१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

‘भो म त्यो विगत सम्झिन चाहन्नँ’

विगत/ आगत

‘म त्यो घटनालाई बिर्सन चाहन्छु,’ जुन घटनाबारे जिज्ञासा राख्नासाथ उनले भने, ‘म सकेसम्म त्यसलाई सम्झिन चाहन्नँ।’

२३ वर्षअघिको एउटा घटना। तत्कालीन प्रधानन्यायाधीश केशवप्रसाद उपाध्यायसहितका न्यायाधीशको भ्रमण दल सुर्खेत जाँदैथियो। सुर्खेतको छैसट्ठी भन्ने ठाउँमा पुगेपछि सुरक्षाकर्मीको गाडी एकाएक बारुदी सुरुङमा पर्‍यो। सुरक्षामा खटिएका सात प्रहरीको मृत्यु भयो। प्रधानन्यायाधीशलगायत अन्य बाँचे।

त्यस घटनाबाट बाँच्नेमध्येका एक हुन्–पुरुषोत्तम पराजुली। उनीलगायत पुनरावेदन अदालका तत्कालीन न्यायाधीशहरू प्रधानन्यायाधीश उपाध्यायलाई स्वागत गरेर आफ्नो क्षेत्रमा ल्याउँदै गर्दा तत्कालीन नेकपा (माओवादी) विद्रोहीको आक्रमणमा परेका थिए।  

पराजुली यतिबेला ७७ वर्षका भए। अहिले पनि उनको जीवन सक्रिय छ। त्यस घटनापछि नेपालको राजनीतिमा अनेकन् परिवर्तन आएका छन्। विद्रोही माओवादीकै नेतृत्वमा सरकार चलिरहेको छ।

मुलुक शान्ति प्रक्रियामा प्रवेश गरेपछि राष्ट्रिय अजेन्डा फेरिएका छन्। संक्रमणकालीन न्यायका मुद्दा टुंग्याएपछि शान्ति प्रक्रियाले पूर्णता पाउँछ भन्ने आशा यथावत् छ।

पूर्वन्यायाधीश पराजुली विगतमा जान नचाहे पनि त्यो समयलाई सम्झिनु र भविष्यमा फेरि यस्तो नहोस् भन्ने कामना हुनु स्वाभाविक हो। त्योभन्दा पनि महत्त्वपूर्ण त्यत्रो ठुलो घटनामा बाँचेर अगाडि बढेको जीवन ‘लाभांश’ जस्तो हो। त्यो अतिरिक्त जीवनको उत्सव मनाउन हामी एउटा अग्लो होटलको सबैभन्दा माथिल्लो तलाबाट छरपस्ट काठमाडौैंको बस्ती नियाल्दै विगतमा गफिँदै छौं।

उनी बिस्तारै पुराना कुरा सम्झिन थाल्छन्। वास्तवमा उनले त्यस समयलाई बिर्सन चाहेकै महसुस हुन्छ। तत्कालीन घटनासम्बन्धी समाचार र लेखको संकलन नै परिवारका सदस्यले गरेका रहेछन्। उनैले भनेपछि गत साता मात्र ती सबै कागज फ्याँकिएछन्। ‘मैले अस्ति भर्खर मात्र फ्याँकिदेऊ भनें,’ उनले भने।

म एकछिन चुकचुकाएँ। पहिलेका सामग्री धेरै कम मात्रामा इन्टरनेटमा फेला परेका छन्। हाम्रा स्मृतिमा भएका कुराबाटै छलफल अगाडि बढायौं।

अगाडि सुरक्षाकर्मीको गाडी थियो। त्यसमा बसेका ६ जना सुरक्षाकर्मीको बारुद पड्किएर मृत्यु भयो। न्यायाधीश पराजुलीसँगै बसेका रजिस्ट्रार बलदेव धितालको पनि निधन भयो। न्यायाधीश पराजुलीलाई भने घटनास्थलभन्दा साढे चार किलोमिटर टाढा रगतले लतपतिएको अवस्थामा फेला पारेर उपचार गर्न लगिएको थियो।

स्कर्टिङ गर्ने गाडी पड्किएपछि पछिपछि रहेको प्रधानन्यायाधीशको गाडीलाई भने सेनाका अंगरक्षकले जसरी हुन्छ अगाडि बढाउन भनेका थिए।‘दुस्मनको हातबाट मर्नुभन्दा बरु गाडी उडा,’ अंगरक्षकले चालकलाई भनेका थिए। त्यो गाडीमा चालक पनि सेनाकै थिए।

बारुदी सुरुङ पड्किएपछि प्रधानन्यायाधीशभन्दा पछाडिको गाडीमा भएकाले केही देख्न सक्ने अवस्था भएन। गाडी रोकिएपछि बेतोडसँग न्यायाधीश पराजुली दौडिएछन्। सधैं बिहान हिँडडुल गर्ने बानी भएका कारण पनि उनी त्यति फुर्तीसँग ज्यान जोगाउन हिँडेछन्। २०५७ माघमा यो घटना भएको थियो। अर्को महिना हुने छोराको बिहेका लागि पनि आफू बाँच्नुपर्छ भन्ने जिजीविषाले उनलाई जोगाएको अनुभूति हुन्छ।

त्यो बेला उनी सुर्खेतको पुनरावेदन अदालतका न्यायाधीश थिए। उनीहरूको टोली भेरी पुलमा प्रधानन्यायाधीश उपाध्यायलाई स्वागत गरेर सुर्खेत लैजान पुगेको थियो। सबैभन्दा अगाडि स्कर्टिङको गाडी, दोस्रो प्रधानन्यायाधीश चढेको गाडी र तेस्रो थियो सुर्खेतका न्यायाधीशहरू चढेको गाडी। अरू कर्मचारीहरू त्यसपछि थिए।

पराजुलीले अगाडि जाँदैखेरि पुलमुनि माओवादीहरूलाई देखेका थिए। न्यायालयलाई आक्रमण नगरेका कारण यसलाई उनले सामान्य रूपमा लिएका थिए। उनलाई त्यति छिटो तिनले सडक खनेर बम राख्न भ्याए होला भन्ने लागेको थिएन। तेस्रो गाडीमा पराजुलीसहित न्यायाधीशहरू जागेश्वर सुवेदी, चन्द्रबहादुर कार्की थिए।

प्रधानन्यायाधीश उपाध्यायसँग मुख्यन्यायाधीश बलरामकुमार सिंह बसेका थिए। बम पड्किएपछि चारैतिरबाट माओवादीले गोली प्रहार गरेका थिए। पछि पार्टी नेता अध्यक्ष पुष्पकमल दाहाल (अहिले प्रधानमन्त्री)ले न्यायाधीशहरूलाई आक्रमण गर्ने नीति नभएको बताएका थिए। तर, त्यसका कमान्डर पोस्टबहादुर बोगटीले भने आफ्नो योजनाअनुसार नै आक्रमण गरेको हुनाले जिम्मेवारी लिने बताएका थिए।

आक्रमणमा परेर पनि प्रधानन्यायाधीश उपाध्याय चढेको ल्यान्डक्रुजर गाडी सुर्खेतमा पुगेर मात्र रोकिएको थियो। रजिस्ट्रारलाई गोली लागेका कारण ठाउँको ठाउँ बिते। अन्य भने उपचार गराएर बाँच्न सफल भए।

‘म भाग्दाभाग्दै जुत्तासमेत रगतले भरिएछ,’ पराजुलीले सम्झिए, ‘जुत्ता फुकालेर पनि म भागिरहेको थिएँ। उनीहरूले लखेटेनन्। म आफैं आत्तिएर भागें।’

सुर्खेतबाट उपचारपछि उनलाई पोखरामा सारियो। त्यहाँ उपचारका निम्ति सहज होस् भनेर पोखरामा सरुवा गरिएको जानकारी तत्कालीन गृहमन्त्री (हाल राष्ट्रपति) रामचन्द्र पौडेलले दिएका थिए। कानुनमन्त्री महन्थ ठाकुरले उनलाई दुई साता वीर अस्पतालमा आएर दिनभरि पनि नछाडेको सम्झना उनीमा अझै ताजा छ।

उनको घाँटीको दायाँतिर श्वासनलीनजिकै लागेको गोली अझै पनि छ। शल्यक्रियाबाट त्यसलाई निकाल्ने हो भने खतरा हुन सक्छ भन्ने चिकित्सकको परामर्शपछि यत्तिकै छाडिएको छ। खुट्टामा भएको गोलीले पनि उनलाई आफ्नो सक्रियतामा बाधा गरेको छैन।

घटनापूर्व उनको जीवन निकै सक्रिय थियो। त्यो काण्डपछि उनी केही शिथिल भए। त्यसपछि उनलाई कतै जाऔं जस्तो लाग्न छाड्यो। जीवनमा कुनै गहिरो पीडा भने बसिरहने रहेछ। ‘गोली लागेपछि म खस्किएँ,’ पूर्वन्यायाधीश पराजुलीले नागरिकसँग भने, ‘कतै अवचेतनमा सुषुप्त चिन्ता रहेको हुनुपर्छ।’

न्यायाधीशमध्ये सबैभन्दा गम्भीर घाइते उनै भएका थिए। उपचारपछि उनी काममा निरन्तर फर्किए २०६८ साउनमा अवकाश नहुन्जेल। त्यस घटनाको एक दशकसम्म पनि उनले जिम्मेवारी वहन गर्न पाए।

जिम्मेवारी त उनले सर्वोच्चको न्यायाधीश भएर पनि निर्वाह गर्न पाउनुपर्ने थियो तर त्यो अवसर उनलाई जुरेन। उनी अवकाश नहुन्जेल न्याय परिषद्को बैठक राखिएन। उनी अवकाश भएपछि बल्ल बैठक बस्यो।

न्याय परिषद्को बैठक बस्न पाएको भए पुनरावेदनका वरिष्ठ न्यायाधीशको हैसियतमा सर्वोच्चमा सहजै प्रवेश पाउने थिए। न कुनै आग्रह न पूर्वाग्रह न्यायमूर्तिको भूमिकामा उनी रहिरहे। माओवादीकै बेला पनि उनी आफ्नो न्यायनिरूपणमा लागिरहन्थे। न्यायाधीशहरूले माओवादीलाई सुरक्षाफौजले मुद्दा चलाएर ल्याउँदा पनि औचित्य हेरेर न्याय दिने काम गरिरहे।

द्वन्द्वकालकै बेला थियो। एक दिन माओवादी कैदीलाई इजलासमा प्रस्तुत गरियो। तिनलाई खुकुरी बोकेको आरोप लगाइएको थियो। उनको न्यायिक मनले भन्यो–खुकुरी बोक्न पाइन्छ, त्यसलाई प्रयोग गरे पो कारबाही हुन्छ। उनले रिहा गर्ने निर्णय गरे। तर, ती माओवादीले आफ्नो ज्यान बाहिर नजोगिने हुँदा थुनामै राखिदिन आग्रह गरेका थिए।

द्वन्द्वकालअघि विराटनगरमा उनले गरेको फैसलाका कारण विजयकुमार गच्छदारको राजनीति जोगिएको थियो। फणिन्द्र तिमल्सिनाको हत्या गरेको आरोपमा उनीमाथि मुद्दा चलेको थियो। अन्य कुनै न्यायाधीशले पनि त्यो मुद्दा हेर्ने आँट गर्न सकेका थिएनन्।

२०४१ सालमा उनले गरेको फैसलाकै कारण गच्छदार थुनामुक्त मात्र भएनन्, राजनीतिमा सक्रिय हुन पनि पाए। उनले अध्ययन गर्दै जाँदा जुन गोली गच्छदारले चलाए भनिएको थियो, त्यस्तो गोली सर्वसाधारणसँग हुँदैनथ्यो, सुरक्षाकर्मीले नै चलाएका थिए। त्यो फैसलापछि पर्चा निकालिएको थियो, ‘न्यायाधीशले अन्यायपूर्ण फैसला गर्‍यो, तेजाब हाल्छौं।’

‘नबिराएपछि कुनै डर हुने रहेनछ,’ उनले भने, ‘म सुर्खेतको घटना हुनुअघिसम्म जोधाहा नै थिएँ।’

उनले अवकाशप्राप्त जीवन पनि १२ वर्ष बिताइसकेका छन्। उनका एक छोरा र परिवार सदस्य अमेरिकामा पनि छन्। आउने जाने भइरहन्छ। तर, यहाँ बसेका छोरा होटल उद्यमी छोरा सञ्जयसँगै उनी रमाइरहेका छन्। आफ्ना नियमित काम उनी छाड्दैनन्।

हामीसँग कुरा हुँदाहुँदै उनी खाने खाने समय भएपछि हिँड्छन्। उनले आफ्नो जीवनका अनुशासनलाई अझै छाडेका छैनन्। उनी जाँदै गरेको बाटो हेरें। उनी भर्‍याङ ओर्लिरहेका थिए।

नेपाल पनि सायद न्यायाधीश पराजुलीजस्तै त्यो घटनालाई बिर्सन चाहन्छ। विगतलाई बिर्सेर अगाडि बढ्न चाहन्छ। ‘त्यो अप्रिय घटना थियो,’ उनले कुराको सुरुमै भनेका थिए, ‘म त्यो समयलाई त्यति सम्झिन चाहन्नँ।’

प्रकाशित: १९ फाल्गुन २०८० ०६:०२ शनिबार

अक्षर ‘भो म त्यो विगत सम्झिन चाहन्नँ’