४ मंसिर २०८१ मंगलबार
image/svg+xml
निर्वाचन विशेष

मध्यपुर थिमीको मेयरमा कांग्रेसका सुरेन्द्र विजयी

भक्तपुरको मध्यपुर थिमी नगरपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र बीचको गठबन्धनका मेयर र उपमेयर विजयी भएका छन्। गठबन्धनको तर्फबाट मेयरमा उठेका नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठ र माओवादीका उपमेयर विजयकृष्ण श्रेष्ठ विजयी भएका हुन्।

थिमीमा गठबन्धनले नगरप्रमुख, उपप्रमुख, ६ वटा वडासहित बहुमत सदस्य जित हार पारे। बाँकी २ वटा वडाध्यक्ष नेकपा एमाले र एउटा वडाध्यक्ष नेपाल मजदुर किसान पार्टी (नेमकिपा) विजयी भए।

मध्यपुर थिमीमा प्रमुखमा नेपाली कांग्रेसका सुरेन्द्र श्रेष्ठले आफ्नै जुवाइँ एवं निवर्तमान प्रमुख नेकपा एमालेका मदनसुन्दर श्रेष्ठलाई पराजित गरेको छ। गठबन्धनका तर्फबाट उम्मेदवार बनेका सुरेन्द्रले १५ हजार ९८ मत प्राप्त गरे। उनका निकटम प्रतिद्वन्द्वी मदनसुन्दरले ११ हजार ३५ मत पाए।

२०७४ मा मदनसुन्दरले नेपाली कांग्रेसका अष्ट कवेलाई पराजित गर्दै प्रमुखमा निर्वाचित भएका थिए। सो बेला नेमकिपासँग तालमेल गरेको थियो। मदनसुन्दरले १४ हजार मत पाएका थिए। यसपटक एक्लै चुनावी मैदानमा उत्रेको एमालेले मध्यपुर थिमीमा प्रमुख र उपप्रमुख दुवै गुमाउनपुग्यो।

उपप्रमुखमा पनि गठबन्धनका विजयकृष्ण श्रेष्ठ निर्वाचित भए। नेकपा माओवादी केन्द्रका श्रेष्ठले १२ हजार एक सय दुई मत ल्याई विजयी हुँदा उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेकी उत्तरा नेपालले आठ हजार आठ सय ६३ मतमा सीमित भइन्।

मध्यपुर थिमीको नगरसभामा गठबन्धनले झन्डै दुई तिहाई सिट जितेको छ। मध्यपुर थिमीको ४७ सदस्यीय नगरसभामा गठबन्धनले २९ सिट जितेको छ भने नेकपा एमालेले १३ र नेमकिपाले ४ सिट जितेको छ।

नेपाली कांग्रेसले नगरप्रमुख, ६ वडाध्यक्ष र १८ जना नगरसभा सदस्यसहित बहुमत सिट जितेको छ। कांग्रेसले वडा नं. १ मा वडाध्यक्षसहित ४, वडा नं. २ मा वडाध्यक्षसहित २, वडा नं. ३ मा वडाध्यक्षसहित ४, वडा नं. ४ मा एक सदस्य, वडा नं. ५ मा वडाध्यक्षसहित ३, वडा नं. ६ मा वडाध्यक्षसहित ४ सदस्य जितेको हो।

त्यसैगरी वडा नं. ७ मा दुई सदस्य, ८ मा एक सदस्य जितेको कांग्रेसले वडा नं. ९ मा वडाध्यक्षसहित ४ सदस्य जितेको छ।

नेकपा माओवादी केन्द्रले उपप्रमुखसहित वडा नं. ६ मा एक र वडा नं. ९ मा एक सदस्य जितेको छ भने नेकपा एमालेले वडा नं. १ मा एक सदस्य, २ मा तीन सदस्य, वडा नं. ३ मा एक सदस्य, वडा नं. ४ मा वडाध्यक्षसहित ४, वडा नं. ५ मा दुई सदस्य, वडा नं. ७ मा वडाध्यक्षसहित ३ सदस्य जितेको छ।

नेमकिपाले वडा नं. ८ मा वडाध्यक्षसहित ४ सदस्य जितेको छ।

प्रकाशित: ४ जेष्ठ २०७९ ०४:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App