२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

बिपी महोत्सवमा समेत गुटगत झल्को

नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा साहित्यकार बिपी कोइरालाको ११० औं जन्मजयन्तीका अवसर पारेर तीनदिने साहित्य महोत्सव सुरु गरेको छ। पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार सभापति शेरबहादुर देउवाले महोत्सवको उद्घाटन गरे।

महोत्सव सद्घाटन गर्दै उनले राजनीतिक, सांस्कृतिक, सामाजिक क्षेत्रमा बिपीको महत्त्वपूर्ण योगदन रहेको बताए। साहित्यिक कृतिमा बिपीले आफ्नो भोगाइ र संघर्षलाई उतारेको चर्चा गर्दै देउवाले भने, ‘उहाँ राजनीतिक जगतमा सबैका अनुकरणीय विचारक, चिन्तक हुनुहुन्छ भने साहित्यिक आकाशमा पनि सधैं अजर र अमर नक्षेत्रका रूपममा स्थापित हुनुहुन्छ।’

बिपीकै राजनीतिक चिन्तनले देखाएको मार्गमा पार्टी र आफू हिँडिरहेको दाबी गर्दै देउवाले भने, ‘उहाँले भन्नुुहुन्थ्यो कि तिमीहरू ठुलो मान्छे होइन, असल मान्छे बन्नू।’ सबैको सहअस्तित्व स्वीकार गर्ने र फरक मत राख्नेलाई पनि सम्मान गर्ने बिपी छिमेकी र अन्य राष्ट्रसँग पनि मित्रवत् सम्बन्धका पक्षपाती भएको देउवाले स्मरण गरे।

कांग्रेसभित्र गुटबन्दी तीव्र बन्दै गएका बेला नेपाली लेखक संघ, सांस्कृतिक महासंघ र फाइन आर्टको सहयोगमा केन्द्रीय समितिले आयोजना गरेको बिपी साहित्य महोत्सव मंगलबारसम्म चल्ने छ। बिहान ९ बजेदेखि साँझ ७ बजेसम्म चल्ने महोत्सवमा कविता साँझ, गजल साँझ, सांगीतिक साँझ, चित्रकला प्रदर्शनी, बृत्तचित्र प्रदर्शनी, ऐतिहासिक फोटो प्रदर्शनी लगायत कार्यक्रम हुने कांग्रेसले जनाएको छ। त्यसक्रममा बिपीका राजनीतिक, सामाजिक, साहित्यिक तथा पारिवारिकसहितका विषयमा विज्ञ तथा जानकारसँग छलफल कार्यक्रम पनि राखिएका छन्। तर ती कार्यक्रममा पनि गुटगत प्रभाव देखिएको गुनासो नेताहरूले गरेका छन्।

महोत्सवमा हाबी भएका पार्टी महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माले आफू निकटलाई मात्र छलफलमा स्थान दिने खोजेको गुनासो सुनिएको छ। पार्टीमा लामो समय योगदान दिएका नेतालाई मात्र होइन, विषय विज्ञहरूलाई पनि पन्छाएर महामन्त्रीद्वयले आफूनिकट र स्वार्थ समूहलाई विषयगत छलफलमा स्थान दिएको आरोप छ।

महोत्सव उद्घाटनमा पार्टीका उपसभापतिहरू र अन्य शीर्ष नेताहरू समेत सहभागी भएनन्। महामन्त्रीद्वय शर्मा र थापा सभापति देउवाको दायाँबायाँ बसेको र उनीहरूले आफूनिकटलाई महोत्सवमा हर्ताकर्ता बनाएको गुनासो सहभागी केही नेताले गरेका छन्।

बिपी साहित्य महोत्सवबाट पार्टीका नेताहरूका बारेमा जान्ने र बुझ्ने थप अवसर मिलेको बताउँदै कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले तन्नेरी पुस्तालाई कांग्रेसमा जोड्ने र आकर्षण गर्ने कार्यक्रमलाई भने प्राथमिकतामा राख्न नसकिएको बताए।

कांग्रेसभन्दा बाहिर भएकालाई पार्टीमा जोड्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिँदै उनले भने, ‘महोत्सव प्रचारमुखी होइन, परिणाममुखी हुनुपर्छ।’ बिपीको जन्मजयन्तीका अवसरमा आयोजना गरिएको कार्यक्रममा पनि गुटगत चर्चा हुनु राम्रो नभएको बताउँदै उनले भने, ‘पार्टीबाहिरका मान्छेलाई जोड्नुपर्ने बेलामा मेरो मान्छेलाई स्पेस दिने वा अर्को पक्षलाई ठाउँ नदिने कुरा ठिक होइन।’

प्रकाशित: २५ भाद्र २०८० ०१:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App