८ मंसिर २०८१ शनिबार
image/svg+xml
कला

एक प्रेमिल सम्बोधन

पुस्तक

काव्यको चोटिलो प्रस्तुति रहने मुक्तक लेख्न त्यति सजिलो छैन। छोटो आयाममा एक विस्तृत विषयलाई खँदिलो बनाएर पस्कनुपर्ने भएकाले यसको लेखनमा ध्यानपूर्वक साधना आवश्यक रहन्छ।

कमसल काव्यचेतनाबाट मुक्तक जन्मन सम्भव छैन। काव्यका लम्बाइ, चौडाइ र गहिराइ गरी तीनै आयाम बुझेको र त्यसमा निरन्तर चिन्तन गरिरहने स्रष्टाले मात्रै सुन्दर मुक्तक लेख्न सक्छन्। लघुतम आयामका कारण काव्यिक घनत्वका लागि आवश्यक खिपाइ नपुगेर भाव खुकुलो बन्ने र प्रभावकारिता खस्किने सम्भावना अधिक हुनु मुक्तक लेखनको मुख्य चुनौती हो। यद्यपि केही सर्जकहरू हुन्छन्, जसले यस चुनौतीलाई सजिलै सामना गर्न सक्छन्। पोखरेली मुक्तककार ईश्वरमणि अधिकारी सशक्त मुक्तककारका रूपमा प्रकट भएका छन् मुक्तकसङ्ग्रह ‘सम्बोधिका’मार्फत।  

पोखरालाई साहित्यिक वृत्तमा ‘मुक्तकको सहर’ भनेर पनि चिनिन्छ। तीसको दशकमा ‘टिकटमा मुक्तक’ कार्यक्रम आयोजना गरेर पोखराले मुक्तकलाई सिर्जना उत्सवका रूपमा मनाउन थालेको भेटिन्छ। त्यसैले पनि होला, पोखराको सुन्दरतामाथि मुक्तकीय सुन्दरता सुनमा सुगन्ध बनेर सजिएको छ साहित्यिक जगत्मा। ‘मुक्तकको सहर’ पोखरामा अर्को एउटा बलियो मुक्तकसङ्ग्रह पस्कने काम गरेका छन् अधिकारीले।

१११ मुक्तक समाविष्ट सङ्ग्रहमा कलाकार एवम् कवि रमेश श्रेष्ठको आवरण रहेको छ। पोखरेली युवा सांस्कृतिक परिवार प्रकाशक रहेको सङ्ग्रहमा प्रकाशकीय र लेखकको ‘आफ्नो भन्नु’ ले केही पृष्ठ ओगटेको छ।

विषयका हिसाबले सङ्ग्रहमा प्रेम, राजनीति, सामाजिक विसङ्गति, मानव मूल्य, समयको महात्म्य, मातृभक्ति, न्याय, सत्यवादिता आदि विषय प्रमुख रूपमा समेटिएका छन् सङ्ग्रहमा। प्रेमिल मुक्तकहरूको सङ्ख्याको वर्चस्व रहेको छ सङ्ग्रहमा। यसलाई सिङ्गो पुस्तकको नामले पनि पुष्टि गर्छ। प्रेमिल मुक्तकहरूमा पनि अधिकांश बिछोडपछिको प्रेमभाव बोकेका मुक्तक समेटिएका छन्।

पैसामुखी बन्दै गएको समाज, सहरीकरण र यसको दुष्प्रभाव, उजाडिँदै गएको गाउँको व्यथा, मानिसहरूमा बढ्दै गएको बदनामी, गाउँ, सहर र विदेशको त्रिसाँधमा बाँचिरहेको वर्तमान नेपालको प्रौढ पुस्ताको मनोद्वन्द्व र असन्तुष्ट जीवनको चित्र। ‘सम्बोधिका’मा यस्ता विषयसन्दर्भलाई सरल ढङ्गले मुक्तकका बान्कीमा उतारिएको छ।

उसो त प्रेममा बिछोड हुँदैन, भौतिक शरीरसँगै रहन नपाउनु भनेको बिछोड होइन भन्ने प्रेमको सिद्धान्तकै तहमा मुक्तककार विभिन्न मुक्तकमा स्पष्ट उभिएका छन्। भौतिक शरीर बिछोडिए पनि प्रेम गरिरहनबाट कसैले रोक्न नसक्नेमा मुक्तककारको दह्रो अडान छ। तसर्थ बिछोडले घाइते हुनुपर्ने कुनै कारण नरहेको भाव प्रकट गर्छन् र बिछोडभित्र पनि प्रेम बोकेर बाँच्न सिकाउँछन्। शृङ्गारबिना प्रेम पूर्ण हुन नसक्ने अभिव्यक्ति दिँदै अधिकारी मुक्तकमा शृङ्गारको महक छर्छन् र आफूले गरेको प्रेममा आफै दङ्ग पर्छन्। समग्रमा प्रेमका मूत–अमूर्त पक्षहरू यस सङ्ग्रहमा समेटिएका छन्।

अधिकारी सङ्ग्रहमा राजनीतिक कुसंस्कारको कुरूप चित्र कोर्छन् र आफ्नो असन्तुष्टि पोख्छन्। कतै सिधै त कतै सघन व्यङ्ग्यप्रहार गरेर उनी देशको बिग्रँदो राजनीतिक परिपाटीप्रतिको चिन्ता व्यक्त गर्छन्।

देशमा भएका हरेक परिवर्तनमा जनताले ज्यानको बाजी थापेर साथ दिएका तर नेताहरू भने जनतालाई सपना बाँड्दै निर्वाचन जितेपछि तिनै सपनाको हत्यारा बनेको वर्तमान राजनीतिको कटु यथार्थ प्रस्तुत गरिएको छ मुक्तकहरूमा। उनी नेताहरूकै अकर्मण्यताका कारण सहिदहरूको अवमूल्यन भएकोमा निकै दुःखी छन्। भन्छन्: 

जनताको राज आयो भन्नु मात्रै भयो

सामन्तको अन्तिम दिन गन्नु मात्रै भयो

हिजोजस्तै भयो आखिर अस्तिजस्तै भयो

अनाहकमा तिमी सहिद बन्नु मात्रै भयो।

साथै दस वर्षे जनयुद्ध औचित्यहीन भएको कुरा जनयुद्धकै नेतृत्वमा रहेकाले मूलधारको राजनीतिमा आएपछि देखाएको व्यवहारका माध्यमबाट पुष्टि गरिसकेको ठम्याइ छ अधिकारीको। राजनीतिमा मुखुन्डो प्रथा हाबी भएकाले मुखुन्डोधारी मान्छेकै हालीमुहाली रहेको हुँदा मान्छेको असली अनुहार चिन्न मुस्किल परेको वर्तमान समयको सजीव चित्रण गरिएको छ।

कंसहरू नै कृष्णको भेष धारण गरेर निर्दोषलाई फसाउने खेल खेल्दै नेपाली राजनीति र न्यायालयमा दण्डहीनता मौलाएकोप्रति असन्तुष्टि जनाइएको छ।

न्यायालयमा अतिराजनीतिकरणको हावा छिरेपछि जनताको आवाज बोलिदिने मान्छे कोही नभएको दुखेसो छ मुक्तकहरूमा। विद्वान् र प्राज्ञिकहरूले नै पदसँग विचार र विज्ञता साटेसँगै देशको दुर्गति सुरु भएको उनको ठहर छ। राजनीतिलाई मूलबाटोमा ल्याएर देशलाई समृद्ध बनाउन विद्वान्हरू सबैभन्दा पहिले सच्चिनुपर्नेमा जोड दिन्छन् अधिकारी।

झोला बोक्न रमाउँछौ र हेपिएँ भन्छौ

उसमै सर्वस्व थमाउँछौ र हेपिएँ भन्छौ

विचार बोक्ने मान्छे त शिरमा हुनुपर्ने

सबको पाउ समाउँछौ र हेपिएँ भन्छौ।

सत्तामा पुगेपछि तलको जग र भर्‍याङ दुवै बिर्सने नेपाली राजनीतिक नेतृत्वको प्रवृत्तिमाथि कडा व्यङ्ग्यवाण प्रहार गर्छन् उनी। आफैलाई मात्रै केन्द्रमा राखेर अहम्को भर्‍याङ चढ्नेहरू आफ्नै कारण असफल बन्ने गरेको दृष्टान्त अघि सार्छन् उनी। आफूलाई महान् मान्दै चित्त नबुझेपछि दल परिवर्तन गर्दै आफ्नै भविष्यमाथि प्रहार गर्ने वर्तमान नेपाली राजनीतिको कुरूप दृश्य प्रस्तुत गर्छन् र भन्छन्:

मै राम्रो, मै मात्र महान् मान्यौ

आफू चलाख, अरू सब मूर्ख ठान्यौ

यो कस्तो सम्मोहन हो बञ्चरोप्रति

बिँड फेर्‍यौ र आफ्नै खुट्टामा हान्यौ।

त्यसैगरी पैसामुखी बन्दै गएको समाज, सहरीकरण र यसको दुष्प्रभाव, उजाडिँदै गएको गाउँको व्यथा, मानिसहरूमा बढ्दै गएको बदनामी, गाउँ, सहर र विदेशको त्रिसाँधमा बाँचिरहेको वर्तमान नेपालको प्रौढ पुस्ताको मनोद्वन्द्व र असन्तुष्ट जीवनको चित्र। ‘सम्बोधिका’मा यस्ता विषयसन्दर्भलाई सरल ढङ्गले मुक्तकका बान्कीमा उतारिएको छ। मानिसमा बढ्दै गरेको ‘मुखमा रामराम बगलीमा छुरा’ प्रवृत्तिबाट बच्न चाहन्छन् मुक्तककार।

साहित्यिक क्षेत्रमा चर्चामुखी लेखन बढ्दै गएको र लेखनमा गुणस्तरभन्दा पनि सस्तो बैंसको विकृत रूपलाई महत्त्व  दिनेकै वाहवाही हुनु दुर्भाग्यपूर्ण भएकोमा असन्तुष्टि छ उनको। समाजमा बढ्दै गइरहेका आर्थिक, धार्मिक, मानवीय विकृतिका साथै मान्छेमा बढ्दै गएको मपाइँत्वप्रति लेखक कसिलो व्यङ्ग्यवाण प्रहार गर्छन्।

कछुवाजस्तै ढिलो हिँडेमा जित हासिल हुन्छ भनेर कथाका माध्यमबाट हामीले निष्क्रियतालाई जोड दिने गरी गलत कुरा पढाएकोमा असन्तोष व्यक्त गरेका छन् उनले। साथै समयभन्दा छिटो दौडिने किसिमको शिक्षा आजको आवश्यकता भएकोतर्फ सचेत रहन आग्रह गरेका छन्। स्वास्थ्य र शिक्षामा बढ्दो व्यापारीकरणले ज्यान र ज्ञान दुवैको सत्यानाश हुने अवस्था सिर्जना भएको डरलाग्दो चित्र उतारेका छन् मुक्तकका हरफहरूमा।

लोकतन्त्र हुँदै गणतन्त्रमा देश आइपुग्दा चाकरीबाज झनै बढेकोमा उनको आक्रोश छ। राज्यले दिने मानपदवी योगदानकेन्द्रित नभई चाकरीपोसाहा भएकोमा राज्यप्रति नै आगो ओकल्छन् उनी।

समयको सच्चा पुजारीका रूपमा देखिएका मुक्तककार अधिकारी समय ईश्वरभन्दा पनि शक्तिशाली भएको निष्कर्ष प्रस्तुत गर्छन्। समयसँग चुनौती मोल्न नसकिने आत्मबोध उल्लेख गर्दै उनी समयलाई पछ्याइरहन छोड्नचाहिँ नहुने तर्क अगि सार्छन्  र समयअनुसार चल्न आम पाठकलाई सल्लाहसमेत दिन्छन्।

जीवनलाई यात्राका रूपमा लिँदै यात्रामा रम्नुपर्ने धारणा छ उनको। मनलाई वशमा राख्दै हिमालझैं मुस्कान छर्नु नै जीवनको सार्थकता हो भन्नेतर्फ उनको जोड छ। सरल बनेर बाँच्नु निकै जटिल कार्य भए तापनि सरलता नै जीवनको मार्गदर्शक सिद्धान्त हुनुपर्ने बोध प्रकट भएको छ मुक्तकहरूमा। जिन्दगी बन्दाजस्तै छ, जति पत्र छोडाउँदै गयो उति रित्तिँदै जान्छ भन्ने शून्यवादी जीवनदृष्टि अभिव्यक्त भएको छ उनका मुक्तकमा।

भाषिक हिसाबले सरल भाषामा लेखिएका मुक्तकहरूको सङ्ग्रह हो ‘सम्बोधिका’। पौराणिक मिथकको प्रयोगले मुक्तकलाई थप सुन्दर र शक्तिशाली बनाएका छन्। अधिकांश समसामयिक विम्ब र प्रतीक रहेका सङ्ग्रहका केही मुक्तकमा भने नवीन प्रतीक एवम् विम्बको प्रयोग गरेका छन् अधिकारीले:

रहरहरू खुसी माग्छन्, खुसीहरू रहर माग्छन्

जहर के माग्दो हो, अमृतहरू नै जहर माग्छन्

तिमीले गाउँ छाडेपछि, गाउँ रहेन गाउँ पनि

गाउँखाने कथाहरू नि अचेल सहर माग्छन्।

संरचनागत हिसाबले रुवाइ शैलीको संरचनामा सम्पूर्ण मुक्तक संरचित छन्। यद्यपि चारै पङ्क्तिमा शब्दसङ्ख्या, मात्रा र अक्षरको बराबर रखाइतर्फ भने मुक्तककार लागेका छैनन्। चतुष्पदी हुनुपर्छ भन्नेमा स्पष्ट अधिकारी सबै पङ्क्ति बराबर हुनैपर्छ भन्ने कुरामा भने आग्रही  देखिँदैनन्।

केही मुक्तकमा पुनरुक्तिदोष भेटिन्छ, साथै केही मुक्तकमा पङ्क्तिहरूका बिचमा संशक्तिको अभाव रहेको आभास सहजै मिल्छ। कतिपय मुक्तकका पङ्क्तिले विषयलाई प्रस्ट पार्नुको साटो सङ्केत मात्रै गरेर छोडेको भेटिन्छ। यसले सर्वसाधारण पाठकलाई मुक्तक सजिलै बुझ्ने कार्यमा बाधा सिर्जना गरेका छन्।

केही सामान्य कमजोरीलाई बेवास्ता गरिदिँदा ‘सम्बोधिका’ मुक्तकसङ्ग्रह नेपाली मुक्तकमा एक हस्तक्षेपकारी उपस्थिति जनाउने गरेर प्रकाशित भएको छ। प्रेमको मूल स्वर बोकेको सङ्ग्रहमा प्रेमलाई कोमल सम्बोधन गर्दै बिछोडमा पनि प्रेमको रस अनुभूत गर्न सकिने भावको केन्द्रीयता प्रस्तुत गरेका छन्। यसले समसामयिक समाज र देशको चित्र कोर्दै वर्तमान समाजका विकृत पाटाहरूलाई छर्लङ्ग पारेको छ, व्यङ्ग्य कसेको छ र सामाजिक एवम् राजनीतिक सुधारको आग्रह गरेको छ।  

प्रकाशित: ६ आश्विन २०८० ०३:३१ शनिबार

अक्षर