उदयपुरका ब्लड क्यान्सर पीडित बालकको उपचारार्थ सामाजिक सञ्जाल फेसबुकमार्फत सहयोग रकम जुट्न थालेको छ। क्यान्सरबाट थलिएर भरतपुर क्यान्सर अस्पतालमा उपचाररत उदयपुर, ताप्ली गाउँपालिका ३ इनामेका १४ वर्षीय बालक सञ्जय तामाङको उपचारार्थ ५ लाख बढी सहयोग जुटेको हो।
दुई महिनायता उपचाररत सञ्जयको घरको आर्थिक अवस्था कमजोर भएका कारण उपचार पाउन नसक्ने भएपछि स्थानीय युवा मिलन लो तामाङले फेसबुकमार्फत सहयोगको याचना गरेका थिए। शिक्षकसमेत रहेका मिलनले सुरु गरेको फेसबुक अभियानमार्फत विभिन्न व्यक्तिबाट प्राप्त सहयोग रकम पीडितका आफन्तलाई बुझाइएको छ।
मिलनले चलाएको ‘सञ्जय तामाङ बचाऔँ’ अभियानमार्फत दुई सातामा सङ्कलन भएको रकम सञ्जयका आमालाई सदरमुकाम गाईघाटमा सोमबार बिहान हस्तान्तरण गरिएको हो। दुई साता अवधिमा सङ्कलन भएको ५ लाख २४ हजार ५ सय ४१ रुपैयाँ रकम ताप्ली गाउँपालिका अध्यक्ष ढुङ्गराज विश्वकर्माले सञ्जयकी आमा दिलकुमारी तामाङलाई हस्तान्तरण गरे।
अभियन्ता लोले आफ्नो आग्रहलाई स्वीकारेर बिरामी सञ्जयको ज्यान बचाउन देश विदेशमा रहेका विभिन्न व्यक्तिहरूले न्यूनतम ५ सयदेखि अधिकतम २० हजारसम्म सहयोग गरेको बताए। आफ्नो गाँस काटेर सञ्जयको ज्यान बचाउन सहयोग गर्ने सबै सुन्दर हृदयहरूप्रति धन्यवाद दिँदै अभियन्ता लोले थप सहयोगीको अपेक्षा गरिरहेको बताए। सहयोग अभियान चलाएर रकम जुटाई हस्तान्तरण गर्न पाउँदा आत्मसन्तुष्टि प्राप्त भएको बताउँदै लोले अभियान जारी राख्ने बताए।
लोले बिरामी सञ्जयको शिघ्र स्वास्थ्य लाभको कामना पनि गर्दै सकेको सहयोगको अपिल गरेका छन्।
सञ्जयका बाबु रत्नबहादुरका अनुसार उपचार खर्च र समय धेरै लाग्ने डाक्टरले बताएका छन्। भरतपुरमा उपचार गर्नु पर्दा आउजाउ गर्न बस्न, खान र औषधि किन्ने खर्च धान्न नसकेपछि मिलनले सहयोगको याचना गरेका थिए। ‘बिरामी छोराको चेकजाँच र उपचारमा विभिन्न अस्पताल र स्वास्थ्य संस्था चहार्दै हिँड्नु पर्दा भएभरको सम्पत्ति सकियो,’ बावु रत्नले भने, ‘अझै कति खर्च लाग्ने हो ठेगान छैन, खर्च धान्नै नसकेपछि गाउँका भाइ मिलनले फेसबुकमार्फत सहयोग माग्न थालेको र अहिले केही सहयोग प्राप्त भएको छ।’
यसरी नै सहयोग जुट्दै गएमा छोराको ज्यान बचाउन सक्छ भन्ने आसा पलाएको पनि उनले बताए। ताप्ली ३ को मावि झिल्के पोखरीमा कक्षा ७ मा पढ्दै गरेका सञ्जय एक्कासी बिरामी भएपछि पढाइ छाड्न बाध्य भएका छन्। आर्थिक अवस्था दयनीय भएका तामाङ परिवारले गरिबीकै कारण छोराको उपचार गराउन सहयोग माग्नु परेको स्थानीय बताउँछन्।
प्रकाशित: ३० असार २०८२ १३:५२ सोमबार



