२५ आश्विन २०८१ शुक्रबार
image/svg+xml
कला

दोस्रो चरणको क्यानभास चित्र प्रदर्शनी माघमा

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा कला प्रदर्शनी–२०८०’ अन्तर्गत दोस्रो चरणको प्रदर्शनी कार्यक्रम गर्ने भएको छ।

नेपालसहित विभिन्न १४ देशका ख्याति प्राप्त ४३ चित्रकारले क्यानभासमा उतारेका चित्रहरूलाई नगरपालिकाले काठमाडौंस्थित नेपाल आर्ट काउन्सिल बबरमहलको सभाहलमा आगामी माघ १० गतेदेखि १५ दिनसम्म प्रदर्शनी गर्ने भएको हो।

गत असोज १७ गतेदेखि २१ गतेसम्म दिक्तेल बजारमा पहिलो चरण अन्तर्गत आयोजना गरिएको कार्यक्रममा नगरपालिको १५ वटै वडा तथा जिल्लाका अन्य नौ स्थानीय तहका धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरुलाई चित्रकारले लाइभ क्यान्भासमा उतारेका चित्रलाई प्रदर्शनीमा राखिने आयोजकले जनाएको छ।

नेपाल, अस्ट्रेलिया, बङ्गलादेश, भूटान, चीन, इजिप्ट, भारत, जापान, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामबाट आएका चित्रकारले दिक्तेल बजारको विभिन्न चोक तथा किरात ऐतिहासिकस्थल मझुवागढी, शुभम् फाउन्डेसन र जालपामा पुगेर एक सय नौ तथा अन्य विभिन्न ठाउँमा बसेर ४१ क्यान्भास चित्र उतारेका नगरप्रमुख तीर्थराज भट्टराईले बताए।

जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रहरूको प्रवर्द्धन गर्ने उद्देश्यले उतारिएका क्यानभास चित्र प्रदर्शनी कार्यक्रमको प्रमुख अतिथ्यका लागि राष्ट्रपति पौडेललाई औपचारिक रूपमा पत्र समेत प्रदान गरिएको उनले बताए।

“हामीले गरेको निम्तोलाई राष्ट्रपतिज्यूले सहर्ष स्वीकार गर्नुभएको छ। राष्ट्रपतिज्यूकै सल्लाह अनुसार आगामी माघ १० गतेदेखि प्रदर्शनी गर्ने योजनामा छौं। राष्ट्रपतिज्यूको अनूकुलमा कार्यक्रम तय हुन्छ”, नगरप्रमुख भट्टराईले भने, “हामीले अन्तर्राष्ट्रिय स्तरको चित्रकला कार्यशाला भव्यतापूर्वक सम्पन्न गरेकामा राष्ट्रपतिज्यूले नगरपालिकालाई बधाई समेत दिनुभयो। कला, साहित्य र संगीतले विश्व जगतलाई जोड्ने भएकाले खोटाङमा यस क्षेत्रको विकासका लागि राष्ट्रपतिले आफ्नोतर्फबाट सहयोग गर्ने वचन समेत दिनुभएको छ।”

राष्ट्रपति पौडेलसँग नगरप्रमुख भट्टराईको नेतृत्वमा शीतल निवास गएका प्राज्ञ धनबहादुर याख्खा र विजय थापा, वरिष्ठ चित्रकार रतनकुमार राई, किरण सिजु, विनिता इजमले भेटवार्ता गरेका थिए।

क्यानभास चित्र प्रदर्शनी कार्यक्रममा खोटाङका किरात राई, तामाङ, नेवार र क्षेत्री/ब्राह्मणको सांस्कृतिक झाँकी, पुस्तक विमोचन, चित्रकारलाई सम्मान लगायत कार्यक्रम गरिने नगरपालिकाले जनाएको छ।

जिल्लाको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको १८ लाख रूपैयाँ खर्चमा चित्रकला कार्यशाला तथा कला प्रदर्शनी कार्यक्रम आयोजना गरिएको नगर उपप्रमुख विशन राईले जानकारी दिए।

“स्वदेश तथा विदेशका ख्यातिप्राप्त चित्रकारले उतारेका चित्रहरू हाम्रो नगरपालिकाको सम्पत्ति हो। यसलाई नगरपालिकाको लगानीमा सङ्ग्रहालय बनाएर राख्ने योजना बनाएका छौ”, उनले भने, “चित्रकारले प्रत्यक्ष रूपमा कोरेका चित्रहरू नगरपालिकाको आम्दानीको आन्तरिक स्रोत हो। तत्काल यसकाे फाइदा नदेखिए पनि हामीले इतिहास निर्माण गरेका छौं।”

जिल्लामै पहिलोपटक आयोजना गरिएको चित्रकला कार्यशाला कार्यक्रमको हजारौंले अवलोकन गरेका उपप्रमुख राईले बताए। कार्यक्रम अवलोकन गर्न आएका अधिकांश सहभागीले नगरपालिकाको यो कार्यक्रम प्रभावकारी भएको प्रतिक्रिया दिएका उनको भनाइ थियो।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट फोटो स्टुडियो काठमाडौंको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रम अवधिभरको खाना, खाजा तथा वास लगायतको खर्च शुभम् फाउन्डेसनले निःशुल्क उपलब्ध गराएको छ।

फाउन्डेसनमा अध्ययन गर्ने विद्यार्थीले विदेशी पाहुनाका लागि समेत उपयुक्त हुने ‘होमस्टे’ घरबाससहितको ‘गेस्ट हाउस’ पाहुना घरसमेत सञ्चालन गरेका छन्। विदेशी पाहुनाका लागि दिक्तेलमा उपयुक्त होटल नभइरहेकाले विद्यार्थीले गेस्ट हाउस सञ्चालन गरेको बताएका छन्।

प्रकाशित: १७ कार्तिक २०८० ०७:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App