काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले विभिन्न कारणले विगत एक वर्षदेखि रोकिएको एम्बुलेन्स वितरण कार्यक्रम पुनः सुरु गर्ने बताएका छन्।
उनका अनुसार, पहिलो चरणमा असोज ७ गतेदेखि देशभरका ३५ वटा दुर्गम तथा छनोटमा परेका गाउँपालिकाहरूलाई एम्बुलेन्स हस्तान्तरण गरिनेछ।

आइतबार सामाजिक सञ्जालमार्फत यसबारे जानकारी दिँदै प्रमुख शाहले स्वास्थ्य सेवामा सबै नेपालीको समान पहुँच हुनुपर्नेमा जोड दिए।
उनले एम्बुलेन्स वितरणका लागि पारदर्शी मापदण्ड बनाइएको र स्वास्थ्य सुविधाको अभावमा पछि परेका दुर्गम स्थानहरूलाई उच्च प्राथमिकतामा राखिएको बताए।
‘हामी विश्वास गर्छौं स्वास्थ्य सेवा पहुँच सबै नेपालीको आधारभूत अधिकार हो,’ प्रमुख शाहले लेखेका छन्, ‘देशका दुर्गम भूभागमा जीवन बचाउनु हाम्रो कर्तव्य पनि हो।’

प्रमुख शाहले यस अभियान सुरुवात मात्र भएको र भविष्यमा यसलाई थप विस्तार गर्दै लगिने प्रतिबद्धता समेत जनाए। ‘यो मात्र सुरुवात हो, कसैले स्वास्थ्य सेवाको अभावमा जीवन गुमाउन नपरोस् भन्ने हाम्रो लक्ष्य हो,’ उनले भने।
पारदर्शिता सुनिश्चित गर्नका लागि एम्बुलेन्स वितरण गरिने पालिका छनोटको मापदण्ड समेत उनले सार्वजनिक गरेका छन्।

काठमाडौं महानगरपालिकाको नेतृत्वमा रहे पनि प्रमुख शाहले पछिल्लो समय राष्ट्रिय स्तरका मुद्दाहरूमा निरन्तर चासो देखाउँदै आएका छन्। दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य जस्तो संवेदनशील विषयमा महानगरले चालेको यो कदमको सामाजिक सञ्जालमा धेरैले प्रशंसा गरेका छन्।
प्रकाशित: ५ आश्विन २०८२ १८:१८ आइतबार



