१० मंसिर २०८१ सोमबार
image/svg+xml
कला

सम्पदा संरक्षणमा सकस

ललितपुर पाटन क्षेत्रलाई पुरानो र ऐतिहासिक सहर मानिन्छ । नेपाल भाषामा ‘यलः’ भनिने यो स्थान बरदेवले स्थापना गरेको इतिहासविद् बताउँछन् । अनुपम कला र संस्कृतिले धनी ललितपुर सहरबीच ऐतिहासिक प्राचीन पाटन दरबार क्षेत्र छ । 

ललितपुरको महत्त्व झल्काउने र टाढा–टाढाका पर्यटकलाई तान्ने आकर्षण केन्द्रको रूपमा लिन सकिन्छ, यहाँका ऐतिहासिक सम्पदालाई । यस क्षेत्रमा मल्लकालीन नेपालको इतिहास झल्काउने मठ–मन्दिर तथा अन्य कला–कौशल छन् । कृष्ण मन्दिर, चारनारायण मन्दिर, ज्वालानरसिंह मन्दिर, विश्वनाथ मन्दिर, भीमसेन मन्दिर र सोह्रखुट्टे पाटी यस क्षेत्रका मुख्य धरोहर रहेको संस्कृतिविद् सत्यमोहन जोशी बताउँछन् । उनका अनुसार मल्लकालीन समयका यी सम्पदामा सभ्यताको उचाइ भेटिन्छ । ‘मूर्ति निर्माणको कला अनि गजुर, टुँडाल हेर्दा लाग्छ, उति बेला पनि काठमाडौं उपत्यका सभ्यतामा धेरै नै अगाडि थियो,’ उनले भने । 


भूकम्पलगत्तै पाटन संग्रहालय, दरबार हेरचाह समिति, काठमाडौं उपत्यका संरक्षण कोष, मंगल टोल सुधार समिति लगायतले यी सम्पदामा प्रयोग भएका मूर्ति, गजुर, टुँडाल दरबारभित्रका दलान, चोक तथा भण्डारखालमा राखेको थियो । भूकम्पले मन्दिर लडाएपछि हतार गरेर एउटै कोठामा राखिएका मूर्ति एकले अर्कोलाई थिचेर भाँचिन, बांगिन र फुट्न थालेको देखिन्छ, तर यसमा पुरातत्त्व विभागको ध्यान पुगेको छैन । 

पछिल्लो समय यी सम्पदामा प्रयोग भएका मूर्ति तथा कलात्मक स्वरुप लोप हुने खतरा बढ्न थालेको छ । वैशाख १२ को विनाशकारी भूकम्पले पाटनका सम्पदामा पनि ठूलो चोट पुर्यायो । भूकम्पले चारनारायण, हरिशंकर मन्दिर, दुई मणिमण्डप पार्टी, कृष्ण मन्दिर (च्यासिंद्येग), तलेजु भवानी मन्दिर, विश्वेश्वर महादेव मन्दिर र भीमसेन मन्दिरमा क्षति पुर्याएको थियो । 

यसमध्ये उपत्यका संरक्षण कोषले हरिशंकर, कृष्ण मन्दिर, चारनारायण, दुई मणिमण्डप र विश्वेश्वर मन्दिर पुुनर्निर्माण गरिरहेको छ । पाटनकै भीमसेन मन्दिरको भने पुनर्निर्माण सुरु हुन सकेको छैन । पुनर्निर्माण सुरु भएका सम्पदाको जग खन्ने, पर्खाल लगाउने तथा मर्मत–सम्हार गर्न भइरहेको कोष प्रमुख रोहित रञ्जितकारले जानकारी दिए । 

भूकम्पलगत्तै पाटन संग्रहालय, दरबार हेरचाह समिति, काठमाडौं उपत्यका संरक्षण कोष, मंगल टोल सुधार समिति लगायतले यी सम्पदामा प्रयोग भएका मूर्ति, गजुर, टुँडाल दरबारभित्रका दलान, चोक तथा भण्डारखालमा राखेको थियो । भूकम्पले मन्दिर लडाएपछि हतार गरेर एउटै कोठामा राखिएका मूर्ति एकले अर्कोलाई थिचेर भाँचिन, बांगिन र फुट्न थालेको देखिन्छ, तर यसप्रति पुरातत्त्व विभागको ध्यान पुगेको पाइँदैन । 

पाटनवासी ८० वर्षीय सुरेश लाखे भूकम्पको दुई वर्षसम्म पनि सम्पदा तथा मूर्तिले स्याहार पाउन नसकेकामा चिन्तित छन् । ‘कतै रातारात मूर्ति नै गायब हुने हुन् कि भन्ने चिन्ता लाग्छ,’ उनी भन्छन्, ‘भूकम्पअघि टोलका हामी वृद्धवृद्धा चारनारायणमा भजनकीर्तन गथ्र्यौं तर भूकम्पले हाम्रो देवता मान्ने थलो नै खोसिदियो ।’ 

सम्पदा पुनर्निर्माणको जिम्मा पाएको केभिपिटीले भने काम थालेको झन्डै २२ महिनापछि केही सम्पदाको पुनर्निर्माण सकेको पुरातत्त्व विभाग ललितपुर शाखा प्रमुख काजिमान प्याकुलले जानकारी दिए । उनका अनुसार भीमसेन मन्दिर, दरबार अगाडिको सिंहको सालिक, सुन्दरी चोकको पूर्वी भाग, बहादुर शाहको बैठक भवन, तलेजु मन्दिर, योगनरेन्द्र मल्लको सालिकको पनि पुनर्निर्माण भइसकेको छ ।

चारनारायण मन्दिर 
तत्कालीन मल्ल राजाहरूले प्रयोग गरेको कलात्मक पाटन दरबार प्राचीन स्मारकको धरोहर हो । धार्मिक मनोवृत्ति बोकेका तत्कालीन मल्ल राजाहरूले इस्वी सम्वत १५६६ सालमा चारनारायण मन्दिर स्थापना गरेका थिए । यसबाटै पाटन दरबार क्षेत्रमा मठ स्थापना गर्ने क्रम सुरु भएको इतिहासविद् बताउँछन् । यो मन्दिरमा चारवटा नारायण भएकाले चार नारायण भन्ने चलन छ । वैशाख १२ को भूकम्पले तहसनहस बनाएको यस मन्दिरको मूर्ति चारनारायण मन्दिर भएकै स्थानमा राखेर पूजाअर्चना भइरहेको छ । पुनर्निर्माण कार्य पनि सुरु भइसकेको छ ।

कृष्ण मन्दिर
तत्कालीन मल्ल राजा सिद्धिनरसिंह मल्लको पालामा बनेको कृष्ण मन्दिर पर्यटक र हिन्दू धर्मावलम्बीको आकर्षणको केन्द्र हो । इस्वी सम्वत १६३६ मा जयस्थिति मल्लले यस मन्दिरको निर्माण सुरु गरेका थिए । एउटै ढुंगाबाट शिखर शैलीमा निर्मित २१ गजुरयुक्त कृष्णमन्दिर धरोहर हेर्दा नलोभिने कमै छन् । यहाँका १७औँ  शताब्दीका धातुकला, काष्ठकला र प्रस्तरकलाको अनुपम नमुनाले दरबार क्षेत्रमा सुनमा सुगन्ध भरेको छ । तर वैशाख १२ को भूकम्पले कृष्णमन्दिरको तेस्रो तलाको  महादेव रहेको स्थानलाई फुटाएको छ । भूकम्पपछि मन्दिरमा पानी चुहिन थालेपछि मन्दिरका बुट्टा तथा पस्तरमा लेउ लागेको छ । मन्दिरका पुजारी ऐश्वर्यधरराज राजोपाध्यायले महादेव भएको स्थान भूकम्पले चर्काएकाले त्यहाँ जान डर लाग्ने बताए । उनी भन्छन्, ‘कृष्ण मन्दिर झन्झन् दुरवस्थामा पुगेको छ ।’ त्यस्तै कृष्ण मन्दिरको कोखैमा रहेको विश्वेश्वर मन्दिर पनि टेकैटेकोमा अडिएको छ । उक्त मन्दिरको ढोका एक वर्षदेखि बन्द रहँदै आएको छ । अहिले काठमाडौं उपत्यका संरक्षण कोषले यस मन्दिरको पुनर्निर्माणका लागि वरिपरि खट हालेर काम थालेको छ । 

भीमसेन र तलेजु मन्दिर
पाटन दरबारका दशैंघर, तलेजु, देउतलेजु, कृष्ण मन्दिरकै छेउको भीमसेन मन्दिर पनि भूकम्पअघि अवलोकन गर्न सहज हुने खालका थिए । तर, दुई वर्ष पहिले वैशाख १२ को भूकम्पले तलेजु र भीमसेन मन्दिरलाई क्षति पु¥याएको थियो । भीमसेन मन्दिरको पुनर्निर्माण सकिएको छ भने दुई तलेजु मन्दिरमध्ये एकको पुनर्निर्माण सकिएको छ । भीमसेन मन्दिर श्रीनिवास मल्लले बनाउन लगाएको इतिहासविद् बताउँछन् । 

मणिमण्डप पाटी
मणिमण्डप तत्कालीन राजा योगनरेन्द्र मल्लले बनाउन लगाएका थिए । वैशाख १२ को भूकम्पबाट उक्त पाटी पनि अछुतो छैन । भूकम्पले पूरै ध्वस्त बनाएको पाटी पुनर्निर्माण जिम्मा काठमाडौं उपत्यका संरक्षण कोषले लिएको थियो । पाटी निर्माणको जग नाप्ने कार्य सकिएको र केही दिनमै निर्माण भइसक्ने कोषका प्रमुख रोहित रञ्जितकारले जानकारी दिए । 

योगनरेन्द्र मल्लको सालिक 
मल्लकालीन राजा योगनरेन्द्रलाई अझै पनि जीवित राजाका रूपमा लिइन्छ । दरबारअगाडि रहेको उनको सालिकको टाउकोमा एउटा चराको मूर्ति पनि छ । भूकम्पले चराको मूर्ति ढलाएको थियो, अहिले मर्मत–सम्भार भइसकेको छ । योगनरेन्द्रले आफू मर्ने बेला ‘त्यो चरा उडेर नगएसम्म मलाई ज्युँदै ठान्नू’ भनेको पाटन क्षेत्रका बूढापाका बताउँछन् । राजा जिउँदै भएको मान्यतामा पनि पाटन दरबार उपल्लो तलाको पश्चिमपट्टिको शयन कक्ष रहेको एक कोठाको झ्याल सधैं खुला राखिन्छ । 

साँघुरो कोठामा गजुर र मूर्ति
भूकम्पले भत्काएपछि चारनारायण र हरिशंकर मन्दिरको गजुर दरबारको दक्षिणपट्टिको कोठामा राखिएको छ । राजा योगनरेन्द्र मल्लको मूर्तिलाई त्यही कोठामै मूर्तिका बुट्टा भाँचिने गरी लडाएर राखिएको छ । त्यस्तै, मन्दिरमा भएका शंंख र घण्टीहरू पनि यत्रतत्र भुईंमै छरिएका र भद्रगोल अवस्थामा छन् । भूकम्पले मन्दिर भत्कँदा कतिपय मूर्तिको बुट्टा भाँचिएका र थिचिएका छन् । पुरातत्त्व विभाग हेरचाह कार्यालय ललितपुर प्रमुख काजीमान प्याकुरेल स्थान अभावका कारण यसरी सबै देवताका मूर्ति, गजुर र अन्य सामान एकै स्थानमा राखिएको बताउँछन् । त्यस्तै, तलेजु महादेवको गजुर पनि दरबारको आँगनमा राखिएको छ । 

टहरामै छन्, मन्दिरका कलात्मक टुँडाल 
दरबार परिसरको पूर्वतर्फको भण्डारखालस्थित टहरा निर्माण गरी खुला रूपमै मन्दिरका कलात्मक टुँडालहरू राखिएको छ । यसरी खुला रुपमै ऐतिहासिक कलात्मक टुँडाल राख्दा हराउन सक्ने सम्भावना रहेको स्थानीय बुद्धिजीवी काजीमान महर्जनले बताए । भूकम्पले भत्काएका मन्दिरको कलात्मक टुँडाल, कार्नेस, तोरण, खम्बा, झ्याल, ढोकाहरू कति थिए भन्ने रेकर्ड दरबार हेरचाह समितिसँग छैन । टहरामा यसरी बिनागन्ती नै राखिएका बुट्टे ढोका तथा टुँडालहरू प्रहरीको उच्च निगरानीमा राखेको पुरातत्त्व विभाग हेरचाह कार्यालय ललितपुरका प्रमुख काजीमान महर्जनले बताए । तर यसरी खुला रूपमै सम्पदामा मूल्यवान वस्तु राख्दा प्रहरीले सेवा दिइरहेका बेला पनि हराउन सक्ने ललितपुर मंगलबजारका अनिल महर्जनले बताए ।

हिन्दू धार्मिक मन्दिर बाहुल्य रहेको दरबार क्षेत्रमा १३औँ शताब्दीको अन्त्यतिर बुद्ध धर्मको आकर्षक थलो थियो भन्ने यहाँका बहाल, विहार र स्पुतले पुष्टि गर्छन् । ती विहार र स्तुपमा पनि भूकम्पले क्षति पुर्याएको छ । 

पाटन दरबार क्षेत्र एक प्राचीन स्मारकको धरोहरका रूपमा स्मारक भने दुरुस्तै छ । १६७५ सालतिर पाटनका स्वतन्त्र राजा सिद्धिनरसिंह मल्लले तत्कालीन मनिंगल राजप्रसादलाई विस्तार गर्नुका साथै कलाकृतिले यस क्षेत्रलाई सिँगारेको जानकार बताउँछन् । उनले नै आफ्ना इष्टदेवता तलेजु भवानी (तुलजा भवानी)को सानो मन्दिर पनि त्यहाँ बनाए । साथै, देगुतलेजु मन्दिरको पनि निर्माण गराएको इतिहास छ । 

त्यस्तै, पुर्खाले सिर्जेका सांस्कृतिक धरोहर लोप हुँदा आफ्नोपन नै मेटिने बताउँछन्, ललितपुर मंगल बजारका स्थानीय जानकार रामप्रसाद अमात्य । उनी भन्छन्, ‘भूकम्पअघि त मन्दिरमा प्रयोग भएका कलात्मक मूर्ति, गजुर र टुँडाल सुरक्षित नै थिए, तर भूकम्पपछि भने तीनको दुरवस्था नै छ ।’

दरबार परिसर अवलोकन गर्ने पर्यटक मल्लकालीन सभ्यताको उत्कृष्ट नमुनाको अनुभूति गर्न सक्छन् । इतिहासमा रुचि राख्ने विद्यार्थीका लागि पाटन दरबार उत्तम थलो नै मानिन्छ । मन्दिर परिसरको पाटन संग्रहालयमा बौद्ध र हिन्दू धर्मावलम्बीका कलात्मक पुरातात्त्विक मूर्ति समेत संग्रहित छन् । 

सुन्दरीचोक 
दरबार स्क्वायरको अर्को घुम्नैपर्ने स्थल मूलचोक र सुन्दरीचोक हो । तर, सुन्दरी चोकमा रहेको राजा सिद्धिनरसिंह मल्ले बनाएको सुनको जलप भएको धारा पाँच वर्षअघि नै चोरी भइसकेको छ । अहिले उक्त धारामा नक्कली जलप राखिएको छ । 

नेवारी वास्तुकलाको अनुपम उदाहरण देख्न सकिने यस स्थानमा पर्यटकको पनि चाखलाग्दो उपस्थिति छ । भूकम्पपछि चोकहरूमा रहेका ऐतिहासिक कलात्मक देवीदेवताका मूर्ति, कलात्मक टुँडाल र आँखी झ्याल सबैले देख्न सकिने स्थानमा राखिएको छ । 

प्रकाशित: १३ जेष्ठ २०७४ ०६:१४ शनिबार

सम्पदा संरक्षणमा सकस