११ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

मान्छे निल्ने आगो

लघुकथा

लक्ष्मण अर्याल

उनको स्वभाव थियो बहिर्मुखी। यो स्वभावले नै उनलाई बोलक्कडको आसनमा आसीन पनि गराएको थियो। अझ यो स्वभावकै योगदान हुनसक्छ-उनी वाचाल छन् भन्ने कुरा बाहिर पर्दामा पनि आएकै थियो। जुन कुरा बहिर्मुखीमा जस्तो अन्तर्मुखीहरूमा झ्वाप्प प्रकटित हुन सक्दैन।

उनलाई मैले हरसमय खुसी नै देखेको हुँ। हुन त हरकोही मान्छे हरेकसमय खुसी हुन सक्दैन। यो मेरो मान्यता हो। यो साझा मान्यता पनि बन्न सक्छ। म भन्छु-व्यवहार अनि विभिन्न सन्दर्भले मानिसलाई सर्वकाल खुसी हुनबाट रोक्छ तर उनी अपवाद पो थिए कि यो मामिलामा?

मानिसहरू उनलाई घमण्डी, स्वप्रदर्शन रुचाउने मान्छे आदिआदि संज्ञा पनि दिन्छन्। व्यवहारमा अरूभन्दा अलि फरक हुन खोज्नु र कताकता नजानिंदो किसिमले अलि उचो हुँ भन्न खोजे जस्तो गर्नुले उनलाई प्राप्त भएको यो उपाधि गलत हो भनी ठोकुवा गर्न पनि गारो हुन्थ्यो।

तर,आजकल उल्टो नदी बगेको देखेको छु मैले। वाचाल कहलिएका उनी चुपचाप छन्। सधैं आफ्ना अन्तरकुन्तरका भावनाहरूलाई सबैसामु पोखेर विरेचित भइरहने उनी निस्पन्द छन्। उनी बोल्न गारो मान्छन् आजकल। मनैमन यस्तो भनेका पनि त हुन सक्छन्,‘के बोल्नु यिनीहरूसित? स्तर मिल्दैन।’

यो उनको उलटपुलट र उथलपुथल भएको प्रवृत्तिलाई कटाक्ष गर्दै समाज भन्छ, ‘घमण्डको घडा।’ तर,म भने दुविधाग्रस्त र संकटग्रस्त छु। दुविधा मेरो मन मित्र लडाभाँती गर्छ। म आफैंलाई प्रश्न गर्छु-उनको यो फेरिएको स्वभाव समाजले भनेझैं उनीभित्रको घमण्डको चुली हो या भित्रभित्र सल्किरहेको अवसाद(डिप्रेसन) को मान्छे निल्ने आगो?

प्रकाशित: ३ पुस २०७९ ०८:४९ आइतबार

अक्षर