२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी’ हुँदै

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आगामी असोज तेस्रो साता जिल्लाका प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा कला प्रदर्शनी’ कार्यक्रम गर्ने भएको छ।

जिल्लाका धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आगामी असोज १७ देखि २१ गतेसम्म पाँच दिने कला प्रदर्शनी कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको हो।

कला, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि जिल्लाका १० वटै स्थानीय तहमा भएका पाखा, पखेरा, जंगल, खोल्साखाल्सी, खोच, लेकबेंसीका साथै प्राकृतिक, सांस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरूको प्रचारका लागि ‘लाइभ’ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको नगरप्रमुख  तीर्थराज भट्टराईले बताए।

कार्यक्रममा स्वदेश तथा विदेशका गरी ४० कलाकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्त्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने छन्।

‘जिल्लाका सबै स्थानीय तहको महत्व झल्किने स्थान तथा क्रियाकलाप सम्बन्धी प्रत्यक्ष चित्रकला तथा प्रदर्शनी गर्ने तयारी गरेका छौं’, उनले भने, ‘प्रत्यक्ष चित्रकला, संस्कृति र पर्यटनको माध्यमबाट खोटाङको पहिचान देश तथा विदेशमा गराएर पर्यटन प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य हो। लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पुयाउने दाबी गरिएको छ।’

कला प्रदर्शनीका लागि नगरपालिकाले १८ लाख रुपैयाँ विनियोजन गरेको छ।  प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका कलाकारले करिब एक सयको हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्ने नगरपालिकाले जनाएको छ।

कलाकारले उतारेका क्यानभासलाई राखेर असोज २० गते दिक्तेलमा चित्रकला प्रदर्शनीसहित स्थानीय परिकारको प्रदर्शनी, विभिन्न जातजातिको सांस्कृतिक झाँकी, स्थानीय कलाकारको नृत्य प्रदर्शन लगायतका कार्यक्रम गर्ने तयारी गरिएको जनाइएको छ।

चित्रकलालाई केही महिनापछि काठमाडौं आर्ट ग्यालरीमा लगेर उच्चपदस्थ व्यक्तिमार्फत उद्घाटन गरेर प्रदर्शनीको योजना बनाइएको नगरप्रमुख भट्टराईले बताए।

प्रदर्शनीको तयारीबारे नगरपालिकाले विभिन्न पक्षसँग छुट्टाछुट्टै छलफल गर्दै उनीहरूबाट राय तथा सुझाव संकलन गरिरहेको छ।

यसैगरी क्यानभासलाई संग्रहालय बनाएर राखिने नगरपालिकाले जनाएको छ। नगरपालिकाले आयोजना गर्ने चित्रकला कार्यशालामा जिल्लाका छात्रछात्रालाई पनि सहभागी गराइने छ।

प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवा नगरपालिकाका १५ वटै वडा र अन्य नौवटा स्थानीय तहबाट प्राकृतिक, सांस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्वसहितका तस्वीर प्राथमिकीकरण गरिसकिएको छ। चित्रकला कार्यशाला तथा प्रदर्शनी कार्यक्रमका लागि नगरपालिकाले समय तथा कार्यतालिकासमेत सार्वजनिक गरेको छ।  

प्रकाशित: १७ भाद्र २०८० ०४:३४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App