लक्ष्मण अर्याल
करीव ३ महिनाअघि केशवले म्यासेज गरेर भनेका थिए-पिता पण्डित रुद्रप्रसाद भट्टका स्मृतिमा स्मृति पुस्तक तयार गर्न लागेका कुरा र एउटा स्मृति लेख लेख्न अनुरोध गरेका थिए। कात्तिक मसान्तसम्मको म्याद थियो तर भुसुक्क बिर्सिएछु। पुस ९ मा फेरि म्यासेज आयो। भुलक्कड स्वभावप्रति अलिकति आफैंसँग रिसाएँ र मित्रको अनुरोध समयमै पूरा गर्न नसकेकामा सर्माएँ।
केशव मेरा सहपाठी हुन् र उनका पिताजी रुद्रप्रसाद भट्ट। उहाँका जीवनका धेरै उहापोहबारे म अनभिज्ञ नै छु तर मलाई यतिचाहिं थाहा छ, उहाँ संस्कृत भाषाका निष्णात् विद्वान् हुनुहुन्थ्यो। संस्कृत प्रेमले नै उहाँले जेठा छोरा केशवलाई संस्कृत शिक्षा दिनुभयो। उहाँको विज्ञता विशेषगरी संस्कृत व्याकरणमा थियो। धर्मशास्त्रका वैज्ञानिकताका सन्दर्भमा पनि उहाँका बहसहरू निकै रोचक अनि चित्तबुझ्दा हुन्थे।
मेरा पिताजी शिवहरि अर्याल र उहाँ (पण्डित रुद्रप्रसाद भट्ट) जन्म अनि कर्मका हिसावले समकालीन नै हुनुहुन्थ्यो। उहाँहरूको उमेर अन्तर एक वर्ष मात्र हो अर्थात् मेरा पिताजी एक वर्ष जेठो। तत्कालीन समयमा दुवै पूर्वीय शिक्षाका ज्ञानले आप्लावित हुनुभएका, कुशाग्र बुद्धिका र समकालीनभन्दा हरेक कुरामा अगाडि हुनुहुन्थ्यो। उहाँहरू दुवै जनाको शैक्षिक योगदान अविस्मरणीय र स्तुत्य छ। धादिङले दुवैलाई विशेष रूपमा पनि चिन्दछ। दुवै जना शिक्षणवृत्तिमा हुनुहुन्थ्यो। शिक्षणवृत्तिमा रहनु र शैक्षिक अभियन्ता हुनुमा धेरै ठुलो अन्तर छ। वृत्ति पेसा मात्र हो भने अभियन्ता समाजलाई अगाडि बढाउन नेतृत्व गर्ने नेतृत्वकर्ता। यस अर्थमा उहाँहरू दुवै शिक्षण पेसा अँगाल्ने र जीवनवृत्ति चलाउने व्यक्ति मात्र नभई शैक्षिक अभियन्ता नै हुनुहुन्थ्यो।
अमराई मेरो जन्मभूमि। उहाँ हुनुहुन्थ्यो भट्टगाउँ निवासी। भट्टगाउँ पुग्न हाम्रो घरबाट लगभग आधा घन्टा उक्लिनुपर्छ। म सानैमा (लगभग ५/६ वर्षको थिएँ हुँला) पिताजीसँग काठमाडौं गएँ। पछि पिताजीको देहावसानपछि (विसं २०३५ असार) पुनः फर्किएको हुँ अमराई। यसैले मेरा लागि गाउँ सधैं बिरानोजस्तो भयो। गाउँ फर्किएपछि पनि मेरो गाउँसँग त्यति धेरै घुलमिल र निकटता रहेन। कारण मेरो गाउँको बसाइ लामो अवधिको थिएन। पिताजीको निधनपछि गाउँमा चार वर्ष मात्र बसें अनि पुनः पढाइका लागि काठमाडौं गएँ। केशवसँग काठमाडौं गएपछिको परिचय हो मेरो।
हुन त शमीभञ्ज्याङ पढ्दा ताका यदाकदा उखुवारीबाट भट्टगाउँ हुँदै झर्थ्यौं हामी। भट्टगाउँसँग हाम्रो अर्को नाता पनि छ। हाम्री कान्छ्यामाको माइली छोरीको घर पनि त्यहीं हो। दण्डपाणि दाइका जेठी छोरी उमा र माइली छोरी रमालाई पनि त्यहीं दिइएको छ। मेरी फुपू पनि त्यही गाउँमा दिइएको थियो। अझ त्यसमा पनि पण्डित रूद्रप्रसाद नाताले दिदीका जेठाजु नै हुनुहुन्छ। यस अर्थमा पनि उहाँसँगको पारिवारिक निकटता हो। यस्तै भानिज सुदर्शन मेरा समकक्षी हुन्। अझ उनी भानिजभन्दा पनि बढी साथी हुन्। उनीसँगको सामीप्यले नै भट्टगाउँको आवतजावत र परिचय गाढा बनेको हो। भट्टगाउँ आउँदा-जाँदा धेरैपटक गुरु रुद्रप्रसादसँग भेट भएको हो। तर, त्यतिबेला उहाँका विद्वताका कुरा थाहा पाए पनि भित्री ज्ञानको दायरा बारे म अनभिज्ञ नै रहें। यो मेरो उमेरगत सीमाका कुरा पनि थिए होलान् त्यतिबेला।
काठमाडौंमा मैले संस्कृतमा (सिद्धान्त ज्योतिष विषयमा) स्नातक गरें। जीवनवृतिका लागि अलि ठूलो दायरा बढाउनुपर्छ भन्ने लागेर नेपालीमा एमए सकें। एमएको परीक्षा सकिएपछि परीक्षाफल कुर्दै गर्दा संस्कृत माविका तत्कालीन प्रअ विष्णुप्रसाद भट्ट काठमाडौं पुग्नुभयो र मावि शिक्षकको रूपमा जान निकै आग्रह गर्नुभयो। म जान तयार थिइन कारण म काठमाडौमा नै खपत हुन चाहन्थें। पछि उहाँको निकै ठुलो आग्रह टार्न नसक्दा परीक्षाफल प्रकाशित भएपछि फर्किने दृढता लिंदै म गएँ। एक वर्ष मात्र बसें त्यता। यो प्रसंग यहाँ किन जोडें भने मेरो कार्य क्षेत्र मैदी (धादिङ) को सातदोबाटेमा थियो जहाँ भट्टगाउँ हुँदै जानुपर्थ्यो। विद्यालय जाने क्रममा कहिलेकाहीं उहाँ भेटिइरहनुहुन्थ्यो। भेटको छोटो-छोटो अवधि भए पनि उहाँसँगको सामीप्य निकै अभिरुचिपूर्ण हुने गरेको सम्झना छ। उहाँका भाषिक तर्क अनि विज्ञताका दायरा कति फराक रहेछन् भन्ने मैले त्यतिबेलै बुझ्ने मौका पाएँ।
समाज बदलिएको छ। मानिसका विचार फेरिएका छन्। अरूको नक्कल गरेर अगाडि बढ्नेको जमात बढ्दै छ। पूर्वीय संस्कृति र सभ्यतालाई अनुसन्धान गरेर पश्चिम अगाडि बढ्यो। त्यसैका आडमा पश्चिमले भाषाविज्ञान पनि बनायो। वेदलाई पढेर अनि त्यसमा आएका विषयवस्तु परीक्षण गरेर आधुनिक सन्दर्भहरू जोड्यो र त्यसलाई विज्ञान नामकरण गर्यो। तर, हामी आफ्नै सभ्यता र संस्कृतिको पदचाप नबुझ्दा पछि पर्यौं। पछि के कारणले पर्यौं भन्ने ज्ञानको पनि अभाव छ। स्वभाषा, स्वसंस्कृति, स्वदेशप्रति अनाकर्षण बढ्दो छ तर यसतर्फ सोच्ने फुर्सद कसैलाई पनि छैन।
सबै आआफ्नै दौडमा छन्। यो दौडले हामीलाई व्यक्तिगत रूपमा धन-सम्पत्ति, ऐस-आराम त देला तर यसले समाजमा पहिचानको समस्या ल्याउँदो रहेछ।
यो समस्या न्यूनीकरण गर्न हामीले धर्म, संस्कृति र सभ्यतासँग जोडिएका पुस्तालाई र तिनका आदर्शलाई पछ्याउनु आवश्यक छ। त्यो पुस्ताको प्रतिनिधित्व गर्नेहरू कतिपय अहिले पनि जीवित छन् भने कतिपयले भौतिक शरीर त्यागिसके। भौतिक शरीर त्यागिसकेका कैयौं विद्वानका विचार र प्रभाव अझै बाँकी छन्। पण्डित रुद्रप्रसाद भट्टको भौतिक शरीर हामीबीच छैन तर उहाँका विचार अद्यापि धेरैका मन-मुटुमा ताजा छन्। यस अर्थमा उहाँ आज पनि जीवित हुनुहुन्छ। उहाँ र उहाँजस्तै मार्गमा हिंड्नु हुनेहरूको पदचिन्ह अनुसरण गर्दा हाम्रो सामाजिक पहिचानको स्वरूप जीवित रहिरहनेछ।
आज संस्कृत शिक्षा मूल रूपमा कर्मकाण्डी बनेको छ। कर्मकाण्डको सामान्य दैनन्दिन गतिविधिका लागि खासै धेरै ज्ञानको आवश्यकता पर्दैन। ४/५ महिनाको सामान्य ट्रेनिङपछि कर्मकाण्डको सीप सिकिन्छ। हाम्रो समाजमा यस्ता खाले कर्मकाण्डीहरूका संख्या उल्लेख्य छ। यस्ता कर्मकाण्डीहरूको संख्या बढ्दा समाजमा संस्कृत भनेको कर्मकाण्डको टापनटिपन मात्र हो भन्ने गलत सूचना प्रवाहित भएको छ तर संस्कृत भाषामा रहेका विषयको गहिरो ज्ञानका लागि भने विशेष अध्ययन आवश्यक छ।
गुरु रुद्रप्रसादलाई कर्मकाण्डको सामान्य ज्ञान मात्र लिनुभएका व्यक्तिको रूपमा चिनियो भने उहाँप्रति ठूलो अन्याय हुन्छ। उहाँले संस्कृतको गहिरो अध्ययन गर्नुभएको थियो। उहाँ व्यासासनमा बसेर गम्भीर रूपमा पुराणलाई फुकाउन सक्नुहुन्थ्यो। पुराणका प्रतीकात्मक अर्थहरूलाई आधुनिक सन्दर्भहरूसँग जोडेर बनाउन सक्ने विशेष क्षमता उहाँमा थियो जुन व्यासासनमा बस्ने आजका अधिकांश पण्डितहरूमा भेटिंदैन।
यस्तै शब्दलाई केस्रा-केस्रा पारेर केलाउन सक्ने विशेष क्षमता थियो उहाँमा। दर्शनका गहिरा कुरा सजिलो बोलीमा बुझाउन सक्ने तागतले धादिङ जिल्लाभर उहाँको विद्वता र विज्ञता सुप्रचारित भएको थियो। उहाँ मृदुभाषी हुनुहुन्थ्यो भने भाषिक तर्कवितर्कमा अत्यन्त उत्साहका साथ अघि सर्नुहुन्थ्यो।
पण्डित रुद्रप्रसादबारे धेरै अन्तरंग कुरा नबुझे पनि उहाँसँग संगत भएका छोटो समयावधिबाट म यति भने बुझ्दछु, उहाँ विशेष मानिस हुनुहुन्थ्यो। उहाँका कर्म अनि विचार विशेष थिए। उहाँका सम्झनाका सन्दर्भहरू पनि विशेष छन्। उहाँभित्र रहेको त्यो विशेषपन आधुनिक युवा पिंढीका लागि प्रेरक हुनसक्छ। अन्तमा विचार, कर्म अनि सम्झनाले समाजमा विशेष रहिरहनुहुने प्राचीन भाषा, संस्कृति र विचारका जोडक पण्डित रुद्रप्रसाद भट्टप्रति हार्दिक शब्द-श्रद्धासुमन अर्पण गर्दछु।
प्रकाशित: २३ पुस २०७९ ०५:१७ शनिबार