८ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
कला

वरिष्ठ कलाकार हरिवंश र गायक सपुतलाई प्रतिभा सम्मान

कलाकार हरिवंश आचार्य र गायक प्रकाश सपुत पोखरामा सम्मानित भएका छन्। पोखराको प्रतिभा माविको प्रतिभा सम्मान कार्यक्रममा कलाकारद्वय आचार्य र सपुत सम्मानित भएका हुन्।

प्रतिभाले हास्य कलाकार तथा चरित्र अभिनेता आचार्यलाई ‘विशेष प्रतिभा पुरस्कार– २०८० र सपुतलाई ‘प्रतिभा वर्ष युवा पुरस्कार– २०८०’ बाट सम्मान गरेको हो। उनीहरुलाई राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, प्रतिभा माविका अध्यक्ष नारायणप्रसाद पौडेल, संस्थापक प्राचार्य किरण सापकोटालगायतले नगद एक÷एक लाख राशिसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे।

आचार्यले हास्यव्यंग्य र अभिनयका माध्यमबाट देश र जनतालाई सुसूचित बनाउँदै नागरिकको मुहारमा हाँसो र खुसी छरेको तथा सपुतले गीत र संगीतका माध्यमबाट उत्पीडित समुदाय, जातीय विभेद, अनागरिक भएर बाँच्न बाध्य जनताका आवाज, बिदेसिएका युवाको अवस्था चित्रण गरेर दर्शक÷श्रोताको मन जित्न सफल भएकाले सम्मान गरिएको संस्थापक प्राचार्य सापकोटाले बताए।

प्रतिभाले यसअघि नेपाली क्रिकेट टिमका पूर्व कप्तानद्वय ज्ञानेन्द्र मल्ल, सन्दीप लामिछाने, भलिबलकी कप्तान अरुणा शाही, राजनीतिक विश्लेषक तथा लेखक अभि सुवेदी, एचआईभी संक्रमित सगरमाथा आरोही गोपाल श्रेष्ठलगायतलाई सम्मान गरिसकेको छ।

प्रतिभा सम्मान अर्पण समारोहमा विद्यालयले १० वर्षभन्दा बढी समयदेखि सेवारत शिक्षक तथा कर्मचारीलाई दीर्घ सेवा सम्मान र वर्ष सर्वोत्कृष्ट शिक्षकलगायत विधामा पनि पुरस्कृत गरेको थियो।

सो अवसरमा सोही विद्यालयमा प्लस टु सम्म अध्ययन गरी एमबिबिएस, सिए, होटल म्यानेजमेन्टलगायतका लागि छात्रवृत्ति पाउन तथा विद्यालयमा सर्वोत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीलाई पुरस्कृत गरिएको थियो।

कार्यक्रममा विद्यार्थीले विभिन्न सांगीतिक प्रस्तुति दिएका थिए। विद्यार्थीले ‘यो देश मेरो पनि होइन र ?’ गीतमा उत्कृष्ट प्रस्तुति दिएपछि गायक प्रकाश सपुत स्टेजमै उक्लिए अनि केहीबेर विद्यार्थीसँगै अभिनय र गीत गाएर हौसलासमेत प्रदान गरे।

कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका निवर्तमान अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले विद्यालयले प्रतिभा सम्मान अर्पण गरेर देश र जनताका लागि केही गर्छु भन्नेलाई थप हौसला प्रदान गरेको बताए।

सम्मानित वरिष्ठ कलाकार हरिवंश आचार्यले सम्मानले केही गर्छु भन्नेलाई काँध थाप्ने र अगाडि बढ्नका लागि उत्प्रेरणा जगाउनेको कमी हुँदैन भन्ने आभास दिलाएको बताए। अर्का सम्मानित व्यक्तित्व सपुतले सम्मानले आफूलाई थप नयाँ कार्य गर्नका लागि जिम्मेवारी थपेको महसुस गराएको बताए। सो अवसरमा उनले आफ्ना गीत प्रस्तुत गरी विद्यार्थी तथा अभिभावकलाई मनोरञ्जन प्रदान गरे।

विद्यालयका अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यालयले शैक्षिकसँगै अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै ध्यान दिएको बताए। उनले कलाकार, खेलाडी र सामाजिक अभियन्तालाई प्रोत्साहन गर्न र गरेको कामको सम्मान गर्ने संस्कृतिको विकासका लागि पुरस्कार प्रदान गर्ने गरेको बताए।

प्रकाशित: २ चैत्र २०८० १८:३० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App