१३ फाल्गुन २०८२ बुधबार
image/svg+xml
कला

तरकारी

लघुकथा

खोई किन हो कुन्नि मलाई साँझ घर फर्कन अलिक ढिल्ढिलो गरौं लाग्ने। कार्यालयमा काम परे त ढिलो हुने नै भयो। कामै नभए पनि बाटातिर बरालिएर घर ढिलो पुग्ने अभ्यास हुने। समयमा पुगे त आज तरकारी के ल्याऊँ? यो ल्याऊँ कि त्यो ल्याऊँ, कति ल्याऊँ? श्रीमतीका प्रश्नको उत्तर नदिई नहुने। उत्तर दिएपछि खोई पैसा दिनुस् अर्को माग पूरा नगरी नहुने तर तरकारी मेरो उत्तर अनुसार होइन श्रीमतीको रुचि अनुसार आउने! कति दिन दोहोरिन्छ यो चाल गन्नै नभियाइने।

म फेरि ढिलो फर्कने अभ्यास दोहोर्‍याउँदै थिएँ। उनले फोन गरेर तरकारी लिएर आउनु अराउने भइन्। झन् फसाद! लिएर आयो! यो किन ल्या? कति महँगो ल्या? यतिका किन ल्या? यस्तो किन ल्या? उत्तर त कति दिनु कसरी दिनु! अर्को हैरान!

भएन फेरि समयमा घर फर्कने प्रयास थालें। कामधाम छैन हतारहतार निस्क्यो, छिटोछिटो आयो। यसो बाटातिर भेटिएका तरकारीहरू केही लिएर आउनुपर्छ नि रित्तै लखरलखर! कस्तो अचम्म! खोई यो कतिऔं न.मा पर्ने अचम्म हो कुन्नि पत्तै भएन तर कुनै एउटा अवश्य हुनुपर्छ।

- समय फर्कन्छ भनेको हो कि! आज अर्को अध्याय पल्ट्यो। केके ल्याऊँ तरकारी?

मैले भनें, ‘आलु, घिरौंला, गोलभेडा, साग भन्दै मौसम अनुसारको तरकारीसँगै अलिकति खुसी पनि ल्याउन नबिसर्नू है।’

झर्केको शैलीमा प्रश्न थपियो, ‘हँ, के हो यो खुसी भनेको, कहाँ पाइन्छ?’ 

मैले सुस्तरी भनें, ‘खोज न, तरकारी बजारमा पाइन्छ कि! अन्त महँगो पर्छ।’

 - डा.छायादत्त न्याैपाने

प्रकाशित: १५ माघ २०८० ०८:०४ सोमबार

लघुकथा अक्षर