काठमाडौं उपत्यका मेयर्स फोरमले स्थानीय सरकारले भोगिरहेका समस्या, कानुनी अड्चन लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्ने भएको छ।
भक्तपुरको मध्यपुर ठिमी नगरपालिकाको व्यवस्थापनमा भएको फोरमको आठौँ बैठकमा उक्त विषयमा छलफल भएको हो।
फोरम काठमाडौं उपत्यकाभित्र रहेका १८ वटा नगरपालिकाको संजाल हो। फोरममा काठमाडौं महानगर र ललितपुर महानगरगरी दुई महानगर छन्।
बैठकमा स्थानीय संचालन ऐन संशोधनको विषय, स्थानीय तहको विद्युत महसुल बक्यौताका बारेमा छलफल भएको फोरमका प्रमुखले जानकारी दिए।
उनले भने ‘संविधानले स्थानीय तहलाई अधिकार सम्पन्न बनाए पनि, कतिपय कानुनी अड्चनका कारण काम गर्न गाह्रो भएको छ, यो विषयमा प्रधानमन्त्रीज्यूसँग भेटेर कुरा गर्छौं।’
फोरमले केही दिन अघि अर्थमन्त्री वर्षमान पुनलाई भेटेर चालु आर्थिक वर्षसम्मको बक्यौता विद्युत महसुस राफसाफ गर्न अनुरोध गरेको थियो।
अर्थमन्त्रीसँगको भेटघाटमा फोरमले आगामी आर्थिक वर्षदेखि ६०/४० को अवधारणा अनुसार अघि बढ्ने बताएको थियो। उक्त भेटमा अर्थमन्त्रीले यो विषयप्रति आफू गम्भीर र सकारात्मक रहेको बताएका थिए।
फोरमका अध्यक्ष चिरीबाबु महर्जनले आगामी आर्थिक वर्षका लागि बजेट निर्माणको प्रक्रिया सुरु भइसकेको अवस्थामा विद्युत बक्यौता राफसाफको विषय सकारात्मक ढंगबाट अघि बढ्ने बताए।
उनले भने, ‘अर्थमन्त्रीज्यू सकारात्मक हुनुहुन्छ, अब प्रधानमन्त्रीज्यूलाई भेटेपछि टुंगोमा पुग्छ , विद्युत महसुल राफसाफको विषय सकारात्मक ढंगबाट टुंंगोमा पुग्छ।’
मध्यपुर थिमि नगरपालिकाका सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले बैठकमा सहभागीलाई स्वागत गरेका थिए।
प्रकाशित: २९ वैशाख २०८१ १५:४२ शनिबार



