१३ चैत्र २०८२ शुक्रबार
image/svg+xml
कला

काम नै नगरे दोष आउँदैन

पाँच मुक्तक

(१) मुक्तक

न त बाउको टोपीको चाउलो फेर्न सकियो,

न आमाको चौबन्दीमा बाउलो फेर्न सकियो।

पुरानै ढङ्गमा चलाइँदै छ जिन्दगी हजुर,

न जीवन यात्रामा कुनै पाउलो फेर्न सकियो।

(२) मुक्तक

कहाँ बिर्सिनु चप्पलको फित्ता टालेको,

गोबर-माटो मिलाई घरको भित्ता टालेको।

कम्ती मजा हुन्थ्यो र, लगाउन हाफपेन्ट,

टालो लगाई झण्डैझण्डै बित्ता टालेको।

(३) मुक्तक

थाहा छ, उसले मलाई देख्न सक्दैन,

तैपनि आफ्नै आँखा छेक्न सक्दैन।

लेख्न मन भएर के गर्नु कलमलाई,

नलेखी कसैले, आफै लेख्न सक्दैन।

(४) मुक्तक

बदलिन्छ समय एकनास हुँदैन,

दिंदैमा परीक्षा सब पास हुँदैन।

कसले पत्याउन सक्छ र यो?

मन्दिरमा भगवानको बास हुFदैन।

(५) मुक्तक

उत्प्रेरक नभए जोस् आउँदैन,

विरोधी नभई होस् आउँदैन।

काम गर्ने हो कर्तव्य सम्झेर,

काम नै नगरे दोष आउँदैन।

प्रकाशित: १६ आश्विन २०८० ०७:५४ मंगलबार

अक्षर