५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
कला

एरोबिकमा रमे प्रेमिल कुकुर

तस्बिर: रुबी रौनियार/नागरिक

स्वयम्भूको भगवान पाउमा रहेको धर्मचक्र पार्कमा दैनिक संगीतको धुनमा एरोबिक सिकाइन्छ। एरोबिक प्रशिक्षक राज्यलक्ष्मी स्थापितले एरोबिक सिकाइरहँदा दैनिक एउटा कुकुर आउने र एरोबिक सिक्नेहरूकै झुन्डमा उभिएर भुइँमा लडीबुडी गर्ने गर्छ।

संगीत बुझेर उसले पनि व्यायाम गरेझैं कहिले उफ्रिने, कहिले चार खुट्टामाथि उचारेर भुइँमा लडीबुडी गरी धुनको तालमै हाउभाउ देखाउँछ। कसैलाई अप्ठ्यारो पार्दैन। प्रशिक्षकसँगै केही दुरीमा उसले हाउभाउ देखाइरहन्छ र एरोबिक सकेपछि पार्कबाहिर निस्केर जान्छ।

शुक्रबार बिहानको दृश्य भने अलि फरक देखियो। सधैं एक्लै आउने त्यो कुकुर शुक्रबार पनि एरोबिक सुरु भएसँगै भुइँमा लडीबुडी गरिरहेको थियो।

त्यही समयमा उसको एउटा साथी पनि आइपुग्यो। अनि उसले आफ्नो साथी देखेपछि कुदेर भेट्न गयो। केहीबेर मुख जोडेर केही भने जस्तो पनि हाउभाउ गर्‍यो।

मानौं उसले भनिरहेको थियो-‘अरे यार! कति दिनपछि भेटेको तिमी।’

उसको प्रत्युत्तरमा अर्को कुकुरले पनि अँगालो मार्दै कुरा गरेजस्तो गरिरहेको थियो। दुवै कुकुरबिच मित्रताको चर्चा एरोबिक सिक्नेहरू गरिरहे। पाँच मिनेटसम्म दुवैले एकअर्कालाई अँगालो मार्ने, भलाकुसारी गर्नेसम्मको हर्कत गरे।

केहीबेर पार्कको माहोल नै निकै रमाइलो बन्यो। दुवै कुकुरले कहिले एक अर्कालाई म्याइँ खान्थे, कहिले दुवै एक अर्कालाई समातेर हेरिरहेजस्तो गर्थे अनि मुस्कुराइरहेजस्तो पनि गर्थे। यस्तो लाग्थ्यो कि एक अर्काको सन्चोबिसन्चो सोधिरहेका छन्।

एरोबिक सिक्न आउनेहरू भन्दै थिए, ‘हेर्नुस् त, कति इमानदार र मिलनसार हुन्छन् यी कुकुरहरू। आज चिनजान भएकै मान्छे भेटे पनि नचिनेजस्तो गरी मुख फर्काएर हिँड्ने समयमा कुकुरको प्रेम कति गहिरो हुँदोरहेछ।’

एरोबिक सिक्ने एक महिलाले भनिन्, ‘मान्छेभन्दा कुकुर धेरै इमानदार र बफादार पनि हुन्छन्। सधैं एक्लै एरोबिक गर्थ्याे। आज साथी भेटेपछि हेर्नुस् त, एरोबिकबारे साथीलाई पनि सुनाउँदै छ।’

उनले यति भन्दै गर्दा फेरि ती कुकुर एकअर्कालाई म्वाइँ खाए र एकअर्काको आँखामा हेरेको हाउभाउ देखाए। उनीहरूको हाउभाउले तिनीहरूबिच निकै प्रेमिल सम्बन्धको अनुभूति जोकोहीले पनि गरिरहेका थिए। फेरि एकअर्कालाई राम्ररी हेरिरहे र मुसुक्क हाँसेको हाउभाउ गरेर बिस्तारै पार्कबाट बाहिरिए।  

प्रकाशित: १७ पुस २०८० ०३:४८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App