१२ मंसिर २०८१ बुधबार
image/svg+xml
कला

टोलाएका आँखा, लोलाएका आँखा

निबन्ध

टोलाएका आँखा, लोलाएका आँखा। हेर्न नसकेका आँखा। देख्न नचाहेका आँखा। तथापि हेर्नै पर्ने बाध्यता। देख्नै पर्ने विवशता। सुन्न नसके पनि सुन्नै पर्ने रहेछ।

कति अप्रिय खबर, कस्तो अवसादको खबर, मुटु भक्कानो हुने अवसानको खबर। बिहानै शुभ समाचार आउनुपर्ने थियो। तर अनायसै अशुभ समाचारले अस्तव्यस्त पारिदिँदा मनस्थिति कति भताभुङ्ग, कति लथालिङ्ग! अशुभ समाचार भनेको अनायासै आउने रहेछ। हेर्न मन नहुने र पनि हेर्नैपर्ने रहेछ। देख्न नचाहने र पनि देख्नैपर्ने रहेछ। जाने मन नभएर पनि जानैपर्ने रहेछ। खाने मन भएर पनि खान नहुने रहेछ। बोल्ने मन भएर पनि बोल्न नसकिने रहेछ। भेट्नुपर्नेलाई नभेटिने रहेछ। बोल्नुपर्नेसँग अब बोल्न नसकिने रहेछ।

कुनै बेला चाहिँ हेर्न चाहेर पनि हेर्न पाइँदैन। देख्न खोजेर पनि देखिँदैन। यहाँ चाहेर पनि, नचाहेर पनि हुँदैन। परिस्थितिले बन्धनमा पार्ने रहेछ। प्रत्येक मानिस परिस्थितिको दास बन्ने रहेछ।

केही बोल्न नसकेर, ओठ खोल्न नसकेर टुलुटुलु हेर्दै मात्र आँखा। यी शब्द–भावहरूमा पटक पटक मृत्यु संवेदनाका भावुक क्षण गुजार्न विवश भएको मन। आफ्ना प्रियजनहरूको मृत्युुमा शोकाकुल हुनुसँगै शोकमग्न मौनता। व्याप्त सन्नाटामा चुपचाप सबै, चकमन्न वातावरण। कति उराठिलो दिन, कति मधौरो जस्तो समय। कति विपतको घडी! मौसम पनि रोइरहेको जस्तो लाग्ने रहेछ।

समवेदनाका मधुर गुञ्जन। शोकसुर्ताले आहत तनमन। नरमाइलो, विरमाइलो। बिछोडको चोटैचोट, पीडै पीडा। कति चित्त बुझाउनु, कति हरेस खानु, कति सम्झनु, कति बिर्सनु। छोडी जाने गए पनि बाँच्नेहरूले कतिसम्म अभावको अनुभव भोगिरहनु! कतिन्जेल नहुनुको आभास र अत्यासले चिन्तित भइरहनु। कति दिन, हप्ता र महिनासम्म छोडी जानेको मायाले घायल भइरहनु!

सधैं आगोबाट जोगाएर राखेको प्राण। रोगव्याधीबाट बचाएर राखेको प्यारो जीवन। यस्तो जीवन छिनभरमै आगोमा जलेर कुइरीमण्डल धुवाँ बनेर उडेको। खरानी बनेर माटो र पानीमा विलीन भएको। हेर्दाहेर्दै सबैको प्यारो जीवन खरानी बनेको। त्यसपछि अस्तित्व केही बच्दोरहेनछ। त्यसपछि बाँकी केही रहने रहेनछ शिवाय सम्झनाहरू। शिवाय यादहरू...!

सदाका लागि छुटेको बात, छुटेको साथ, छुटेको गाथ। आखिर जीवन भन्नु के रहेछ र? माटो र पानीमा बिलाउने। एक अंश आकाशतिर हावामा, अर्को अंश जमिनमा विलीन हुने। कठै! प्राण प्यारो जीवन!

श्मशान घाटबाट भर्खरै फर्किएको जस्तो लाग्छ। दिन बित्न के बेर ! मरेको भोलिपल्ट दुई दिन भनेको हो रहेछ। कसले कसको आँसु पुछ्नु। कसले कसलाई सम्हाल्नु। सबै भक्कानिएका, तड्पिएका। रुन र बोल्न नसकेर आँखा र मन भड्किरहेको हृदय चिनेजानेका सबैको। शोक र सुर्तामा भेटिँदा ढोगभेटको शिष्टाचार हुँदैन। हाँसोठट्टा र मित्रमिजासको वार्ता पनि बिरानो बन्ने रहेछ। सबै सामुहिक समवेदनामा संलग्न। सबैलाई शोकको चोट। सबैको हृदयमा माया र करुणाको भावना। केवल समवेदना र श्रद्धाञ्जलीको कामना!

मुख खुल्न, वाक्य बोल्न मुस्किल हुँदोरहेछ। बोल्न नसकिएका बोलीहरूले सताउने रहेछ। ओठमुख सुकेर हाँस्न नसकेका क्षणहरूले हैरान पार्ने रहेछ। कति नमिठो पीडा। भेटेर पनि खुल्न नसकेका ओठहरूले नमिठो पीडा थपिदिँदोरहेछ।

हजारौं सपना, लाखौं चाहना र करोडौं खुसीका ढुकढुकीहरू व्यर्थ टोलाएर क्षणिक समय पनि कटाउन वर्षाै जस्तो। कति उदास, कति निरास, कति शून्यताका आँसुहरू बेहिसाब आँखामा टिल्पिलाइरहेका तर आँखाबाट झर्न नसकिरहे जस्तो। आँखैमा सुकेर आँसुले पनि समवेदना प्रकट गरिदिए जस्तो।

अनुहारमा चमक र चहक छैन। निन्याउरो मुख–मुहार सबैको। कति चोट, कति पीडा र कति असह्य दुःखका दिनहरू। यस्तो घटना सत्य नभई दिए हुन्थ्यो जस्तो लाग्छ। यस्तो विपत्ति कसैको  जीवनमा पनि नआई दिए हुन्थ्यो जस्तो लाग्छ। अनायसै मृत्युवरण गर्न कसैले पनि नपरे हुन्थ्यो जस्तो लाग्छ। तर दैवी विपत्ति कसैले रोक्न, कसैले टार्न सक्दैन रहेछ। जे हुनु छ त्यो भइहाल्दोरहेछ। नहुनु त नहुनु नै छँदै छ।

सम्झाएर, बुझाएर र बिर्सिन खोजेर कहाँ सकिन्छ र! झन् ताजा सम्झना, झन् आलो याद। यस्तो सम्झना जति बिर्सिन खोज्दा पनि झन् झल्झली आइरहँदोरहेछ। सपनामा पनि तर्सिने। विपनामा पनि झस्किने। अनि मन त्यसै–त्यसै भत्किने। भत्किएको मनमन्दिरमा पुनर्निर्माण र पूजाआजाको शुभ दिन आउन पनि समय लाग्नेरहेछ।

रुँदारुँदा टट्टाएका आँखा। आँसु झर्न नसकेर भक्कानिएको छाती। भतभती पोलेर हैरान। भोक र प्यासले काकाकुल आँत तर खान, पिउन अमन। नखाएर पनि अघाउँजी पेट। कति बेस्वादको जीवनपथ।

कति असजिलो परिस्थिति। खुसी टाढिएर दुःख भित्रिएपछि यस्तो हुँदोरहेछ।  शोकले डुबेको परिवार र आफन्तजन।

अनायासै बिछोडको घाउले तड्पिएको मन। पैसाले, डाक्टर, वैद्य, ओखतीमुलो केहीले बचाउन नसकिएको अफसोस। यही अफसोसले शोकमग्न घरपरिवार, आफन्त, नातागोता, छिमेकी सबै! जलन, तड्पन, एक्लोपन र आँसुको सागरमा वातावरण पनि शोकाकुल।

यस्तोमा कुनै रिसराग, वैमनस्य रहेन बाँकी। बरू सौहार्द्ध सद्भाव र घनिष्ठ मित्रताको हातेमालो। यस्तोमा कहिल्यै नभेटिएकाहरू पनि भेटिँदारहेछन्। नबोल्नेहरू, नदेखेजस्तो गरी आँखा तर्ने, तर्किने निष्ठुरीहरू पनि सन्निकट हुँदारहेछन्।

भक्कानिँदै  भवितव्यप्रति कसैको केही नलाग्दोरहेछ भन्नुको विकल्प रहेन। यस्तै हो जीवन भनी चित्त बुझाउनुको पनि कुनै विकल्प बाँकी रहेन।

‘हामी सबै जाने बाटो त्यही हो। ढिलोछिटोको कुरा मात्र हो।’ भन्दै गाँठो परेको मुटु, आँखामा आउन नसकेको आँसु। ओंठ, मुख सुकेको पिरैपिरको पल।

गम्भीर सन्नाटा, मौन मुखौटा र मुस्कान शून्य परिस्थिति। सबै सबै भेटिँदा पनि कोही नभएजस्तो, केही नपुगेजस्तो। कस्तो खल्लो, कस्तो अभावको पनि अनिकाल! कति अँध्यारो अनुहार। एकजनाको अभावमा सबैजना कति शोकाकुल।

जहाँ हाँसो, खुसी र उन्मुक्त गफगाफ हुँदैन, त्यहाँ वितृष्णाको विरूप आलापविलाप फैलिँदोरहेछ। गलेका, मरेका, सुस्त, मधुर बल्न नसकिरहेको धिपधिप गरिरहेको तेल सिद्धिएको बत्तीजस्तो।

घाउ छैन, चोट लागेको पनि होइन। तर दुखाइ कति कष्टकर ओखती उपचारले पनि केही बिसेक नहुने। फलतः यस्तोमा एकअर्कामा मानवीय संवेदनाले भित्रैसम्म छुने। जीवनप्रति सबैलाई माया हुन्छ। जीवनको माया नहुने कोही हुँदैन। आफ्नो जीवनको यही मोह, प्रेम र मायाले जीवनको ख्याल गरिन्छ। स्याहार गरिन्छ। गहिरो प्यार गरिन्छ।

यति हुँदाहुँदै पनि हाम्रो समाजमा आत्मदाह गर्ने, आत्महत्या गर्ने, आत्मघाती आदि कति छन् कति! जीवनप्रति घात, आघात, अपराध सबै हो यस्तो दुष्कर्म। तर जीवनप्रति वितृष्णा वा वैराग्य भावभन्दा बढी प्रेम हुन्छ। बाँचिरहन नै चाहन्छन् सबै। दुःखकै दहमा डुबेर पनि चटक्कै मर्न को चाहन्छ र? चोटैचोट, खोटैखोट, ऋणैऋणको भारी बोकेर पनि मानिस सजिलै कहाँ मर्न चाहन्छ र!

बाँच्नकै लागि जीवनभर अनेक काम गर्नुपर्छ। सुख मात्र होइन, दुःखका दिन पनि कटाउनुपर्छ। वस्तुतः मरण भनेको आफू खुसीले नहुँदोरहेछ। नमरुन्जेल बाँच्न पाउनु नै वा बाँचिरहनु नै सबैभन्दा ठुलो कुरा हुने रहेछ।

जीवन केही हो, केही होइन पनि। तर जीवन हो र होइनभन्दा पृथक हो। संसारमा सर्वश्रेष्ठ प्राणीमा गनिने मानिसको जीवन अमूल्य छ। अजर र अमर छैन जीवन तथापि जीवनका कर्महरूले जीवनलाई मृत्युपश्चात् पनि सम्झना र सिर्जनाहरूमा बचाइ राख्छ। यो ध्रुवसत्य कुरा हो। जीवनलाई जीवनमय बनाइ राख्न र बचाइ राख्न मानिसले अनेक धर्मकर्म गर्छन्। संस्था स्थापना गरी पुरस्कार, सम्मानको व्यवस्था गर्छन्।

कतिपय मानिसलाई कसैले नसम्झे पनि सम्झनामा आइरहन्छन्। तिनका नाम मात्रैले पनि श्रद्धाले नमन गर्न मन लाग्छ। योगदानका गाथामा गम्भीर हुन पुगिन्छ।

वास्तवमा जीवनमा जो, जसले निःस्वार्थ सबैलाई भलाइ हुने काम गर्छ, कसैको मन दुखाउँदैन, रूवाउँदैन बरु हँसाइरहन्छ भने त्यस्ता मानिसलाई कसैले पनि बिर्सन सक्दैनन्। नसम्झे पनि झल्याँस्स सम्झनामा साक्षात् उपस्थित भइहाल्ने रहेछ।

यसरी अवसानपछि पनि सम्झना र श्रद्धामा आइरहनु भनेको सत्कर्म प्राप्तिको ठुलो उपलब्धि हो। यस्ता व्यक्तिहरू सदा पुजनीय हुन्छन्। वन्दनीय र ढोगनीय हुन्छन्। टोलाएका आँखा, लोलाएका आँखा भए तापनि यस्ता व्यक्तिलाई सतत् नमन गर्न मन अग्रर भइहाल्छ।

प्रकाशित: २७ आश्विन २०८० ०२:४८ शनिबार

अक्षर