ष्ण बुद्घिका थिए भने कोही रमाइलो गर्नुपर्ने खालका थिए।

सबैको प्रकृति बेग्लाबेग्लै थाहा पाएपछि देवेशलाई उनीहरूसँग घुलमिल हुन धेरै नै सजिलो र सहज भएको थियो। हुन त देवेश उनीहरू प्रत्येकका विशेषता उल्लेख गर्न चाहँदैनथ्यो किनकि यसो गरेमा उसलाई अप्ठ्यारो पर्न सक्थ्यो। ‘के म मिठो खाना मात्र बनाउने हो र? मेरो तीक्ष्ण बुद्घि छैन र भिनाजु ?’ भनेर अनेक प्रश्न पनि खडा हुन सक्थ्यो।

समाजमा ‘साली आधा घरवाली’ भनेर जिस्काउने गरे पनि आधा घरवालीभन्दा पनि भिनाजुको सुखदुःख, त्याग र संघर्ष सालीले अरूले भन्दा बढी बुझेका हुन्छन् भन्ने उसको विचार थियो। त्यसैले गर्दा सालीहरू र उसको सम्बन्ध सुमधुर पनि थियो।

 सालीहरूले देवेशलाई सल्लाहकार र अभिभावकका रूपमा पनि हेर्थे। सालीहरूबाट उसले माया र स्नेह पाएकै थियो। यति मात्र कहाँ हो र? उसको एउटा औधी माया गर्ने सालो पनि थियो। ऊ पनि रमाइलो खालको थियो। सानो छँदा रमाइलो गर्ने क्रममा ऊ आफ्नो साइकल चढेर आउँदा ‘भिनाजु, म त माइकल चढेर आएँ’ भन्थ्यो।

ऊ यस्तै कुरा गरेर रमाइलो गर्न खोज्थ्यो। बाटोमा केही रमाइलो कुरा देखे भिनाजुलाई भिडियो खिच्न भन्थ्यो र भिडियोमा हाँसो देखाउँथ्यो। तर पछि प्रायः सबै बिदेसिए। उनीहरू नजिक नभएकोमा देवेशलाई नरमाइलो लाग्थ्यो। नजिक नभए पनि कहिलेकाहीं मेसेन्जरमा अनुहार हेराहेर गरी कुरा हुने गथ्र्यो।

देवेश विगतका कुरा सम्झँदै एक्लै घरमा बसिरहेको थियो। घरमा भएको उसको कुकुर तलमाथि गथ्र्यो। हिउँजस्तै सेतो भएकाले उसले त्यसको नाम ‘स्नो’ राखेको थियो। स्नो राम्रो मात्र होइन, बफादार पनि थियो। घरमा कोही आए सङ्केत गरिहाल्थ्यो। घरको मूल ढोका लगाउन बिर्से भुक्न थाल्थ्यो। फोनको घण्टी बजेर फोन कसैले नउठाए पनि कराउन थाल्थ्यो। काग त उसको शत्रु नै थियो। कागलाई त देख्नै हुँदैनथ्यो, झम्टिन गइहाल्थ्यो।

अहिले यी दुई प्राणी ऊ र कुकुर मात्र घरमा थिए। एक्कासि घरको घण्टी बज्यो। स्नो भुक्न थाल्यो। मूल ढोका खोलेर देवेश बाहिर निस्क्यो। बाहिर त कुरियरबाट एउटा पोको (पार्सल) बोकेर मानिस आएको थियो। उसले पार्सल लियो र माथि ल्याएर खोल्यो। पार्सलमा केही चकलेट, शृंगारका साधनहरू र एउटा खरानी रङको ज्याकेट आएको थियो।

चकलेट देखेर स्नो लोभियो अनि पुच्छर हल्लाउन थाल्यो। कुकुरलाई चकलेटले उसको स्वास्थ्यमा खराब गर्छ, दिनु हुन्न भन्ने थाहा पाउँदा पाउँदै पनि एउटा चकलेट भाँचेर थोरै चाँहि उसले दियो। कुकुरले पनि खुसी भई चकलेट खान थाल्यो।

उसले आफूलाई पठाएको त्यो खरानी रङको ज्याकेट हेर्दै आफ्नो बचपनकालको कुरा सम्झिन थाल्यो। आफू सानो छँदा उसका जाडोका न्यानो लुगा थोरै मात्र हुन्थे। अहिलेजस्तो उसलाई विदेशमा रहेका आफन्तबाट यसरी ज्याकेट र लुगा आउँदैनथे। अहिले त ऊ आफै पनि प्रशस्त लुगा किन्न सक्थ्यो। त्यसबखत अहिलेजस्तो देवेशसँग जाडोमा लगाउने न्यानो उलनका लुगा, जाकेट, हुडी, ओभरकोट, थ्रिपिस सुट हुँदैनथे।

देवेशले त्यो खरानी रङको ज्याकेट लगाउन थालेको पनि निकै भइसकेको थियो। उसलाई त्यो ज्याकेट न्यानो र राम्रो लाग्थ्यो। ज्याकेट उसको शरीरमा ठ्याक्कै मिल्थ्यो पनि। माया गर्ने मानिसले पठाएर मात्र उसलाई त्यो राम्रो लागेको भने होइन। त्यसको गुणस्तर र खरानी रङ उसको मनपर्ने भएकाले पनि त्यसो भएको थियो। सेतो र कालो रङको मिश्रणबाटै खरानी रङ बन्छ।

आकाशमा पूरा बादलले ढाक्दा आकाशभरि खरानी रङ छाएको हुन्छ। धर्तीमा बीजहरू अङ्कुराउन र बोटबिरुवामा फल लाग्न त्यही बादल बर्सिनुपर्छ। मृत्युपश्चात् जलाएपछि मानिस पनि त खरानी रङमै परिणत हुन्छ। त्यसैले उसले खरानी रङ सृष्टि र संहारको रङ भनेर बुझेको थियो।

प्रायः त्यही खरानी रङको ज्याकेट नै देवेशले लगाउने गथ्र्यो। धेरै दिन लगाएपछि ज्याकेट फोहोर त हुने नै भयो। त्यो ज्याकेटलाई ऊ बारम्बार धुने पनि गर्थ्याे। एक दिन उसले त्यो ज्याकेट धोएर सुकाएको थियो। त्यसपछि त त्यो ज्याकेट हराएको हरायै भयो। यताउति चारैतिर उसले खोज्यो, तर कतै पनि उसले त्यो फेला पार्न सकेन।

त्यो खरानी रङको ज्याकेट उसलाई विदेशबाट आएको थियो। हराएको केही समय भए पनि त्यो ज्याकेटलाई ऊ बारम्बार अझै सम्झन्थ्यो, मन परेको आफन्तलाई सम्झिएझैं। देवेश त्यो ज्याकेट कहाँ गयो त भनेर विचार पनि गर्थ्याे। कतै कसैले लगे कि? भनेर पनि सोच्थ्यो। तर त्यसरी ज्याकेट लाने मानिस पनि त कोही थिएन। कतै धोएर सुकाउदा हावाले उडायो कि? तर लुगा उडाउने गरी हावा नै आएको थिएन। त्यसमाथि त ज्याकेट क्लिप लगाएर सुकाइएको थियो।

उसले आफ्नी श्रीमतीलाई पनि त्यो ज्याकेट कहाँ गयो? भनेर सोधेको थिएन। सोध्यो भने ‘त्यो ज्याकेटको हजुरलाई धेरै माया लाग्छ होइन? माया लाग्ने मानिसले पठाएर होला नि। त्यसैले त त्यही ज्याकेट सधैं लगाउनुहुन्छ। त्यो थोत्रो कति लगाउनु? म त आजित भइसकें’ भन्ने जवाफ पाउन बेर हुँदैनथ्यो। त्यसैले ऊ चुप थियो।

घरमा मालसामानहरू हराउँछन्। कहाँ जान्छन् कहाँ। कति पाइन्छन्, कति पाइँदैनन्। यो पनि देवेशलाई रहस्य नै भयो। उसले अब त्यो ज्याकेटको माया मार्नुबाहेक केही उपाय पनि थिएन। तैपनि ऊ चटक्कै त्यसो गर्न सकिरहेको थिएन।

त्यो ज्याकेटको सम्झना मनमा अति नै आउन थालेपछि देवेशले एकदिन श्रीमतीसँग सोेध्यो। श्रीमती त हाँसिन् मात्र। उनको हँसाइले त्यस ज्याकेटबारे पक्कै पनि उनलाई थाहा छ भन्ने देवेशले लख काट्यो। तर श्रीमतीले ज्याकेटबारे केही थाहा नभएको बताउदै गइन्। उनी यसो भन्थिन्, ‘हजुरलाई पनि कति चाहिएको त्यो थोत्रो ज्याकेट। सधैं त्यही लगाएको छ। मलाई त वाक्क लागिसकेको थियो। हराएर ठिकै भयो।’

उसले श्रीमतीलाई धेरै नै त्यो ज्याकेटबारे सोधखोज गरी भन्न कर गर्‍यो। तर उनले आफूलाई केही पनि थाहा नभएको बताउँदै गइन्। देवेशको केही सिप लागेन। उसले त्यो ज्याकेट भने बिर्सन सकेन। धेरै पुरानो भएकाले श्रीमतीले कसैलाई दिइन् वा फोहोर फाले सरह फालिदिइन्।

दुईमध्ये एउटा पक्कै भएको होला भन्ने देवेशले अनुमान लगायो। वास्तवमा त्यो ज्याकेट उसलाई सालीले पठाएकी थिइन्। समयको अन्तराल पछि पनि उसले बिर्सन सकेन सालीको त्यो उपहार।

प्रकाशित: १ असार २०८१ ०७:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App