लसएन्जल्स- हलिउड फिल्म ‘जेम्स बन्ड’का निर्माताले फिल्ममा काला वर्णका अभिनेता या अभिनेत्रीका लागि अडिसन ‘कल’ गरेको छ । हालसम्मका बन्डका संस्करणमा गोरा अनुहारको बाहुल्य रहिरहँदा फिल्म निर्माण कम्पनीले पहिलोपटक काला अभिनेता या अभिनेत्रीलाई फिल्ममा अवसर दिन लागेको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार निर्माता बारबरा ब्रोकोलीले फिल्मको परम्परालाई तोड्न कुनै संकोच नरहेको बताएकी छन् । ‘मलाई यो परम्परा तोड्न कुनै संकोच छैन । मलाई सफा या मध्यम आयु वर्गको पुरुषमा जेम्स बोन्ड नै हुनुपर्छ भन्ने अनिवार्य आवश्यकता पनि छैन ’ उनले भनेकी छन् ।
उनले आफ्नो फिल्मले समयलाई प्रतिबिम्बित गर्ने भएकाले पनि त्यसका लागि केही बद्लाव ल्याउन आफूलाई कुनै हिचकिचावट नरहेको बताएकी हुन् । ‘अहिले डेनियल क्रेग र म निकै खुशी छौं । तर भविष्यमा के हुन्छ भन्ने कसैलाई थाहा छैन ’उनले भनेकी छन् ।
फिल्मका प्रमुख कलाकार ४९ वर्षे क्रेगले जेम्स बोन्डको सिरिजलाई अन्त्य गर्न चाहिरहेका बेला निर्माण कम्पनीले काला वर्णका कलाकार खोजेको हो । फिल्मको मुख्य अभिनेताका लागि भने डेनियल क्रेग फाइनल भइसकेका छन् । निर्माण टिमले अन्य कलाकारको भने खोजी जारी राखेको छ । स्रोतका अनुसार यही वर्षको मध्यबाट नयाँ संस्करणको सुटिङ सुरु हुँदैछ ।
प्रकाशित: १७ पुस २०७४ ०४:३० सोमबार