साहित्यका विविध विधामध्ये कविता सबैभन्दा बढी लेखिने र छापिने विधा हो। किताबकै रूपमा पनि कविताकै किताब बढी छापिने गर्छ। तर, विडम्बना! कविता सबैभन्दा कम पढिन्छ। किन यस्तो? प्रश्न उठ्नु स्वाभाविक छ।
धेरै लेखिनु तर कम पढिनु, सुन्दा नै पनि आश्चर्यलाग्दो छ। तर सत्य यही नै हो। त्यसो त, तुलनात्मक रूपमा कतिपय कविता साहित्यका अन्य विधाका रचनाभन्दा बढी मन पराइएर पढ्ने गरिएका छन्।
उदाहरणका लागि- नेपाली कविताको सन्दर्भ उठाउने हो भने ‘मुनामदन’ कति पढिए कति ! संस्करणमाथि संस्करण छापिएबाट पनि त्यसको पुष्टि हुन्छ। यहाँ मूल प्रश्न छ–बढी लेखिने–छापिने भएर पनि कविता किन अनुपातमा कम पढिन्छ?
केही अपवाद छाडेर सामान्यतयाः कविता त्यति लोकप्रिय विधा होइन। तथापि माथि नै भनियो, कविता फेरि पनि धेरै लेखिन्छ। यसो हुनुको मूल एउटै कारण छ, त्यो के भने कविता भन्नासाथ त्यसको परिभाषामा भन्न सकिन्छ कि कविता भनेको अनुभूतिको विषय हो।
कुनै पनि मान्छे अनुभूतिशून्य हुँदैन, हुन सक्दैन नै। अनुभूति प्रत्येक मान्छेसँग हुन्छ। यही अर्थमा भन्ने पनि गरिन्छ- जीवनको कुनै कालखण्डमा खास गरेर यौवनकालमा मान्छे एकपटक कवि बन्छ। त्यो कालमा मान्छेको समय अनुभूतिजन्य हुन्छ। यहींनिर संवेदनशील खालका मान्छेहरूलाई त्यो समयले बढी प्रभाव पार्छ र बिस्तारै त्यस्ता मान्छे साँच्चैको कविरूपमा ढल्दै जान्छ।
भनिन्छ, कविहरू अलिक फरक स्वभावका हुन्छन्। उनीहरूसँग सामान्यतः फरक दृष्टिकोण हुन्छ। एक अर्थमा, अरूले सिधै नदेखेका विषयवस्तुलाई सूक्ष्म तरिकाले देख्छन्। मानौं कुनै एउटा फूल फुलेको छ, त्यो फूललाई सबैले ‘फूल’ नै भन्छन्, त्यो फूलको नाम भन्छन्, त्यसको रङ भन्छन्।
तर कुनै कविले भेटे भने त्यो फूलको चरित्रको कुरा गर्छन्। उदाहरणका लागि- कवि दुर्गालाल श्रेष्ठले गीतमार्फत फूल स्वयम्मा सुन्दर वस्तु भएको र त्यसको चरित्र आफैंजस्तो राम्रो (असल) हुन्छ भनेर यसरी व्याख्या गरेका छन्– ‘फूलको आँखामा फूलै संसार...।’ यसैप्रकार कवि मोहन कोइरालाले ‘फर्सीको जरा’माथि कविता लेखे।
सुन्नेहरू छक्क पर्छन्- फर्सीको नाम सुन्नासाथ फर्सीकै पो कुरा हुनुपर्ने, जराको पनि कविता हुन्छ? न त्यसको तरकारी खान मिल्छ न त अन्य प्रयोग नै गर्न मिल्छ।
लेख्ने नै हो भने फर्सीको मुन्टाको अथवा फर्सीको गट्टाको वा पाकेकै फर्सीको कविता लेखे हुन्थ्यो, उनले किन त्यो बिनाऔचित्यको फर्सीको जराको कुरा गरे? तर, कुरो सामान्य छ, फर्सीको जरामाथि ध्यान दिने व्यक्ति अरू होइनन् एक कवि हुन्। अर्को शब्दमा, कविले मात्रै सामान्यमाथि पनि असामान्य कुरो देख्न सक्छन्।
कवि तुलसी दिवस सदैव भन्ने गर्छन्- ‘कवि भनेको समयभन्दा पनि अघि हिँड्ने व्यक्ति हो।’ सुन्दा यो भनाइमा पागलपन सवार भएको हो कि जस्तो आभास हुन्छ। तर, ध्यान दिएर यो भनाइको गहिराइमा पुग्ने हो भने समयसँगै हिँड्नेहरूभन्दा समयलाई अलिक पछि पारेर हिँड्ने शक्ति कविहरूको कवितामा रहेको हुन्छ भन्ने अर्थ दिन्छ। जस्तो कि उज्यालो हुनुभन्दा पहिले कविले लेख्ने कविताले मान्छेलाई ब्युँझाउँछ। अर्थात्, गोपालप्रसाद रिमालले भनेका थिए–
‘आमा त्यो आउँछ?
हो, बा त्यो आउँछ
त्यो बिहानको सूर्यझैं उज्यालो छर्दै आउँछ।’
उपर्युक्त कविताले भनेको हुरी, साङ्केतिक रूपमा क्रान्ति हुनुभन्दा अघि नै कविले कवितामार्फत बताइसकेका थिए– त्यो (क्रान्ति) हुरी भएर आउँछ। हुन पनि, पूर्वी सभ्यतामा भन्ने प्रचलन नै छ– ‘जहाँ पुग्दैन रवि त्यहाँ पुग्छ कवि।’
तर, यस्ता कविताको शक्ति जुनसुकै कवितामा पनि हुन्छ भन्ने छैन। सामान्यतः आज लेखिने कविताहरूमा त्यो सामथ्र्य छैन। कविता पढ्ने प्रायःजसो पाठकहरूको आरोप हुने गरेको छ-आजकलका कविता भनेको केवल नाम मात्रैको कविता हो। साँच्चै हो कि! क्षणभर ताली खानका लागि भाषणजस्तो कविता लेखेर सुनाइने गरेको वास्तविकताले त्यो आरोपलाई प्रस्ट्याइरहेको त छैन?
यतिसम्म कि कवितालाई बजारिया वस्तुजस्तो सस्तो बनाइयो भन्ने आक्षेपभित्र मुछिएका छन् हिजो आजका कविहरू। नाटकघरका रङ्मञ्चमा लगेर कवितालाई अभिनायात्मक वाचन गराइनु कत्तिको युक्तिसङ्गत छ? त्यस्तो स्थितिलाई कतिपय कविहरू स्वयम्ले नै कविताको बदनाम गरेको भन्ठान्छन्।
यस दृष्टिकोणले सम्भवतः अभिनयवाला कविता–मार्काका सम्बन्धितहरूले नबुझेको हुनुपर्छ कि कविता भनेको अभिनयको विषय पक्कै होइन। तिनले हेक्का राख्नुपर्छ, कविता भनेको माथि थालनीमै भनियो- त्यो अनुभूतिको विषय हो। नाटक नै गर्न त डाइलग नै पर्याप्त छ, त्यहाँ कविताको प्रयोग गरेर त्यसको धज्जी किन उडाउनु? कविता विधा नै अलग्गै हो।
एउटा अर्को खालको कविता लेख्नेहरू पनि बजारमा पाइन्छन्, जो कुनै अखबारमा शनिबारको दिन आफ्नो कविता छापिएवापत त्यो दिन आफ्नो घर-डेरामा भात खाँदैनन् र कविता छापिदिने पत्रकार र निज कविको चर्चा चलाइदिने कथित समीक्षकसँग हरियो पर्दाभित्रको भट्टीमा पसेर जाँडपार्टी चलाउँछन्। तर तिनलाई थाहा हुँदैन, त्यो कविताको आयु त्यही दिन ती कवि घर फर्कंदा समाप्त भइसकेको हुन्छ।
यहाँ स्मरण हुन आउँछ महाकवि देवकोटा, युगकवि सिद्धिचरण, रिमालजस्ता कविहरूको। तिनका कविता आजसम्म पनि जीवित रहनुको रहस्य के हो? सहजताका साथ भन्न सकिन्छ- ती कविताहरू वास्तविक कविता हुन्, तिनले जीवन बोल्छन्।
देवकोटाले कविता लेख्दा यति डुबेर लेख्थे कि एउटा हातको औंलामा च्यापेको चुरोट सकिएर औंला पोलेपछि मात्रै झसङ्ग हुन्थे रे। प्रश्न गर्ने गरिएको छ- यस खालको कविताप्रतिको समर्पण खोइ आजका कविहरूमा? हो, यसो नहुनाकै कारण कवितामा निखारपना नपाइनु आजको वास्तविकता हो।
र, यसैको परिणाम हो पाठकहरूको कविताप्रति मोहभङ्ग हुँदै गइरहनु। कविता पढ्ने भुक्तभोगीहरू भन्छन्- घटना घट्यो, पत्रकारले जस्तो टिपोट गरिहाल्यो। अनि, त्यसलाई लाइनहरू भाँचभुँच गरेर कविताको शैलीमा तयार गर्यो, बस् ‘कवि’ का रूपमा दरिइहाल्यो।
साँच्चै, कविताको हुर्मत लिनेहरूको जगजगी बढेकै हो त साहित्यको बजारमा?
bimalbhaukajee@hotmail.com
प्रकाशित: ५ जेष्ठ २०८१ ०८:०० शनिबार