२० आश्विन २०८१ आइतबार
image/svg+xml
कला

अब भन्नु यो देश कसले बनाउने!

कविता

यो देश

जनताले नुन र नेताहरूले सुन

नपाएर छटपटिएको देश

कोरोनाको खोप र पशुपतिको जलहरीमा

भ्रष्टाचार गरेको देश

थाहा छैन यो देश कसले बनाउने

दशकौदेखि त यिनीहरूले पाएपाए

अब देशको शासनसत्ता

बालेन जस्ताले कहिले पाउने!

किसानले मल र उत्पादनले बजार नपाएको देश

युवा जातिले अवसर र रोजगारी नपाई

देशविदेश गइरहेको देश

डाक्टरले सुरक्षा र शिक्षकले न्याय नपाएको देश

अब भन्नु यो देश कसले बनाउने!

स्वदेशीलाई शरणार्थी बनाई

विदेशीलाई नागरिकता बेच्ने यो देश।

पीडितलाई न्याय र हत्यारालाई सजाय

दिन नसकेको यो देश

अब भन्नु यो देश कसले बनाउने

दशकौदेखि त यिनीहरूले पाएपाए

अब देशको शासन सत्ता

हमाल जस्ताले कहिले पाउने!

निर्मला र प्रेम जस्ताले न्याय नपाएको देश

इँट्टाभट्टी,गौर र टिकापुर घटनाबाट टुहुरा भएका बाबुनानी

विधुवा बुहारी र वृद्ध बाउआमाले न्याय नपाएको देश

दलगत स्वार्थले न्यायआलय पनि न्याय नपाएको देश

अब भन्नु यो देश कसले बनाउने

मार्क्सवाद, लेलिनवाद,

साम्यवाद, समाजवाद भन्दै परिवर्तनको आशा देखाई

स्कुलको साटो जंगल

र कलमको साटो बन्दुक थमाएको यो देश

विगतका योद्धाहरूलाई बिर्सी

परिवारवादमा रुमलिएको यो देश

अब भन्नु यो देश कसले बनाउने!

दशकौदेखि त यिनीहरूले पाएपाए

अब देशको शासन सत्ता

बालेन जस्ताले कहिले पाउने!

विगतमा शान्त र अहिले आक्रान्त बनेको यो देश

भूतमा पराधिन र वर्तमानमा

सबैको अधिन भएको यो देश

देशमा जनताको मान र विदेशमा स्वाभिमान

गुमाएको यो देश

अब भन्नु यो देश कसले बनाउने!

जन्मिदै ऋणको भारी बोकाउने यो देश

बाह्रपछि खाली खुट्टा खाडी पठाउने यो देश

हावी हुँदै विदेशी संस्कृति र धार्मिक द्बन्द्बतिर

अग्रसर हुँदै गरेको यो देश

अब भन्नु यो देश कसले बनाउने!

देशले आफैसँग गद्दारी गरेको देश

आफैलाई मरुभूमि र छिमेकीलाई पानी बेचेको यो देश

वर्तमानमा छिमेकीले ज्वानो पठाउँछ र हामी जवानी 

अब भन्नु यो देश कसले बनाउने

दशकौदेखि त यिनीहरूले पाएपाए

अब देशको शासन सत्ता बालेन जस्ताले कहिले पाउने!

 -नरेन्द्र मण्डल

प्रकाशित: ७ माघ २०८० ०८:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App