१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

गर्भमाथि गम्भीर कथानक

पुस्तक

पछिल्लो समय मैले एउटा सुन्दर पुस्तक पढें। पढें मात्र होइन, मैले यसलाई थोरबहुत सम्पादनसमेत गरें। मेरो हातमा राख्दै यसका प्रकाशक शब्द मिडिया प्रालिले ससर्ती पढिदिनुपर्‍यो भनेर मेरो जिम्मा दिएको थियो। म पहिलो पृष्ठबाट नै यो पुस्तकप्रति आकर्षित भएँ।

सुरुमा त डा. बालकृष्ण साहद्वारा लिखित ‘गर्भको गर्व’ शीर्षक देख्दा कुनै क्लिष्ट महिला स्वास्थ्यमाथि लेखिएको कृति हो भन्ने भान भयो। त्यसै पनि स्त्रीमाथि हामीले केही पूर्वाग्रह पालिरहेका हुन्छौं। गर्भ भन्नेबित्तिकै पुरुषले जान्नुपर्ने विषय हो भन्ने ठान्दैनौं। तर यो विषय कति क्लिष्ट हो, स्त्री–पुरुष दुवैले यस विषयलाई बुझ्न कति जरुरी छ भन्ने कुरा यो कृति उचालेपछि मलाई बोध भयो।

गर्भजस्तो कठिन विषयमा साहले ज्यादै सुन्दर तरिकाले कथा बुन्छन्। वास्तविक जीवनमा आधारित ती कथाले विषयको गाम्भीर्य बुझाउँछन्। पाठकलाई विषयको गम्भीरतामा छिराउँदै उनले यस्ता गम्भीर समस्याको समाधान के हुन सक्छ भन्दै क्लिष्ट डाक्टरी गुह्यलाई सरल भाषामा पस्कन्छन्।

चिकित्सा विधामा चासो राख्ने सबैलाई थाहा छ, नेपालमा एक लाख सन्तान जन्मँदा एक सय ५१ गर्भवतीको मृत्यु हुन्छ। कुनै रोग नलागी, केवल सन्तान जन्माउँदा यति धेरै महिलाको मृत्यु हुनु दुःखद हो। स्पेन, स्विडेन, इटाली, नर्वे, पोल्यान्डजस्ता मुलुकको तुलनामा यो बढी हो। हुन त ती मुलुक तुलनात्मक रूपमा नेपालभन्दा निकै विकसित हुन्। त्यहाँ मातृमृत्यु हुनु नै आश्चर्यको विषय हुन्छ। तर पनि इटाली, नर्वे, पोल्यान्डमा एक लाख महिलाले सन्तान जन्माउँदा जम्मा दुई जनाको निधन हुन्छ। स्पेन र स्विडेनमा भने चार गर्भवती महिलाको निधन हुने गरेको छ।

गर्भजस्तो कठिन विषयमा साहले ज्यादै सुन्दर तरिकाले कथा बुन्छन्। वास्तविक जीवनमा आधारित ती कथाले विषयको गाम्भीर्य बुझाउँछन्। पाठकलाई विषयको गम्भीरतामा छिराउँदै उनले यस्ता गम्भीर समस्याको समाधान के हुन सक्छ भन्दै क्लिष्ट डाक्टरी गुह्यलाई सरल भाषामा पस्कन्छन्।

संसारभर जन्मदर घटिरहेका बेला सन्तान जन्माउने क्रममा मृत्यु हुनुलाई गम्भीरतापूर्वक लिइएको छ। पछिल्लो एक अध्ययनअनुसार बेलायती अस्पतालहरूमा मातृस्वास्थ्यमा देखा परेको कमजोरीका कारण पछिल्लो समय गर्भेत्तर मृत्यु १५ प्रतिशतले बढेको छ।

 यो समाचार मैले शुक्रबार (हिजो) पढें कि सन् २०१९ र २०२१ को अवधिमा बेलायतमा गर्भधारणका बिचमा २४१ जना महिलाको मृत्यु भएको र सन्तान जन्माइसकेको एक वर्षे अवधिमा थप ३३१ जना महिलाले आत्महत्या गरेका रहेछन्।

यी मृत्युमध्ये आधालाई रोक्न सकिने भए पनि बेलायतमा पछिल्लो समयमा देखिएको स्वास्थ्य क्षेत्रको गन्जागोलका कारण त्यसले मातृस्वास्थ्यमा ठुलो असर पु¥याएको भन्दै अक्सफोर्ड विश्वविद्यालयले चिन्ता व्यक्त गरेको छ किनभने यो अध्ययन उसैले गरेको थियो।

सन् २००९ यता यसरी मातृ मृत्युदर १५ प्रतिशतले बढेकोमा विश्वविद्यालयको गम्भीर चिन्ता थियो। यो अध्ययनका लागि अक्सफोर्ड विश्वविद्यालयले मरियन नाइटलाई नियुक्त गरेको थियो। मातृ तथा बाल जनसङ्ख्या स्वास्थ्यकी प्राध्यापक नाइटको भनाइमा यस्ता मृत्युलाई ५२ प्रतिशतले घटाउन सकिने भए पनि पछिल्लो समय बेलायतले यसमा ध्यान दिन नसकेको उनको टिप्पणी थियो।

संसारकै सबैभन्दा धनी मुलुकमा यस्तो मातृ स्वास्थ्यको अवस्था हुनु दुःखको कुरा हो। उनीहरूको तुलनामा हाम्रो देशमा कम्तीमा यत्तिको सफलता–कथा फेला पर्नु गर्वकै विषय हो तर यसमा अझै थप गर्न सकिन्छ भन्ने साहको जोड छ। यही जोडले उनले यो पुस्तक लेखेको बुझ्न सकिन्छ।

यो पुस्तक जम्मा १२० पृष्ठको छ। एक झमटमा यो पढिसिध्याइन्छ। सङ्क्षिप्तमा कथा भनेर पाठकलाई गम्भीर बनाउने क्षमता यसमा छ। त्यही गम्भीरताले रन्थनिएर मैले यो टिप्पणी लेखेको हुँ।

महाभारतमा एउटा प्रसङ्ग आउँछ। प्रसङ्गले भन्छः अर्जुन र सुभद्राको बिहे भइसकेको छ। उनीहरूको सन्तान गर्भमा आइसकेको छ। एक रात सुभद्रालाई अर्जुनले युद्धकलाका विषयमा बताउँदै थिए। रोचक मानेर सुभद्राले चक्रव्यूहका बारेमा सुन्दै थिइन्।

युद्धमा चक्रव्यूहमा कसरी छिर्ने प्रसङ्ग सुनाउँदा सुनाउँदै सुभद्रा निदाएको पाएपछि अर्जुनले त्यो कुरा आधामै रोक्छन्। त्यही आधा रोकिँदा गर्भमा रहेका अभिमन्युले चक्रव्यूहका बारेमा आधा मात्र थाहा पाउँछन् र त्यही आधाअधुरो ज्ञानका कारण उनको नराम्रो अन्त्य हुन्छ।

यो प्रसङ्गले गर्भे सन्तानलाई बाहिरी वातावरणको प्रभाव कति सशक्त हुन्छ भन्ने बुझाउन खोजेको मैले बुझें। कुनै व्यक्ति जन्मनुअघि नै उसको वातावरणले सिकाइरहेको हुन्छ। यस्तोमा गर्भिणी स्त्रीलाई गम्भीरतापूर्वक लिइनुपर्छ। उसको स्वास्थ्य ख्याल गरिनुपर्छ।

यस पुस्तकमा कथाकारले एउटी किशोरीको महिनाबारी सुरु हुँदादेखिको कथा बुनेका छन्। विनिता स्कुलमा छँदा उनलाई महिनाबारी सुरु हुन्छ। उनका बुबा मलेसिया गएका थिए। बुबा आएकै दिन उनलाई महिनाबारी भयो। उनी बुबासँग लुटपुटिन पाइनन्। यो पीडासँगै साहले महिनाबारी के हो भनी क्लिष्ट प्राविधिक कुरालाई सरल तरिकाले बुझाउँछन्।

अर्को कथा अमृता र कमलका बारेमा छ। कुनै युवती जब कलेज पुग्छे, उसमा पुरुषप्रति आकर्षण स्वाभाविक रूपमा हुन्छ। सोही आकर्षणका कारण अमृता र कमल नजिकिन्छन्। यति नजिकिन्छन् कि अमृता गर्भिणी हुन पुग्छिन्। भर्खर कलेज पढिरहेका युवाहरू यसबाट आत्तिन्छन् र गर्भपातका लागि दौडधुप गर्छन्। कमलले यस्तो बेलामा गर्नुपर्ने सहयोग नगरेको महसुस गर्दै पछि दुईबिच मिलन हुन्छ।

यस कथाबाट कथाकार साहले बिहे नगरी गर्भ रहे वा अनिच्छित गर्भ रहे सुरक्षित गर्भपतनको बाटो देखाएका छन्। त्यो कसरी हुन्छ, कसरी गर्ने, कति समयमा गर्ने तर के के सावधानी अपनाउनेजस्ता प्राविधिक कुरालाई उदात्तभावले अभिव्यक्त गरेका छन्। यस्ता गर्भपातमा हुने गडबडीका कानुनी अप्ठेरा र कैद अनि जरिबाना कुराहरू पनि विस्तारपूर्वक लेखकले लेखेका छन्।

मोटो शरीरकी प्रीतिको कथा अर्को एउटा रोचक कहानी छ, यस पुस्तकमा। मोटोपनको प्रायः समस्या गर्भ रहन नसक्नु हो। त्यसमाथि जुम्ल्याहा सन्तान अर्को क्लिष्ट ‘केस’ हो।

 ‘सिस्टिक ह्याग्रोमा’ समस्या भएको गर्भमाथि साहले एउटा थ्रिलर सिनेमा जत्तिकै कथा लेखेका छन्। निःसन्तानपनको समस्यामाथि साहले चित्तबुझ्दो व्याख्या गरेका छन्। कम्तीमा निःसन्तानपन बेहोरिरहेका महिलाले यत्ति मात्र पढे भने पनि उनीहरू धेरै कुरामा ढुक्क हुन सक्छन्।

चौथो कथा ‘रगतको जात’ शीर्षकमा छ। यो कथामा एउटा मगर दम्पत्तिले चार सन्तानपछि पनि अर्को सन्तान जन्माउन खोज्दा सावित्रीले बेहोर्नुपरेको भुक्तमान सजीव ढंगमा व्यक्त गरेका छन्।

खासगरी जब सावित्रीलाई रगत दिनुपर्ने हुन्छ, पहाडकी सावित्री मगरलाई तराईका आनन्द मण्डलले फरक जात, धर्म र समुदाय भए पनि सहयोग गरेको प्रसङ्गले पाठकलाई चसक्क घोच्छ। सावित्रीको गम्भीर किसिमको विशेष गर्भे अवस्था ‘इक्टोपिक प्रिग्नेन्सी’लाई यही चसक्क घोच्ने कथाबाट अघि बढाउँदै पाठकलाई सजग बनाउने उनको शैलीको म प्रशंसक बन्न पुगें।

पाँचौं कथा जेस्टेसनल डायबेटिज भएका महिलाको गर्भे क्लिष्टतामा मलाई रोचक लागेको प्रसङ्ग हो। सन् १८२३ मा डा. एचजी बेनेबिचबाट सुरु भएको अनुसन्धान सन् १९७९ सम्म आइपुग्दासम्म यो रोगले पाएको नाउँ मात्र होइन, विभिन्न अध्ययन अनुसन्धानको निचोड यस कथामा प्रस्तुत गरिएको छ।

छैटौं कथा गर्भ अवस्थामा ध्यान नदिने मानवीय त्रुटिका विषयमा छ। यस्तो त्रुटिका कारण अञ्जलीको गर्भ कसरी क्लिष्ट बन्न पुग्छ र यो धर्तीमा जन्मन ठिक्क परेको एउटा शिशु कसरी अकालमा मृत्युवरण गर्न पुग्छ भन्ने कथा प्रस्तुत गरिएको छ। जन्मान्तरजस्ता कुरामा जोइपोईबिच सल्लाह हुन नसक्दा वा त्यस्ता मामिलामा गम्भीर नहुँदा झन्डै आमाको समेत मृत्यु हुनसक्ने यथार्थलाई साहले रोचकताका साथ पस्किएका छन्।

सातौं कथा ‘बाध्यता’ले समाज र परिवारले कसरी एउटी स्त्रीको ज्यान लिन्छन् भन्ने प्रसङ्ग कहन्छ। यो कथाले मनितामार्फत प्रजनन अधिकारको पैरवी मात्र गर्दैन, विस्तारपूर्वक गर्भको योजना, गर्भको परीक्षण, गर्भावस्थामा औषधी, सुत्केरी योजना, गर्भावस्थाको खान्की, गर्भावस्थामा के गर्ने र के नगर्नेजस्ता साना साना कुरालाई पनि मिहिनतापूर्वक र मिहिनेतपूर्वक बताइएको छ।

यो पुस्तक कोभिड १९ को विश्वव्याधिका बेला लेखिएका कारण त्यस अवधिका कुरा पनि आएको छ। आठौं कथा ‘कोरोनाकालको फरक कथा’ले शकुन्तलाको कसरी बेफ्वाँकमा ज्यान गयो भनी विस्तारपूर्वक लेखिएको छ। मातृ–मृत्युको प्रसङ्गलाई यहाँ लेखकले विस्तारपूर्वक छलफल गरेका छन्।

सङ्ग्रहको अन्तिम कथा ‘युद्ध जितेको रात’ पढ्दा पाठकहरूको कतिपय ठाउँमा सासै रोकिएलाझैं हुन्छ। यसमा एक जना वृद्ध महिला आङ खस्ने समस्याका कारण आइपरेको आपत, खतरा मोलेर साह र उनको टोलीले गरेको शल्यचिकित्सा र असफल हुँदाका जोखिममाथि विस्तारपूर्वक चर्चा गर्दै कसरी इमान्दारीपूर्वक काम गर्दागर्दै पनि बिरामीका आफन्तबाट चिकित्सक हिंसामा पर्दा रहेछन् भन्ने तस्बिर देखाएका छन्।

यो पुस्तक जानकारीमूलक त छँदै छ, मनोरञ्जक पनि उत्तिकै छ। यहाँका पात्रहरूसँगै भावनाको पिङमा पाठकहरू मच्चिइरहन्छन्। यो पुस्तकले नेपाली ‘चिकित्सा–साहित्य’को अभाव पूरा गरेको छ। नेपालमा पछिल्लो समय चिकित्सकहरूले धमाधम संस्मरण, आत्मकथा, कथा तथा केस स्टडीहरू प्रकाशित गरिरहेका छन्।

लक्ष्मण अधिकारीको ‘मर्फिन’ एउटा सुन्दर कथासङ्ग्रह थियो। त्यस्तै डा. अजय रिसालको ‘गीतामा मनका कुरा’, डा. विश्वबन्धु शर्माको ‘मान्छेको मन’ र ‘मानसिक स्वास्थ्यका विविध आयाम’ जस्ता पुस्तकले आख्यान र गैरआख्यानले चिकित्सकीय ज्ञानमा चार चाँद लगाएका छन्। समग्रमा यस्ता कृतिहरूको शृङ्खलाले नेपाली भाषासाहित्यमा पठनीय पुस्तकको अभाव पूरा गरेका छन्।

प्रकाशित: २७ आश्विन २०८० ०३:२० शनिबार

अक्षर