नेपालका ८५ प्रतिशत अविभावकले आफ्ना छोरा–छोरीसंग अनलाइन यौन दुव्र्यवहार बारेमा छलफल नगर्ने गरेको एक अध्ययन सर्वेक्षणले औल्याएको छ ।
हालै चाइल्ड सेफनेटले गरेको अध्ययन प्रतिवेदनले यो तथ्यांक सार्वजनिक गरेको हो । संस्थाले हालै ‘नेपालमा अनलाइन यौन शोषण र दुव्र्यहावरबाट बालबालिकाको सुरक्षाको लागि अविभावकको भूमिका’ विषयक अध्ययन सर्वेक्षण गरेको थियो ।
राष्ट्रिय बालअधिकार परिषद्की सदस्य–सचिव इन्द्रादेवी ढकाल र चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीले सार्वजनिक गरेको अध्ययनमा ६ देखि १७ वर्ष भित्रका ९ सय बालबालिकामा सर्वेक्षण गरिएको थियो । काठमाडौ र ललिपतपुरका बालबालिकामा मिश्रित विधि प्रयोग गरी अविभावकसँग छलफल गर्ने र निर्धारित फोकस समुहसँग छलफल गर्ने अविभावक बालबालिका, विज्ञहरुसँग अन्तरवार्ता गरी उक्त नतिजा प्राप्त गरेको हो ।
चाइल्डसेफनेटका संस्थापक तथा अध्यक्ष अनिल रघुवंशीका अनुसार अभिभावकहरुमा अनलाइन जोखिमबारे चिन्ता त देखिन्छ तर धेरैले त्यस्ता जोखिमबाट बालबालिकालाई जोगाउन आवश्यक ज्ञान, जानकारी र सहयोगको अभाव महसुस गरेका छन्।
प्रतिवेदनका सह–लेखिका तुलसा खड्काका अनुसार धेरैजसो बालबालिकाले आफ्नै मोबाइल नभए पनि परिवारका सदस्यहरूको मोबाइलबाट इन्टरनेट चलाउने गरेको पाइएको छ ।
ती मध्येमा धेरैले अविभावकको निगरानी विना डिजिटल प्लेटफर्म प्रयोग गर्छन् । ४५ प्रतिशत बालबालिकाले आफ्नै उपकरण प्रयोग गर्ने गरेका छन् भने ३४ प्रतिशत बालबालिकाले आफ्नै सामाजिक सञ्जाल खाता चलाउने गरेको पाइएको छ । २९ प्रतिशत बालबालिकाले परिवारका सदस्यहरुका खाता चलाउने गरेका छन् । जसमा धेरैजसो बालबालिकाले आमाको खाता प्रयोग गर्ने गरेका छन् ।
प्रतिवेदन अनुसार धेरै अविभावकहरु आफ्ना बालवालिकाको अनलाइन क्रियाकलाप बारे जानकार छैनन् । जसले गर्दा ती बालबालिका वयष्क सामग्री र अनलाइन गु्रमिङको जोखिममा परेका थिए । त्यसैगरी अनलाइन ग्रुमिङ, अनलाइन बाल यौन शोषण र हिंसात्मक वा यौनजन्य सामग्रीबारे जानकारी पाउने थोरै मात्र अविभावक पाइएका छन् ।
अनुसन्धान प्रतिवेदनकै सहलेखक सुलभ रत्न बज्राचार्यले भने, “नेपालका ८५ प्रतिशत अभिभावकहरूले अनलाइन दुव्र्यवहार सम्बन्धी आफ्ना बच्चासँग कुराकानी गरेका छैनन’ । यसको पछि असहजता, जानकारीको अभाव, उमेर अनुकुल नभएको धारणा कारण रहेका छन् । त्यसैगरि लैंगिक अल्पसंख्यक क्वेयर बालबालिकाले आफ्नै परिवारभित्रबाट समेत घृणा, भेदभाव र दुव्र्यवहार सहनुपर्ने स्थिति रहेको प्रतिवेदनले औल्याएको छ ।
अनुसन्धानले डिजिटल सुरक्षा सम्बन्धी शिक्षा तथा प्राविधिक समाधानका उपायको बारेमा सुझाएको छ । प्रतिवेदन अनुसार ७३ प्रतिशत अभिभावकहरूले अहिलेसम्म कुनै पनि अभिभावकीय संयन्त्रको उपाय प्रयोग नगरेको पाइएको छ । त्यसैले ७० प्रतिशत अभिभावकले बाल साइबर सुरक्षा सञ्चालन गरिने प्रत्यक्ष सचेतनामूलक कार्यक्रम सञ्चालन हुनु पर्ने धारणा राखेका छन् ।
३१ प्रतिशतले भिडियो, एप्स, अनलाइन कोर्स, वेबसाइट वा पम्प्लेट र पुस्तिकाजस्ता मुद्रित सामग्री प्रभावकारी हुने सुझाएका थिए ।
कार्यक्रममा अभिभावकीय शिक्षा प्रशिक्षक डिसु भण्डारी मानन्धर र बाल शल्य चिकित्सक डा। नृपेश राजभण्डीरीले बालबालिकालाई अनलाइन यौन शोषण र दुव्र्यवहारबाट सुरक्षित राख्न अभिभावकहरुको भूमिकाबारे रोचक र उत्प्रेरक फायरसाईड च्याट संवाद गरेका थिए । यो अध्ययनको प्रमुख अनुसन्धानकर्ता अनिल रघुबंशीले यो अध्ययनले अनलाइन यौन शोषधणजन्य दुव्र्यवहारवाट सुरक्षित राख्ने व्यवहारिक जानकारी दिएको बताए ।
अनुसन्धान प्रतिवेदन सार्वजनिककी अतिथी इन्द्रादेवी ढकालले बढ्दो प्रविधीको पहुँचले बालिबालिकालाई अनलाइन हिंसाको जोखिममा पारेको बताइन । ‘यो अध्ययन प्रतिवेदनले उचित मार्ग दिएको छ , थप चेतनामुलक कार्यक्रम आवश्यक छ’ उनले भनिन। चाइल्डसेफनेट बालबालिका र युवाहरुलाई अनलाइन जोखिमबाट सुरक्षित राख्न र डिजिटल सुरक्षाको प्रवद्र्धन गर्ने उद्देश्यले अनुसन्धान, पैरवी तथा शिक्षामार्फत काम गरिरहेको एक विशिष्टीकृत संस्था हो ।
अलनाइन यौन दुर्व्यवहारबाट बालबालिकालाई बचाउने उपायहरु
–बालबालिकाले प्रयोग गर्ने सूचीवारे अविभावकले जानकारी राख्ने
– अनलाइन प्रयोग गर्ने समयअवधि आफु र बालबालिकाई तोक्ने र पालना गर्ने
– धेरै बेर मोवाइल दिनुको सट्टा अविभावकले बच्चासंग समय बिताउने
– अनलाइनबाट भोगेको कुराहरुको घटना बारे जानकारी दिने
– बालबालिकासंग अविभावकले साथीको व्यवहार गर्ने
– गाली गर्नुको सट्टा अलनाइनको हानीको बारेमा जानकारी दिने
–अनलाइनको सट्टा भौतिक क्रियाकलापमा समावेश गर्ने
– कुन साइट प्रयोग गर्ने भन्ने बारेमा आपसी निर्णय गरी सीमितता तोक्ने
प्रकाशित: १६ असार २०८२ १७:०८ सोमबार



