सप्तरीमा राजविराज मात्र आधिकारिक नाका हो तर बेल्ही, पातो, सोभरनपट्टी, छिन्नमस्ताको सडक मुख्य भन्सारभन्दा व्यस्त छन्। खुला सीमा व्यवस्थित गर्न र अवैध ओसारपसार रोक्न नाकाहरुमा सशस्त्र र प्रहरीका पोस्ट सक्रिय छन्, तर भन्सार कार्यालयमा राजस्व तिर्नेको तुलनामा छलेर कारोबार गर्नेको संख्या अधिक छ।
सुरक्षा निकायले एउटामा कडाइ गर्दा तस्करीमा संग्लनहरू अर्को नाका प्रयोग गर्छन्। नाका फेर्दै हुने तस्करी दैनिक उपभोग्य सामानमा सीमित छैन, तेस्रो मुलुकको स्याउ, मरिच, सुपारी, लसुन, सुन र प्रतिबन्धित लागूऔषधदेखि मदिरा पनि उत्तिकै छ। मधेस प्रदेशको सप्तरी जिल्ला बेल्ही नाकाबाट हुने तस्करीको दृश्यले सुरक्षा संलग्नतालाई पुष्टि गरेको पाइयो।
राजविराज भन्सार कार्यालयका सूचना अधिकारी अजयप्रकाश भगतले भने, ‘यो नाका क्षेत्रमा ठूला माफियाको चलखेलका कारण खतरा छ। पारिबाट हतियारधारीको सघन आउजाउका कारण हाम्रा लागि पनि त्यहाँको अवैध ओसारपसार नियन्त्रण जोखिमपूर्ण छ’ उनले भने, ‘यो ठाउँ खतरनाक छ।’
‘बल्हीबाट भन्सार पार गरेर व्यावसायिक प्रयोजनका सामान आउने कुरै भएन’, भगत भन्छन्, ‘हामीसँग यस नाकाबाट तस्करीको सूचना त आउँछ, तर हामी जाँदाजाँदै सामान सुरक्षित ठाउँसम्म पुगिसकेको हुन्छ। हाम्रो बुताले यो ठाउँमा नियन्त्रण सम्भव छैन। यो नाकामा हामी निहत्था जानु भनेको ज्यान जोखिममा पार्नु मात्र हो। बहुत खतरनाक नाका हो यो।’ भगतले यहाँ ठूलै माफियाहरुको चलखेलका कारण खतरा रहेको बताए।

बलान बिहुल गाउँपालिकामा पर्ने बेल्ही अवैध निकासी÷पैठारीको (तस्करी) चलनचल्तीका नाका भइसकेको छ। अवैध कारोबार रोक्न भनेर यहाँ प्रहरीको पोस्ट् र इन्स्पेक्टरको कमान्डमा सशस्त्र प्रहरीको बोर्डर आउटपोस्ट छ। कार्यालय सहयोगीको भरमा यहाँ छोटी भन्सार सञ्चालन गरिएको छ।
सिरहामा तस्करी व्यापक भएको सार्वजनिक भएपछि सुरक्षा अधिकारी बदलिए। नयाँ सुरक्षा प्रमुख आएपछि यहाँ तस्करीको लाइन रोकिएको छ। सिरहाको बाटो रोकिएपछि कारोबारी अर्को बाटो अर्थात् सप्तरीको बेल्ही केन्द्रित भएका छन्। भारतको लौकाहा हुँदै तस्करीका सामान बेल्ही नाका पुग्छ। लौकाहामा भारतीय सशस्त्र सीमा बल (एसएसबी) तैनाथ छ। तस्करीमा संलग्नहरूले एसएसबीलाई छल्दै अघिल्तिरको बाटो भएर मालसामान बेल्ही पु¥याउँछन्।
लाइन नमिलेपछि सबैका आँखा पुग्ने र पक्राउ पर्ने जोखिमका कारण तस्करहरूले बेलाबेलामा बाटो फेर्ने गरेको लौकाहाका एक व्यपारीले बताए। अहिले सिरहाबाट लाइन दिएको छैन। त्यही भएर सप्तरीको बेल्हीबाट कारोबार व्यापक भएको ती व्यपारीले बताए। बेल्हीका स्थानीय बासिन्दाका अनुसार अहिले सुपारी, लसुन, मरिच, मदिरा, ग्यास लाइटर, स्याउ, कस्मेटिक्स सामान पारि जान्छ। पारिबाट धान, चामल, प्याज, फलफूल, तरकारी, हार्डवेयर, मोटर पार्टस्, गुट्खा, सुर्ती, चिनी भित्रिइरहेको स्थानीयले बताए।
यस नाकाबाट तस्करीका लागि वारिपारिका तस्करको संगठित सञ्जाल छ। एक स्थानीयले भने, ‘डर भनेको सुरक्षाकर्मीसँग हुन्छ त्यो नै मिलिसकेपछि कसको डर ? यहाँ डर भनेको हामीलाई छ।’ राज्यलाई गिज्याइरहेको तस्करी धन्दा हेर्न पनि नसकिने र बोल्न पनि नसकिने उनले बताए। उनले भने, ‘मुख खोल्न हामीले ज्यानकै जोखिम मोल्नुपर्छ। बागी बने तस्कर र सुरक्षाकर्मी दुवैतिरबाट जोखिममा पर्छौं।’
‘यो नाका सुनसान र बगैंचा भएकाले तस्करका लागि स्वर्ग छ। वारिपारिका मालसामान त्यही बगैंचामा अल्टीपल्टी (लोडअनलोड) हुन्छ’, एक स्थानीयले भने, ‘हामीले देखेर पनि नदेखेजस्तो गर्नुपर्छ।’
अवैध कारोबार नियन्त्रणका लागि सीमामा सशस्त्र र प्रहरी तैनाथ छन्, तर दुवै निकाय आफ्नै कार्यालय अगाडिबाट दैनिक लाखौं मूल्यका अवैध सामान भित्रिँदा पनि मौन बस्ने गरेको आरोप लाग्ने गरेको छ।’
अहिले बेल्ही नाका मधेस प्रदेशकै तस्करीको मुख्य मार्ग बनेको छ। प्रहरीले आर्थिक लाभ लिएर चोरीपैठारी खुकुलो गरेकाले तस्करी मौलाएको बेल्हीको पान दुकानमा भेटिएका रामशरण यादवले बताए। प्रहरीले ‘लाइन’ लिएपछि तस्करले बोरा र पोकामा कुन सामान ओसारपसार गर्दै छ भने पनि मतलब राख्दैन। माथिको दबाब आएपछि कहिलेकाहीं देखाउनका लागि सामान जफत गर्ने गरेको उनको भनाइ छ।
मधेस प्रदेशका प्रहरी प्रमुख डिआइजी यज्ञविनोद पोखरेलले मिलेमतोमा तस्करी नभएको दाबी गर्दै तस्करीको सामान बोकेको गाडीको नम्बर दिए समात्छौं भने।
मधेस प्रदेशका सशस्त्र प्रहरी प्रमुख डिआइजी दीपेन्द्र साहले केही तस्करले लाइन खोल्न दबाब बढाएको स्वीकार्दै त्यसलाई सप्तरीका गणपतिले अस्वीकार गरेको दाबी गरे। उनले मिलेमतोमा तस्करीलाई अस्वीकार गरे।
बेल्हीस्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्टका प्रमुख इन्स्पेक्टर महेश कार्कीले यस नाकाबाट भन्सार नकाटी कुनै पनि सामान ओसारपसार नहुने दाबी गरे। त्यसो भए पारिबाट धान र प्याज कसरी आउँछ त ? उनले भन्सार काटेर आउने गरेको जिकिर गरे।
जबकि सप्तरीमा खाद्य क्वारेन्टिन छैन। खाद्य क्वारेन्टिन नभएकाले यहाँबाट धान, चामल, प्याज, आलु, फलफूल, केही पनि वैध रुपमा ल्याउन पाइँदैन। सूचना अधिकारी भगतले भने, ‘क्वारेन्टिनविना भन्सार काट्नै मिल्दैन। भन्सार राजस्व नकाटी भित्रिएका सामान अवैध ठहरिन्छ।’
भन्सार कार्यालयका सूचना अधिकारीको भनाइबाट सशस्त्र प्रहरी इन्स्पेक्टर कार्कीको जिकिर पुष्टि हुँदैन।
बेल्ही नाकामा तस्करको खिलाप सुरक्षा कारबाही नभएको पनि होइन। २०७९ भदौ ७ गते सप्तरीको बलान बिहुल गाउँपालिका– ४ बेल्हीमा भारतबाट तस्करी गरी ल्याएको कपडा प्रहरीले नियन्त्रणमा लिन खोज्दा सशस्त्र प्रहरी र तस्कर समूहबीच झडप भएको थियो।
सो क्रममा प्रहरीले तीन राउन्ड हवाई फायर गरेको थियो भने तस्करले प्रहार गरेको ढुंगा लागेर तीन प्रहरी घाइते भएका थिए। भारतबाट सामान तस्करी गरेर स्थानीय घुरन साहको घरमा राखिएको सूचना पाएपछि तस्करी गरी ल्याइएको सामान प्रहरीले नियन्त्रणमा लिन खोज्दा प्रहरी र तस्कर समूहबीच झडप भएको थियो।
त्यसैगरी २०८० जेठ ३ गते बलान बिहुल– ४ बेल्हीस्थित सन्तोष यादवको घरमा सटरभित्र भन्सार छली भारततर्फ पठाउन तयारी अवस्थामा स्याउ राखिएको भन्ने गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले तीन सय ८५ कार्टुन स्याउ बरामद गरेको थियो।
सो स्याउ १५ लाख ४० हजार रुपैयाँ बराबरको थियो। बरामद गरिएका स्याउ आवश्यक कारबाहीका लागि प्रहरीले राजविराज भन्सार कार्यालय पठाएको थियो। यस नाकामा नेपालबाट बालुवा तथा गिटी तस्करी गरी भारततर्फ निकासी आम भइसकेकोे स्थानीयवासीले बताउँछन्।
प्रकाशित: २५ फाल्गुन २०८० १२:५१ शुक्रबार



