७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

लुँमधि अजिमां भद्रकालीको महिमा

तान्त्रिक विधिअनुसार पूजा गरिँदै आइरहेको लुँमधि अजिमां भद्रकालीको अतुलनीय महिमा छ। यी भद्रकाली देवीको नाम लुँमधि अजिमां कसरी रहन गएको हो भन्ने सन्दर्भमा एउटा किंवदन्ती रही आएको छ।

प्राचीन कालमा उपत्यकामा रोपाइँका अवसरमा एक जना किसानले रोपाइँ गरिरहेको समयमा एउटी बालिका खेतमा आई रोइरहेको देखेछ। ती किसानले बालिकालाई जति नरोऊ भनी फकाउँदा पनि रुन नछाडेपछि किसानले आफ्ना लागि ल्याएको खाजा रोटी खान दिए। ती बालिका रोटी पाएपछि रुन छाडेर हाँस्न थालिछिन् र तत्कालै अन्तरध्यान भइछन्। यस्तो अवस्था देखेर त्यो किसान अचम्ममा परेछन्। किसानले उनलाई दिएको पिठोको रोटी सुनमा परिणत भएको देखी झन् आश्चर्यमा परेछन्। नेपाल भाषामा लुँको अर्थ सुन र मधिको अर्थ रोटी हुने हुँदा ती बालिकालाई किसानले साक्षात देवी मान्दै लुँमधि अजिमां भन्न थालेछन्। तसर्थ भद्रकालीलाई लुँमधि अजिमां पनि भन्ने गरिन्छ।

किसानले साक्षात् देवी मानेकी भगवती अन्तरध्यान भएपछि यो कुरा राजा गुणकामदेव कहाँ पुगेछ। राजा गुणकामदेवले त्यहाँ देवीको वासस्थान मानी त्यहाँ भद्रकाली पीठको स्थापना गरे। त्यो किसानले देवी रूपकी बालिका देखिएको स्थानमा नौवटी देवीको स्तुति गरेकाले भद्रकालीलाई नवदुर्गामध्येकी प्रख्यात देवीका रूपमा पूजा गर्दै आइरहेको छ। यिनै भद्रकालीलाई चामुण्डा देवीका रूपमा पुजिन्छ।

दुर्गा कवचमा उल्लेख भएअनुसार भगवतीका अनेक रूपमध्ये भद्रकाली पनि एक हुन्। देवी महात्म्य र चण्डी दुर्गा सप्तशतीमा दुर्गालाई ११ वटा नामले वन्दना गरिएको छ। आफ्ना भक्तको भक्तिमा सधैं प्रसन्न रही रहने देवीका रूपमा भद्रकालीलाई पुज्ने गरिन्छ। तान्त्रिक विधिअनुरूप नित्य पूजा गरिने यस मन्दिर नवरात्रीमा भक्तजनहरूको विशेष भीड लाग्छ। यो समयमा विशेषतः विभिन्न विधिबाट तान्त्रिक पूजा गरिने भएकाले यहाँ विशेष रौनक देखिन्छ।

आफ्ना भक्तलाई भद्र सुख र मंगल प्रदान गर्ने भद्रकाली देवीलाई सप्तशती देवी महात्म्य चण्डी पाठमा देहायका ११ नामले वन्दना गरिएको छ: जयन्ती, मंगला, काली, भद्रकाली, कपालिनी, दुर्गा, क्षमा, शिवा, धात्री, स्वहा, स्वधा नमस्तुते।

दुर्गा कवचमा उल्लेख भएअनुसार भगवतीका अनेक रूपमध्ये भद्रकाली पनि एक हो। यसलाई लुँमधि स्थान पनि भनिन्छ। वंशावलीअनुसार कलिगत संवत् ३८२४ मा काठमाडौं नगर निर्माण गर्दा राजा गुणकामदेवले देश रक्षार्थ नगरको चारैतिर लुँमधि अजिमा (भद्रकाली), कङ्ग अजिमा (कंकेश्वरी), म्हेपी अजिमा (ज्ञानेश्वरी), मैती अजिमा (मैतिदेवी), तकुती अजिमा (नीलबाराही), ङत अजिमा (नरदेवी), बछला अजिमा, लुती अजिमा (इन्द्रायणी) स्थापना गरी खत जात्रा चलाएको कुरा इतिहासमा उल्लेख छ।

भद्रकालीलाई भारतमा पनि ठुलो महŒवका साथ मान्दै आइरहेको पाइन्छ। भारतको केरलामा प्रचलित लोककथाअनुसार केरलामा नाराणतु भ्रांतन (पागल) को किस्सा धेरै नै प्रसिद्ध रही आएको छ। ऊ वर रुचिका पुत्र थिए। उसमा अद्भूत शक्ति थियो। तर ऊ सधैं पागलको भेष बनाएर घुम्थ्यो। भिक्षा मागेर आफ्नो पेट भथ्र्यो। राति जे मिल्छ त्यही खान्थ्यो र सुत्थ्यो। अग्लो पहाडबाट पत्थर खसाल्न उसलाई प्रिय लाग्थ्यो। पहाडमा पत्थर देख्यो कि खसाली हाल्थ्यो। अक्सर मानिसले उसलाई पागल सम्झेर व्यवहार गर्थे तर ऊ सांसारिक मायाजालबाट पर थियो, अर्थात् मुक्त थियो।

एकपटक ऊ रातको समयमा मसान घाटमा पुग्यो। ऊ मनमौजी थियो। उसलाई के गाउँ के मसान? उसले त्यही मसानमा आगो जलाएर भात पकाउन थाल्यो। केही समयमा त्यहीं भद्रकाली माता आइपुगिन्। देवी भद्रकाली त्यस मसानमा नृत्य गर्न आउने गर्थिन्। त्यस व्यक्तिलाई देखेर भद्रकालीले भनिन्, ‘यहाँबाट हट, म नृत्य गर्छु।’ आरामले गर्नु, यहाँ खुला ठाउँ धेरै छ भन्दै नाराणतुले भात चलाउन थाल्यो। भद्रकालीले टाउको हल्लाउँदै भनिन्, ‘होइन, मलाई नृत्य गर्दा कसैले हेर्न सक्दैन, त्यसैले तिमी यहाँबाट जानुपर्छ।’

नाराणतु आफ्नै धुनमा मग्न थियो। भद्रकालीले डर लाग्दो रूप गरेर उसलाई तर्साउन आरम्भ गरिन्। यदि कोही साधारण मानिस भए डराएर भाग्थ्यो। तर नाराणतु भ्रांतनलाई डर लागेन। ऊ त मुस्कुराउँदै देवीका विभिन्न रूपलाई हेरिरह्यो। भद्रकालीले नै हार मानी भनिन्, ‘जब कोही मानिसले मलाई देख्छ तब मैले कि त आर्शीवाद दिनुपर्छ या श्राप, भन मैले तिमीलाई कुन वरदान दिऊँ?’

नाराणतुले पाकेको भात आगोबाट निकाल्यो र बोल्यो, ‘मलाई शान्तिसँग भोजन गर्न देऊ, मलाई केही पनि चाहिँदैन।’ ‘तिमीले कुनै एक वरदान माग्नैपर्छ,’ भद्रकालीले दृढ स्वरमा भनिन्। नाराणतुले भने, ‘त्यसो हो भने मेरो निर्धारित आयुमा एक दिन बढाइदिनु।’ ‘त्यस्तो म गर्न सक्दिनँ,’ भद्रकालीले भनिन्। ‘ल ठिक छ, मेरो कुल आयुमा एक दिन घटाई देऊ।’ भनेपछि देवीले यो पनि मेरो वशमा छैन भनी असमर्थता जनाइन्।

उफ् अब त मेरो पिछा छोडी देऊ, मलाई केही पनि चाहिँदैन भन्दै नाराणतुले हात जोडे। तर भद्रकाली टसमस भइनन्। तब नाराणतु भ्रांतनले हाँसेर भने, ‘ल ठिक छ। मेरो दायाँ खुट्टाको घाउ बायाँ खुट्टामा सारी देऊ।’

भद्रकालीले त्यस्तै गरिदिइन् र आफ्नो लोकमा फर्किन्। मनमौजी नाराणतुले मजाले भात खायो र त्यहीं खुट्टा पसारेर सुत्यो।

भारतमा नवरात्री सुरु हुनासाथ भगवती माताको पू्रै देशमा भव्य सजावटका साथ उत्सव मनाइन्छ। हरियाणाको कुरुक्षेत्रमा एक मात्र भद्रकाली शक्तिपीठमा भव्य सजावट गरिन्छ। नवरात्रिमा मन्दिरलाई चार टन देशी विदेशी फूलले सजाइन्छ। मन्दिरमा आकर्षक लाइट लगाइन्छ। मन्दिरका पीणुधीश सतपाल शर्माका अनुसार कलश स्थापनाको अवसरमा यहाँ ५१०० कलशको भव्य शोभायात्रा निकालिन्छ। यही मन्दिरमा भगवान् श्रीकृष्णको मुन्डन भएको थियो भनिन्छ।

पुराणका अनुसार भद्रकालीको कुरु क्षेत्रमा परमशक्तिपीठ धाम छ। यस महाशक्तिपीठमा विशेष उत्सवका रूपमा चैत्र र आश्विन महिनामा नवरात्री मनाइन्छ। नवरात्रिमा माताको उपासना श्रेष्ठतम मानिन्छ। शक्तिपीठमा माता भद्रकालीको विशेष महत्व छ। शक्तिपीठ माँ सतीको प्रिय निवास हो, जहाँ माँको शक्ति प्रकट भयो।

हिन्दु ग्रन्थमा यस्ता ५२ शक्तिपीठको वर्णन पाइन्छ। ५२ शक्तिपीठमा एक शक्तिपीठ हरियाणाको कुरुक्षेत्रमा श्री देवी कूप भद्रकाली मन्दिर रहेको छ। भद्रकाली शक्तिपीठमा देवी सतीको दायाँ खुट्टाको घुँडामुनिको भाग खसेको थियो। यसको महत्व तब बढ्छ जब यसमा श्रीकृष्णको प्रसङ्ग सामेल हुन्छ। भनिन्छ कि भद्रकाली शक्तिपीठमा श्रीकृष्ण र बलरामको मुन्डन भएको थियो।

मन्दिरका पीठाध्यक्ष सतपाल शर्माका अनुसार भद्रकाली मन्दिर माता देवी कालीमा समर्पित छ। भद्रकाली मन्दिरमा देवी कालीको प्रतिमा स्थापित गरिएको छ, जसमा माँ सती देवीको दायाँ खुट्टाको घुँडामुन्तिरको भाग सेतो सिंगमरमरले बनाइएको स्थापित गरिएको छ।

पौराणिक कथाअनुसार सती देवीले आफ्ना पिता दक्ष प्रजापतिले गरेको यज्ञमा आफ्नो प्राण त्यागिन्। तब भगवान् शंकरले रौद्र रूप धारण गरेर सती देवीको मृत शरीर बोकेर ब्रह्माण्डमा चक्कर लगाइरहेका थिए। भगवान् विष्णुले सुदर्शन चक्रले सतीको शरीरको ५२ भागमा विभाजित गरिदिएका थिए। सती देवीको दायाँ खुट्टाको घुँडाको तल्लो भाग यहींको कुवामा खसेको थियो। यसैले यस मन्दिरलाई श्री देवी कुप मन्दिर पनि भनिन्छ। यो स्थान थानेश्वरमा छ।

महाभारत कालमा श्रीकृष्ण पाण्डवका साथ यस मन्दिरमा आएका थिए। उनीहरूले विजयका लागि माँसँग भाकल गरेका थिए। त्यसैले युद्धमा विजय हासिल गरिसकेपछि पाण्डवले मन्दिरमा आएर घोडा दान गरेका थिए। त्यही बेलादेखि यहाँ यही प्रथा चल्दै आइरहेको छ। कोही यहाँ आएर चाँदीको घोडा, सुनको घोडा चढाउँछन् त आम जनताले माटाको घोडा चढाउँछन्। यहाँ प्रणव मुखर्जी र देवी प्रतिमा पारिल सिंहसमेत कैयौं राष्ट्रपतिहरू र अति विशिष्ट व्यक्तिहरूले पूजा अर्चना गरेका छन्।

नेपालमा पनि भद्रकालीको जात्रा गरिँदै आएको छ। काठमाडाैंको भद्रकालीको जात्रा घोडेजात्रामा गरिन्छ भने पनौतिमा पनि बर्सेनि भद्रकालीको जात्रा गरिन्छ। त्यस्तै लुभू र पनौतीमा पनि हरेक वर्ष जात्रा गरिन्छ। नेपालमा भएका भद्रकालीको जात्रा देशका विभिन्न स्थानमा गरिँदै आइरहेको छ। माता भद्रकालीले सबैको कल्याण गरून्। 

प्रकाशित: ११ चैत्र २०७९ ०२:४३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App