१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

यो गीत जिन्दगीको गाऊ तिमी बिहानै!

गजल

१) गजल

सखी दूर जाने रुवाएर धेरै,

कथा पीर लेखी दुख्यो चित्त मेरै।

भनी लेखिएको रमाना कहाँको?

कहाँ टुट्छ खै के छ मायालु तेरै।

निकम्मा भुलैमा कसेको छ माया,

न थेग्नै छ केही भएको छ बेरै।

व्यथाभित्र अर्कै तिनै थाल डेक्ची,

कुनैमा छ रित्तै कुनैमा छ खेरै।

कसोरी दिऊँ खै अँधेरी निशामा,

सही प्रीत लिन्थ्यौ रहेमा सबेरै।

२) गजल

कहाँ काफियाले सखा बन्छ आहा,

बढी शब्द राखी नबज्ने दमाहा।

इमानी निस्वार्थी नखोज्नू कसैले,

सबै व्यक्ति स्वार्थी भएकै छ थाहा।

अरूकै कुरा काट्न चाहन्छ जैले,

छ बानी नराम्रो कुरौटे पिराहा।

ममा हुन्छ ऊर्जा रहे साथ तिम्रो,

शशि सूर्य भेट्ने रहेको छ चाहा।

बडो क्रान्तिकारी छरी स्वप्न नौलो,

चमत्कार गर्ने छन् नेता फटाहा।

३) गजल

यौटा कथा सुनाई जाऊ तिमी बिहानै,

यो गीत जिन्दगीको गाऊ तिमी बिहानै।

हाँसोखुसी र माया भर्दै उषा किरणमा,

बाँधेर बस्नलाई पाऊँ तिमी बिहानै।

गर्नेछु प्यार मैले आऊ समीप प्यारा,

रम्दै कफीको सुर्को खाऊ तिमी बिहानै।

ती केश हात कम्मर चुमेर मस्तले झन्,

सारा हियाहियामा छाएँ तिमी बिहानै।

वाणी छ कोयलीझैं आहा, रूपै छ मीठो  

लालीगुराँस यौवन चाहें तिमी बिहानै।

४) गजल

रमाएर बाँच्ने परेको छ बानी,

म आचार्यवादी यही हो कहानी।

दियौ मात औधी नसामानसामा,

भयो स्वर्ग जस्तो मधुर जिन्दगानी।

छिनेको छ कम्मर उज्यालो मुहारै,

सधैं नै दुरूस्तै छ तिम्रो जवानी।

भएँ गर्भधारी मजाकै मजाकमा,

फकाई फुलाई जमायौ निशानी।

सबै जातिको मान राख्ने सखा ऊ,

छ सिद्धान्तवादी छ औधी इमानी।

प्रकाशित: १४ फाल्गुन २०८० ११:३८ सोमबार

अक्षर