६ मंसिर २०८१ बिहीबार
image/svg+xml
कला

सहरको दरबारभन्दा गाउँकै ढड्यान प्यारो

पुस्तक

मानिस विभिन्न ठाउँ घुम्छ। कर्म गर्छ। मनोरञ्जनमा हराउँछ। साथीभाइ बनाउँछ। अध्ययन गरी डिग्री हासिल गर्छ। प्रशस्त पैसा कमाउँछ। सहरमा सुनको छानो हालेर आलिसान महल ठड्याउँछ र आफूलाई सम्पन्न देखाउँछ। तर उसलाई यी चिजभन्दा आफू जन्मिएको, हुर्किएको, रमेको र बाल्यकाल बिताएको ठाउँ र त्यहाँका अनुभूतिभन्दा प्यारो र आनन्ददायक अरू केही हुन सक्दैन। यो आम मानिसको साझा अनुभूति हो।

यस्तैयस्तै अनुभूतिहरू भेटिन्छन् अनुभूतिकार चेवनप्रसाद काफ्लेको ‘अतीतको ऐना, वर्तमानको अनुहार’ पुस्तकमा। पुस्तकको भूमिकामा काफ्लेले आफ्नो जन्मस्थानलाई ढुंगा नै ढुंगाको ढड्यान, बटारिएको, बाङ्गो, विकट गाउँका रूपमा उल्लेख गरेका छन्, तर आफूले कमाएको सम्पन्नतामा भन्दा आमाले जन्माएको ठाउँ ढुंगेछाप नै प्यारो लागेको छ। उनले ‘अतीत आरोहणको खण्ड ५’ मा ढुंगेछापलाई आश्रयकी अधिष्ठात्री, धर्तीमाता, प्रकृतिरूपा भनेर सम्बोधन गरेका छन्।

अर्को कुरा उनको मन ढुंगेछापमै रमाइरहेको छ। ‘आमा’बारे लेखमा उनले लेखेका छन्, ‘जतिसुकै धनार्जन गरेर सुनैको छानो हाले पनि आमाविहीन त्यो सम्पत्ति र तुजुकको कुनै अर्थ हुने छैन।’जन्म दिने आमाको आज्ञा देववाणी सरह हुने भएकाले आमाले भनेको मान्नुपर्छ भन्ने ‘मातृदेवो भवः’ ले सन्देश दिएको छ।

दुईदिने जिन्दगानी क्षणभंगुर छ, जसका बारेमा जानिनसक्नु छ। यस अवस्थामा अरू केही गर्न नसके पनि जन्म दिने आमा र प्राण दिने धर्ती माता दुवै वन्दनीय छन्, जसरी भए पनि यी दुवैको रक्षा गर्नु हाम्रो कर्तव्य हो भन्ने सन्देश यस पाठमा दिइएको छ।

‘अतीतको ऐना, वर्तमानको अनुहार’ यस पुस्तकको नाम पनि हो। यस पाठमा जीव विकासका सन्दर्भमा वैदिककाल, त्यसपछि र आज पनि सन्तान उत्पादनका क्रममा उपनिषद्मा उल्लेख गरिएका विविध विधिबारे चर्चा गरिएको छ।

सन्तान उत्पादन गर्न खिरको प्रयोग, जडीबुटी, मन्त्र, ऋतु चक्र, नारी र पुरुषको भूमिका पनि जोडिएको छ। विज्ञानले सन्तान उत्पादनका नयाँनयाँ क्लोनजस्ता प्रविधि ल्याएको भनिए पनि त्यसका लागि शुक्रकीट अनिवार्य रहेको छ। सन्तान उत्पादनका लागि विज्ञानले विकास गरेको विधिभन्दा इतिहासका विधि अनमोल छन् भन्ने यस पाठमा देखाइएको छ।

पूर्वीय वैदिक ज्ञानलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन सके मानिसले आफूभित्र रहेका अँध्यारा पाटाहरूलाई नष्ट गरी सृष्टिजगत्को सर्वश्रेष्ठ प्राणीका रूपमा आफूलाई स्थापित गर्न सक्छ भन्ने सन्देश ‘प्राथमिक पाठशाला’मा दिइएको छ।

मान्छे मन, तन, चित्त र वचनको पुञ्ज हो। जीवन व्यवहारका क्रममा मान्छेका मनमा कामनाको पहाड ठडिएको हुन्छ, जसलाई मेटेर उज्यालोतर्फ लैजान सक्ने एउटा पाठशाला हो इन्द्रिय संयम। यसबाटै मानिसले मनलाई निर्मल बनाई प्रकाशतिरको यात्रा गर्न सके जीवन आनन्दमय बन्न सक्छ भन्ने लेखकको ठम्याइ छ। लेखकले यस पाठमार्फत अन्तरमनको यात्रातिर लाग्नुपर्छ भन्ने सन्देश दिएका छन्।

लेखक काफ्ले गाईवस्तुका गोठाले पनि हुन्। उनी ढुंगेछापका भोट्टार, घँगेरे, धारापानीलगायतका वन पाखा र जंगलहरू गोठाले बनेर चहारेका छन्। गाईवस्तु चराउन्जेल उनी जंगलकै प्राणी हुन् भन्दा के फरक पर्ला र? गाईवस्तु चराउन जंगल गएका बेला देखेका र अनुभव गरेका अनुभवलाई ‘गोठालेको स्मरण’ मा समेटिएको छ।

 वनजंगलमा बाघ, भालु, चितुवा, स्याललगायतका मांसाहारी प्राणी बस्छन्। तिनले कहिले घरमै आएर त कहिले चराइरहेका बेला जंगलबाटै बाच्छा, पाठा, बाख्रा टिपेर लगेको उनले सुनेका र देखेका पनि छन्। विगतका यस्ता घटना सुनेका उनलाई पनि गोठालो जाँदा कताकता डर लागेको अनुभव हुन्छ।

गर्मी छल्नका लागि गोठाले रुखमुनि सियालमा बस्छन्। माथि हाँगामा चराचुरुंगी आफ्ने लयमा खेल्छन्। मन्द हावामा हल्लिइरहेका पालुवामा उनीहरूले लुकामारी खेलेको मनमोहक दृश्य अनि चुच्चोको सहायताले त्यान्द्रा टिपेर ल्याई गुँड बनाएको तिनका कलाका बारेमा यसमा विस्तृत व्याख्या गरिएको छ।

यस पुस्तकको उत्तर खण्ड अतीत आरोहण शीर्षकमा नौ खण्ड प्रस्तुत गरिएको छ। तिनमा हजुर बा, आमा, कान्छा हजुर बालगायत परिवारका अन्य सदस्यसँग सम्बन्धित विषय समेटिएका छन्।

पहिलो खण्डमा जन्मस्थान रामेछापसम्मको वर्णन छ। जन्मस्थान छाडेर वर्षौंपछि हुन लागेको यात्रा उत्सुकताले भरिएको छ। आफू जन्मेहुर्केको प्यारो ठाउँ कस्तो भयो होला भन्ने लेखकका मनमा खुलदुली भइेरहेको छ। बाल्यकालमा खाइखेली गरेको ठाउँमा पुग्न जोकोही आतुर हुन्छन् भन्ने यस खण्डमा देखाइएको छ।

लेखक काफ्लेलाई हजुर बाका हरेक भनाइ स्नेही लाग्छन्। छवि पनि उस्तै सङ्लो लाग्छ। हजुर बाले खुसी हुँदै आफ्ना थाप्लामा हात राखेर लखपति भएस्, करोडपति भएस् भनेर आशिष् दिएको विषय लेखकका मनमा गढेको छ। पितापुर्खाले खन्याएको प्रेमले सिञ्चित छन्, ओतप्रोत र द्रविभूत छन्। उनीसँग पुर्खा प्रेमको महासागर छ। यस मानेमा उनी भाग्यमानी पनि छन्। यो कुरा उनको लेखाइमा पनि झल्किएको छ।

लेखक काफ्लेसँग ढुंगेछापको स्पर्श आज पनि उस्तै जीवन्त र ताजा नै छ। फलैंचामा बसेका हजुर बाका भाइभाइबीचको व्यावहारिक, परोपकारी, प्रेमल संवाद, हजुर बाको स्नेहिल स्पर्श, मृदुल वचन र आर्शीवचन, हजुरबाहरूप्रति उहाँका छोरा, भाइ, बुहारीले प्रकट गरेको श्रद्धा, आदर, देवभाव, सत्कार, आमाले हजुरआमालाई गरेको सेवा, बेलाबेलामा घरमा आउनुहुने अतिथिसँगको हार्दिक आत्मीयता, हाँसो र खुसी बिर्सिनसक्नु छ।

वरपर घरका साथीहरूसँग डन्डिबियो खेलेको, गाउँबेंसी हिँडेको, खोलामा पौडी खेल्दा बाँकटे हानेको, आहाले डाँडाको त्यो रमाइलो, लाकुँरीको छहारीमा बसेका बेला उत्तरबाट बहने चिसो हावाले लगाएको मितेरी, जाँतोमा पिँधेको मकैको च्याँख्ला, फापरको पिठोको ढिँडो हरिया खुर्सानी टोक्दै गुन्द्रुकको झोलसँग खाएको स्वाद, त्यतिबेलाका मानिसका प्राकृतिक जीवनकला शैली, संस्कार र संस्कृति सम्झेर लेखक काफ्ले ढुंगेछापलाई स्वर्गभूमिका रूपमा चित्रण गर्न पुगेका छन्।

लेखकका हजुरबा छालाका थैलामा एक पैसा, दुई पैसा, चार पैसा, पाँच पैसा, दस पैसा, पच्चीस पैसाका ढ्याकहरू राख्दथे। बेलाबेलामा थैलीबाट खनाएर ती पैसा गन्ती गर्थे हजुरबा। सातआठ वर्षको बाल उमेरमा देखेको त्यो दृश्य रोचकपूर्ण लागेको थियो लेखकलाई। हजुरबाले सिक्का खेलाइरहेका बेला दिएको जवाफ रोचकपूर्ण छ, ‘ए नाथ, तँलाई के थाहा लक्ष्मी चञ्चल हुन्छिन् भन्ने कुरा। लक्ष्मीलाई दिनहुँ चलाउनुपर्छ अनि पैसा बढ्छ। धनसम्पत्ति पनि बढ्दै जान्छ।’

लेखकलाई बाल्यकालमा घरका देखेको पुराना सरसामान जस्तो– घिउराको भाँडा, सिङमाङ, बुइगल, भोटेताल्चा, कन्दनी, लगौंटी देख्दा अनौठो लाग्छ। आजको जमानामा लगौटी कसैले लगाउँदैनन् तर मूत्रद्वार र मलद्वार छोप्ने साधन मात्र होइन, हर्निया र हाइड्रोसिलबाट बचाउने अचुक साधन पनि रहेछ लगौटी। लगौटी अड्याउन कम्मरमा बाँधिने कन्दनी साँचो झुन्ड्याउन पनि मिल्ने रहेछ।

ढुंगेछापले धेरै सन्तान जन्मायो, हुर्कायो, पढायो नै, तिनका रोमरोममा पस्यो। अध्ययन र रोजगारको बहानामा बाहिरिएका ढुंगे छापालीहरू आज सहरबजार, विदेशसम्म पुगेका छन् र आफ्नो जन्मस्थान सम्झिरहेका छन्। उनीहरूका मनमा ढुंगेछापले लाहाछाप लगाएको छ। चेवनप्रसादहरूका मनमा अविस्मरणीय रूपमा बसिरहेको ढुंगेछापलाई यो सफलताका लागि मुरीमुरी धन्यवाद दिनैपर्छ।

लेखक काफ्लेले विविध विषय दिन खोजेका छन्, तर उनी जन्मस्थान र बाल्यकालमा बढी केन्द्रित हुन पुगेका छन् भन्ने कुरा यस पुस्तकका शब्द र चित्रहरूले पाठकलाई अनुभूति गराउने छन्। सामान्य पाठकले बुझ्न सक्ने सरल वाक्य छन्। शब्दमा नवीनता छ, जसले अनुभूतिलाई मिठो बनाएको छ। कतिपय शब्द अशुद्धि छन्, जुन सामान्य हो। विषयवस्तुलाई माझ्न र टल्काउन नपुगेको अनुभूति पनि हुन्छ। समग्रमा पुस्तक पठनीय छ भन्नेमा दुई मत छैन।

प्रकाशित: १ असार २०८१ ०६:४८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App