नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जेन-जी आन्दोलनका क्रममा भदौ २३ गते नवयुवाहरूको मृत्यु भएको घटना अत्यन्त दुर्भाग्यपूर्ण रहेको बताएका छन्।
आइतबार भृकुटीमण्डपमा आयोजित कांग्रेसको विशेष महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महामन्त्री शर्माले भौतिक संरचनाभन्दा मानवीय जीवन ठूलो हुने बताएका हुन्।
‘जेन-जी हाम्रै आँगनमा, हाम्रै काखमा हुर्के बढेका भाइबहिनी हुन्,’ शर्माले भने, ‘२३ गते केवल संसद् भवन तोडिन दिएको भए के फरक पर्थ्यो होला र ? कम्तीमा त्यतिका ज्यान जाने थिएन होला। भोलिपल्टको त्यो विध्वंश हुँदैनथ्यो होला।’
उनले भदौ २३ र २४ को घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग समेत गरे। आन्दोलनमा जेन-जीको संलग्नता जहाँसम्म थियो, त्यहीँसम्म मात्र उनीहरूलाई जिम्मेवार ठहर्याउनुपर्ने उनको भनाइ थियो। ‘आफू सहभागी नभएको घटनामा जेन-जी पुस्तालाई दोषारोपण गरिनु हुँदैन,’ उनले भने।
महामन्त्री शर्माले यो विशेष महाधिवेशनले पार्टी फुटाउने नभई जोड्ने काम गर्ने दाबी गरे। उनले महाधिवेशनमा देखिएको जनसागरले सिंगो कांग्रेसको नेतृत्व गर्ने हैसियत राख्ने बताए।
‘यो भीड कांग्रेस फुटाउन जम्मा भएको होइन, हामी सिंगो कांग्रेसको नेतृत्व गर्छौँ,’ शर्माले प्रतिबद्धता जनाउँदै भने, ‘यो हलले आवेगमा होइन, विवेकले निर्णय लिनेछ। हामी कांग्रेस बदल्ने निर्णय गर्नेछौँ।’
प्रकाशित: २७ पुस २०८२ १८:३६ आइतबार



