८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

कलामा ऐतिहासिक दस्तावेज

निबन्ध

‘अहिले म ८६ वर्षको उमेरमा हिँड्दैछु। मलाई काम गर्न यो उमेरले पुग्दैन। मैले गर्नुपर्ने काम अझै थुप्रै छन्’ अग्रज कलाकार हरिप्रसाद शर्माको आवाज मेरो कानमा गुन्जिन्छ।

भेटका भलाकुसारी र फोन वार्ताका संलापहरू कलाकै हुन्छन्। हरेक क्षण, हरेक दिन कलाकै चिन्ता र चासो उहाँलाई। इतिहास अभिलेखहरूको अध्ययन पनि उत्तिकै गर्नुहुन्छ। तुरुन्तै प्रतिक्रिया पनि जनाउनुहुन्छ। कलाप्रेम नै कति प्रिय उहाँलाई। कलाको विकास, संरक्षण र संवर्धनमा उहाँको गहिरो चासो छ। सपना–विपना कलाकै नवीनताको खोजीमा उहाँको।

उमेरको यो साढे आठ दशक उकालो जीवनमा पनि कलाकर्मको ध्याउन्न र ध्येयमै समर्पित उहाँ। कलामा इतिहास, संस्कृति र जनजीवनका शाश्वत पक्षलाई उतार्नमै तल्लीन तपश्वी कलाकार उहाँ।

सधैं सिर्जना र साधनामा रमाउँदै त्यसैमा जीवनको सर्वोत्तम सुख र सन्तुष्टिको मिठास महसुस गरिरहनुभएका आदरणीय कलाकार उहाँ। संस्कृति, प्रकृति र गौरवमय इतिहासका दस्ताबेजहरूलाई क्यानभासमा उतारेर पृथक् आह्लादको पलमा आफू र अरूलाई पनि सामेल गराउने उहाँ।

कलाकार हरिप्रसाद शर्माले कलामा जीवनका रङहरू घोल्नुभएको दशकौं बितिसकेको छ। यसरी काम गरिरहँदा पुरातात्त्विक महत्त्वका मठमन्दिर, सत्तल, पाटीलगायत तत्कालीन समयका कैयौं सम्पदाहरूको स्वरूपका बारेमा उहाँ राम्रो जानकारसमेत हुनुहुन्छ।

कतिपय समयका वास्तविक सन्दर्भहरूलाई कोमल, कलात्मक र कालजयी सिर्जना–स्वरूपमा जीवन दिनुभएको छ। शान्त, सुन्दर, सफा उपत्यकालाई उही रूपमा देखाउनुभएको छ। आहा, हाम्रो विगत, हाम्रो सनातन संस्कार र संस्कृति अनि आपसी मित्रताका सुमधुर क्षणहरू! कलाकारी सिपकौशलले अझ सुन्दरता लेपन गरी तिनलाई कलामा कैद गरेर पेस गर्नुभएको छ।

हामी साँच्चै भाग्यमानी छौं। ती दिनलाई भोग्न नपाए पनि देख्न पायौं। ‘अलकापुरी कान्तिपुरी’लाई आँखामा भेट्यौं। ती कलाकौशलका दुरुस्त दसीहरू कलामा उतारेर उहाँले हामीलाई तिनै दिनतिर लैजानुभयो। तिनलाई देख्न पाउनु हाम्रो अहोभाग्य हो। हामी उहाँप्रति आभारी रहिरहने छौं। उहाँका सिर्जनात्मक कर्मका लागि नतमस्तक  भइरहने छौं।

यसरी उहाँले अन्ततः उहिलेका कालखण्डहरूलाई सरल र सजीव रूपमा अहिले देखाउनुभएको छ। विगतलाई आगतमा हेर्नुको आनन्द आभास गराउँदै हामीलाई त्यसको बेग्लै स्वाद चखाउनुभएको छ।

कति हर्ष, कति गर्व र कति खुसीका छचल्कनहरू हाम्रा लागि। जहाँ आफूले नदेखेका घटनाक्रम क्रमशः बोध गर्न सकिन्छ। जहाँ इतिहास भइसकेका पृष्ठपानाहरू आँखाकै डिलमा वर्तमान भएर साक्षात् हेर्न पाइन्छ। ती अमूल्य सम्पदा हाम्रा गौरव र इतिहासका स्वर्णिम दस्ताबेज हुन्।

कलाकार शर्माका सहयात्री कलाकार हेम पौडेल जो नेपाली कलामा चराचित्रका प्रसिद्ध चित्रकार हुनुहुन्थ्यो, यही माघ १८ गते निधन भयो। उहाँको निधनले शर्माका करिब २०१६ सालदेखिका अनन्य मित्रलाई सदाका लागि गुमाउनुपरेको छ।

उहाँ भन्नुहुन्छ– ‘मेरा प्रिय मित्र हेम पौडेलको निधनसँगै हाम्रो सम्बन्ध अब इतिहास भएको छ। पछिल्ला २०÷२५ वर्ष त हामी सँगसँगै रह्यौं। अत्यन्त घनिष्ट सम्बन्ध रह्यो। हामी जहाँ जाँदा पनि साथै हुन्थ्यौं। उहाँको मोटरसाइकल पछाडि बसेर कति ठाउँ घुमियो, त्यसको लेखाजोखा नै छैन।

हामी दुवै चित्रकार, उहाँ चराको चित्र बनाउने अनि म मानिसको चित्र बनाउने। म बोलिरहनुपर्ने, उहाँ सुनिरहने। उहाँ कहिल्यै ठुलो स्वरमा कुरा नगर्ने। खिसिक्क हाँसेरै मौनतामै  उत्तर दिने। अब उहाँको अभाव सधैंभरिलाई खट्किरहने छ। निष्ठुरी दैवले हेम–गंगाको सुन्दर जोडीलाई नै छुटाएर गयो।’

यसैबिच गत भाद्र १ देखि हनुमानढोका दरबार सङग्रहालयमा ‘नेपालको इतिहासमा हनुमानढोका दरबारक्षेत्र’मा घटेका महत्त्वपूर्ण ऐतिहासिक घटनासम्बन्धी उहाँका चित्रकलाहरूको प्रदर्शनी अद्यापि भइरहेको सन्दर्भ यहाँ स्मरणीय हुन्छ।

यही कुराको जानकारी र समय मिलाएर प्रदर्शनी अवलोकन हेर्न जाने अनुरोधसहित उहाँको आवाज कानमा गुन्जिएको ताजा सम्झना बोकेर प्रदर्शनी स्थल पुग्छु। साँच्चै त्यहाँ उहाँका ऐतिहासिक चित्रकलाहरूको सिर्जनाका सत्कर्महरू सार्वजनिक भएका छन्। क्यानभासका आवरण–अनुहारहरूमा इतिहासका पाना पाना कलात्मक सौन्दर्यको प्रस्तुतिसाथ देख्न सकिन्छ।

हनुमानढोका दरबारसँग सम्बन्धित कलाकार शर्माका प्रदर्शित लोकप्रिय चित्रहरू काठमाडौं उपत्यका विजयपछि जीवित देवी श्रीकुमारीको हातबाट टीका थाप्दै राजा पृथ्वीनारायण शाह, राजा जयप्रकाश मल्ल तलेजु भवानीसँग पासा खेल्दै, कोतपर्वको बीभत्स हत्याकाण्ड, पृथ्वीनारायण शाहको दिव्योपदेश, भानुभक्तको कान्तिपुरी नगरीजस्ता १३ थान छन्।

उहाँले भनिरहनुभएको ‘देश विशाल छ, सम्पदा धेरै छन्, मलाई काम गर्न यो जन्मले पनि पुग्दैन, अर्को जन्म लिएर आउनुपर्छ’ सम्झिँदै प्रदर्शित कलाकृति हेरेर आत्मगौरवले भावुक बन्छु। चित्रकार हरिप्रसाद शर्माको यो वाक्य साँच्चै नै उहाँका चित्रकलामा झल्किन्छ।

कति मेहनत, कति समय, कति अध्ययन, अनुसन्धान गरी तयार पार्नुभएका यस्ता ऐतिहासिक कालखण्डका जीवित प्रमाणहरू हाम्रा बहुमूल्य सम्पत्ति नै हुन्।

तिनलाई आजका पुस्ता हामीले हेर्न पाउनु अर्को उपलब्धि हो। जहाँ समयका घटनावलीहरू एकएक समेटिएका छन्। जीवन्त इतिहास सचित्र दृश्यावलोकन गर्न सकिन्छ।

त्यसो त, उहाँ कलाकर्ममै मात्र मग्न रहिरहनुहुन्न। गत साल हिउँदे याममा बुढ्यौलीले त च्याप्दै लैजान खोजे पनि हिम्मत र हौसलाले धकेल्दै उहाँ पारिवारिक भ्रमणमा पोखरा जानुभयो।

गुरुङ संस्कृति हेर्दै ल्वाङ घलेल गाउँ पुग्नुभयो। त्यसपछि जैविक विविधताले भरिपूर्ण पञ्चासेको यात्रामा तीन घण्टा उकालो हिँडेको ख्यालै भएन। आँखै अघिल्तिर माछापुच्छ्रे, अन्नपूर्ण, धवलागिरि हिमाललाई देख्न पाएर रमाउनुसम्म रमाउनुभयो।

‘कलाकारले ऊर्जा लिने स्रोत भनेको नै प्रकृतिबाट हो। छर्लङ्ग खुलेको आकाश र हिमालको दृश्यवलोकन गर्न मलाई औधी मनपर्छ। त्यसैले म हिँड्न रुचाउँछु।

केही महिनाअघि पनि छोरा र बुहारीसँग भक्तपुरको घ्याम्पेडाँडा पुग्दा जिप लाइनको आनन्द उठाएर फर्किदाको उल्लास मेरो मनभरि छ। त्यसले मलाई दिएको आनन्द र ऊर्जा मेरो सिर्जनाका लागि ठुलो उपलब्धि हो,’ कलाकार शर्मा भन्नुहुन्छ। ‘कलाकारहरू हिमाल चढ्न सक्दैनन् तर हिमाल चित्रमा उतार्छन्। हिमाल चढ्नेहरू चित्रमा हिमाल उतार्न सक्दैनन्। हिजो मैले सगरमाथा यात्राको लेख पढेपछि म पनि हिमाल पुगेको, सगरमाथाको काखमा लुटुपुटु गरेको कल्पनाले विभोर भएँ।

साँच्चै मिठो र चित्रमय वर्णन गर्नुभयो ज्ञानेन्द्र बाबु ! म साह्रै खुसी भएँ। तपाईंले हिमाल पनि चढ्नुभयो। हिमाललाई शब्दमा पनि उतार्नुभयो,’ कलाकार शर्माले यसो भनिरहँदा म फेरि अर्को पटक सर्वोच्च शिखर सामुन्ने पुगेको महसुस गरेर आह्लादित भएँ। निकै भावुक पनि भएँ। हुन त उहाँले यसअघि पनि ‘प्रकृति तिमी भएर त म छु’ निबन्ध पढेर पनि प्रतिक्रिया दिनुभएको थियो।

गएको महिना उहाँसँगै म आफू पनि पुरस्कृत हुँदाको हर्ष पुरानो भइसकेको छैन। त्यस भेटमा पनि उहाँले सिर्जनाका कुरा गरेर र यसरी सम्मान पाएर प्राप्त खुसी जीवनकै सर्वाधिक स्मरणीय क्षण रहेको बताउनुभएको थियो।

कहिल्यै चुपचाप बस्न नसक्ने उहाँ। सधैं सिर्जनात्मक कामकै मेलोमेसोमा व्यस्त रहन रुचाउने स्वभाव उहाँको। अलिकति फुर्सदमा पढ्न, लेख्न रुचाउने र मन परेको मान्छेसँग मन खोलेर कुरा गर्ने उहाँ।

‘बाँचुन्जेल खुसी नै जीवनको सम्पत्ति हो’ भन्ने उहाँ ‘त्यही खुसीका लागि नगरेका नयाँ काम गर्नुपर्ने’ बताउनुहुन्छ। ‘काम नगरी बस्दा मान्छे मरेसरह हुन्छ,’ उहाँ भन्नुहुन्छ। ‘दुइदिने जीवनमा कसैको मन दुखाउनुहुन्न, बरु सबैको मनमा बस्न सक्ने काम गर्नुपर्छ’ भन्ने मान्यताका कलाकार हरिप्रसाद शर्मा त्यसैले सधैं नयाँ काम र नरम मिजासमा सक्रिय जीवन व्यतीत गर्दै आइरहनुभएको छ।

उहाँको मनका इच्छा के र कति मात्रै छन् भने अझै इतिहासका घटनाक्रमलाई खोतल्नै बाँकी छ। तिनको अध्ययनपछि कलामा नयाँ जीवन दिन झन् बाँकी छ। त्यसैले आफ्ना लागि यो छोटो जीवनले नपुग्ने उहाँ बताउनुहुन्छ। यस्ता आदरणीय तपस्वी कलाकारको कलायात्राले जीवनको लक्ष्य हासिल गरिसकेको छ।  

प्रकाशित: १२ फाल्गुन २०८० ०९:०७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App