समाज

कृष्णभीरमा भदौसम्म ट्र्याक खोलेर सवारी चलाइने, दीर्घकालीन रूपमा सुरुङमार्गको योजना

पृथ्वी राजमार्गको अवरोध हटाएर राजधानीको लाइफलाइन जोड्न धादिङको कृष्णभीरमा चालु भदौ महिनाभित्रै नयाँ ट्र्याक निर्माण गरी सवारीसाधन सञ्चालनमा ल्याइने भएको छ।

बारम्बार दोहोरिने पहिरोको समस्या समाधान गर्न सरकारले तत्काल अस्थायी ट्र्याक खोल्नेसँगै दीर्घकालीन रूपमा सुरुङमार्ग वा बाइपास सडक निर्माण गर्नेसम्मको रणनीतिक योजना अघि सारेको छ।

पूर्वाधार विकास मन्त्रालयको मंगलबार बसेको बैठकले विपद् प्रभावित क्षेत्र र राजधानीसँगको आपूर्ति शृङ्खला पुनःस्थापना गर्न कृष्णभीरको पहाडतर्फ ग्याबियन ब्रेस्ट वालमाथिबाट नयाँ ट्र्याक बनाउने निर्णय गरेको छ।

बाटो खोल्ने कार्यसँगै तल्लो भागलाई सुरक्षित राख्न हिलसाइडबाट ‘सेक्रिफिसियल ग्याबियन बक्स’ तथा ठूला ढुङ्गा तल खसाल्ने कामसमेत सँगसँगै गरिने मन्त्रालयले जनाएको छ।

यसैगरी, कृष्णभीर पहिरोको स्थायी र भरपर्दो समाधानका लागि सडक विभागले टनेल, सोइल नेलिङ र सिट पाइललगायतका विकल्पहरूबारे प्राविधिक अध्ययन अघि बढाउने भएको छ।

मन्त्रालयले कृष्णभीरको विकल्पमा सुरुङ वा बाइपास सडक निर्माणका सम्भावित विकल्पहरूको तत्काल अध्ययन गरी चालु आर्थिक वर्षको अन्त्यसम्ममा वैकल्पिक सडक व्यवस्था गर्ने योजना तय गरेको छ।

यी सम्पूर्ण इन्जिनियरिङ विकल्पहरूको अध्ययन तथा डिजाइनका लागि नेपाल जियोटेक्निकल सोसाइटीले आवश्यक विज्ञ सेवा उपलब्ध गराउनेछ।

यस कार्यलाई प्रभावकारी बनाउन सडक विभाग र नेपाल जियोटेक्निकल सोसाइटीबीच आवश्यकताअनुसार औपचारिक समझदारीपत्र (एमओयू) गरेर प्राविधिक कार्य अघि बढाइने मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: १६ भाद्र २०८३ २०:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App