नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले पेट्रोलियम पदार्थको मूल्यमा गरिएको ठूलो वृद्धिप्रति आपत्ति जनाउँदै सार्वजनिक यातायातको भाडा तत्काल समायोजन गर्न सरकारसँग माग गरेको छ।
नेपाल आयल निगमले चैत २ गते रातिदेखि लागू हुने गरी डिजेलमा प्रतिलिटर १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्य वृद्धि गरे लगत्तैमहासंघले विज्ञप्ति जारी गर्दै यसप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। महासंघका अनुसार एकैपटक भएको यस्तो मूल्यवृद्धिले यातायात व्यवसायी मात्र होइन, आम उपभोक्तामा पनि प्रत्यक्ष असर परेको छ।
महासंघका महासचिव डकनाथ गौतमले जारी गरेको विज्ञप्तिमा सार्वजनिक यातायात पूर्ण रूपमा इन्धनमा निर्भर रहने भएकाले इन्धनको मूल्य घटबढ हुँदा त्यसको सीधा प्रभाव व्यवसायमा पर्ने उल्लेख गरिएको छ।
यातायात व्यवस्था विभागले स्वचालित प्रणालीमार्फत भाडा समायोजन गर्ने व्यवस्था भए पनि २०७८ फागुन २२ गते यता भाडा समायोजन नभएको भन्दै महासंघले असन्तुष्टि जनाएको छ ।
महासंघले सवारी साधनसँग सम्बन्धित १३ वटा सूचकका आधारमा २०६५ सालमा तय गरिएको वैज्ञानिक विधिअनुसार तत्काल भाडा समायोजन गर्न माग गरेको छ। संघीय रुटका सन्दर्भमा यातायात व्यवस्था विभागबाट र प्रदेशअन्तर्गतका रुटका हकमा सातै प्रदेशका सम्बन्धित मन्त्रालयबाट यथाशीघ्र भाडा समायोजन गरिदिन सरकारको ध्यानाकर्षण गराइएको छ।
यातायात व्यवसायीहरूले नेपाल आयल निगमलाई केवल मूल्य बढाएर मात्र समस्याको समाधान नहुने पनि बताएका छन्। निगमभित्रको आन्तरिक चुहावट नियन्त्रण गर्न, पेट्रोलियम पदार्थको खपत व्यवस्थापन गर्न तथा वैज्ञानिक प्रणाली अपनाएर सहज आपूर्ति व्यवस्था सुनिश्चित गर्न पनि उनीहरूले नेपाल सरकारसँग माग गरेका छन्।
प्रकाशित: २ चैत्र २०८२ १३:५४ सोमबार



