(१) मुक्तक
छोराछोरी पाउन धेरै, देवीदेउता भाके मैले,
खुशी बाँड्न नातागोता, इष्टमित्र डाके मैले।
कर्म गरें सन्तान भन्दै, खुट्टा लाग्ने बनाइदिएँ,
बुढेसकालमा छोडी गए, वृद्ध आश्रम ताके मैले।
(२) मुक्तक
अहिले म जिउँदै हुँदा, भोक भोकै पार्छस् भने,
हेलाघृणा गरी हरपल, मेरा आँसु झार्छस् भने।
म मरेपछि मेरो नाममा, दानधर्म नगर्नु छोरा,
बाबु भन्न शर्म मानी, अहिले जिउँदै मार्छस् भने।
(३) मुक्तक
कमाई ल्याउँछु भन्दै छोरो, विदेशतिर गएको छ,
दुलही-नाति शहर पसे, घरै रित्तो भएको छ।
गरिखानु कसो गरी, हातपाउ चल्न छोडिसके,
कहाँ पोखूँ जिन्दगीले, कति व्यथा सहेको छ।
(४) मुक्तक
छोराबुहारी पर सर्छन्, हाम्रो हातपाउ बसेदेखि,
बोलाउँदा नि आँखा तर्छन, हाम्रो हातपाउ बसेदखि।
शायद वाक्क लाग्यो होला, बुढा बाबुआमा पाल्नु पर्दा,
कहिले मर्छन् जस्तो गर्छन्, हाम्रो हातपाउ बसेदेखि।
(५) मुक्तक
सारै मुटु दुख्यो आज, शायद चिरा परेको छ,
ज्ति रोक्न खोज्छु आँसु, उति उति झरेको छ।
सन्तानले फालेको बाबु, अलपत्र भेटेपछि,
अब कहिल्यै बाबु बन्दिन, मेरो रहर मरेको छ।
-निर्मलरमण पराजुली
प्रकाशित: १९ पुस २०८० ०८:१९ बिहीबार