१) ए.आइ.
मैले ए.आइ.लाई आदेश दिएँ,“ए.आइ.! मैले दुर्बिन शीर्षकमा किताब छाप्न खोजेको एउटा कभर डिजाइन गरिदेन यार।”
ए.आइ.ले भन्यो,“अलिकति हिन्ट दे‘न। म कोसिस गर्छु।”
मैले भनें, “मलाई सुन्दर हिमाल, पहाड र तराई चाहिन्छ, विकृतिका चाङ देखिनुपर्छ, सकेदेखि भ्रष्टाचारी पनि देखा, विदेश जानेको लर्को, बुढाबुढीको बिजोक पनि हालिनुपर्छ। यी सबै कुराको फेहरिस्त मैले मेरा सिर्जनामा डक्कै पारेको छु।”
ए.आइ.ले निमेषमै आदेश पालना गर्यो।
“मान्छे त बनाइस् तर अकैअर्कै पो बनाइस् नि साथी! नेपाली कल्चर र नेपाली मान्छे पनि थप् न।” मैले फेरि भनें।
कमान्ड दिनासाथ उसले हाकिमको आदेश पाएको सिपाहीले झैं सहर्ष स्विकार्यो।
मैले उसलाई फेरि भनें, “खै त दुर्बिन? दुर्बिन पनि बना। दुर्बिनले सबै विकृति नियालेको पनि देखा। अनि देखा मान्छेको छिचिमिरो नियति।”
उसले जान्दिन भन्दै भनेन। धेरै पटक फन्का मारेर बल्लतल्ल कनीकनी मेरासामु एउटा गुजारा नजाराना चढायो।
मैले यस पटक उसलाई हप्काउने शैलीमा भनें, “दुर्बिन ठुलो बना न लठ्ठू। त्यति त तेरा गिदीमा घुस्नुपर्यो नि। दुर्बिनका लेन्समा विकृतिका चित्र आउनुपर्छ। दुर्बिनभित्र पृथ्वीको डल्लो राख्, त्यो डल्लाभित्र नेपाल देखा, झन्डा पनि हाल्, खोलो बना, खोलाका किनारमा सानो बाटो देखा, माथिमाथि सुन्दर हिमालका चुचुरा राख् अरू माथिका कुरा त छँदै छन्। अँ, सुन् त – त्यो सानो डोरा जस्तो बाटामा हिंड्ने च्याखुरे केटाले ठुलो दुर्बिन काँधमा सकिनसकी बोकेको होस्।’’
सधैं परिचरकझैं आदेश पालना गरिरहने ऊ आज सुस्केरायो र क्रोधित मुद्रा लिएर भन्यो, “तँ त सारै बिग्रिस् नि मान्छे। कम्तीमा तैंले म मान्छे होइन भन्ने त बुझ्नुपर्ने। मेसिनमा मात्र विश्वास गरिहिंड्दा एकदिन तेरो अस्तित्वको लगौंटी च्यातिनेछ यो पृथ्वीबाट।”
२) विद्रोही
शान्त, एकान्त विहानीमा नित्यकर्म सकेर कलमले कापीलाई फुकायो र किरिङमिरिङ अक्षरहरू त्यसमाथि भर्न खोज्यो। कापीले ठान्यो-यो कलम आज पनि मेरो स्वतन्त्र अस्तित्व माथि धावा बोल्न खोज्दै छ।
कापीले कलमलाई भन्यो, “मेरो श्निग्धता माथि फोहोर नगर्।”
कलम बोल्यो,“म त तेरो उपादेयता अझ बढाउँदै छु, अस्तित्व रक्षा गर्दै छु। कुरो बुझ्।”
कापीले थप्यो, “मेरा जिउभरि फोहोर पोतेर अझ मेरो उपादेयता अनि अस्तित्व रक्षाको कुरा गर्दै छस् अन्यायी?”
प्रष्टीकरण दिने शैलीमा कलमले भन्यो, “मबिना तेरो कुनै छुट्टै अस्तित्व छैन भाइ। म छु र तँ छस्। मेरो आवश्यकताले गर्दा नै तेरो जन्म भएको हो। मैले सुललित शब्दले तेरा शरीर भरिदिंदा मानिसहरूले जुगजुगसम्म तेरो सुरक्षा गर्छन्। अजरअमर बन्छस् मेरा सान्निध्यले तँ पनि।”
कलमको यो प्रष्टीकरणले कापीको बौलाहापन अझ बढ्यो। उसले रौद्र रूप धारण गरेर भन्यो, “ए, तँ होमर, मिल्टन, किट्स, शेली, वायरन, देवकोटा, दाँते को होस् र तेरो सान्निध्यले मेरो उपकार हुने? साँचो लेखनपथ कहिले हिंडिस् तँ? तँ त मात्र डुङडुङ गनाउने बान्ता गर्छस् मेरा जिउभरि। असरल्ल विचार छरेर आत्मरतिमा रमाउँछस् तँ। तैंले समग्र मान्छे छोइस्? मान्छेका कल्याणका कुरा गरिस्? कपटी। ए आत्मश्लाघी, बान्ता वेदान्त र अमर वेदान्तका बीचमा आकाश जमीनको फरक छ। तँ निस्की, निस्किहाल्। खाली सिसी अनि पुराना कागजको हिस्सा बन्नु छैन मलाई अब।”
कलमले प्रत्युत्तरमा एक शब्द थप्न र टाउको उठाएर कापीको स्निग्ध, सफा अनि कञ्चन मुहार हेर्न पनि सकेन। हारेको सैनिकझैं ढोकाबाट लुरुलुरु निहुरिएर निस्किएको कलमलाई देख्दा कापीले लामो सास फेरेर सोच्यो-यो अत्याचारीबाट आजलाई त बाँचे।
प्रकाशित: १९ पुस २०८० ०४:२९ बिहीबार