छोरो रविले खुबै मिहिनत गरी बनाएको माटोको घर देखेर सुन्तली मक्ख परिन्। मुहारमा खुसीका फोहरा बर्साउँदै लोग्नेतिर हेरेर भनिन्, ‘हेरिस्यो त हजुर, हाम्रो छोराले कति राम्रो घर बनायो। दुरुस्तै समुद्रको बिचमा ठडाइएको अलौकिक महल जस्तै!’
पत्नीको कुराप्रति सुनिलले कुनै प्रतिक्रिया दिएनन्। तर, भित्रभित्रै गम्भीर सोचमा डुबे। कागजमा कोरिएको मायावी घर जस्तै माटाको सुन्दर घरको कलाकृति देखेर टोलाए। उनले आफूले बनाएको प्रयोगयोग्य घर र छोराले बनाएको कलात्मक खेलौना घरको तुलना गरे।
मनमनै भने, ‘छोराले मिहिनेत गरी सुन्दर कला सिर्जना गर्यो। राम्रो कला देखायो। पानी पर्यो भने माटाको घर न हो, पग्लेर जान्छ। भलै बस्न नमिलोस् खुसी त दिएको छ। तर, मैले बनाएको घरमा बस्न त मिलेको छ। तर, खुसी थोरै र तनाव धेरै दिएर डस्न खोजेको छ।’
उनी केही क्षण टोलाए। मनमा आँधी चल्यो, ‘घर बनाएँ। श्रीसम्पत्ति प्रशस्त जोडें। महँगा गाडी र विलासिताका सामान जोडें। तर, यो उल्फाको धन हो। अहिले सरकारले खोजेको सम्पत्तीको स्रोत देखाउन सकिएन भने के गर्ने होला! खोजी /छानवीन भइहाल्यो भने छोराले बनाएको माटाको घरझैं ढल्न के बेर?’ उनी हतास देखिए। निधारमा चिटचिट पसीना आयो। मनमा कालो बादल मडारियो।
‘के भयो हजुरलाई? एक्कासि सुन्तलीले झड्काएपछि झसंग भए।
सुन्तलीले आफ्नो राय दिइन्,‘हैन छोराले बनाएको घर मन परेन कि कसो हो? हाम्रो करोडौं खर्चिएर बनाएको घर जस्तो वर्षौ टिक्ने, सुन्दर र बलियो त कहाँ हुन्छ र माटोको घर पनि!’
सुनिलले उदास हुँदै भने, ‘खाेई के भनूँ, हाम्रो यति बलियो घर पनि न कुनै दिन माटाको घरजस्तै गर्ल्यामगुर्लुम ढल्ने हो कि?’
प्रकाशित: १४ पुस २०८० ०७:२८ शनिबार