राजनीति

सडक-पुल जोड्न यस्तो छ सरकारको पूर्वाधार खाका

भोटेकोशी नदीको बाढीले ३१ वटा पक्की र ४८ वटा झोलुङ्गे पुल बगाएपछि सरकारले प्रभावित क्षेत्रमा सडक सञ्जाल पुनः जोड्न बेलीब्रिज निर्माणको कार्यलाई युद्धस्तरमा अगाडि बढाएको जनाएको छ।

प्रधानमन्त्री बालेन शाहका अनुसार गल्छी-बेत्रावती-रसुवागढी सडक र पृथ्वी राजमार्गको अवरोध हटाउन आपत्कालीन पूर्वाधार योजना कार्यान्वयनमा ल्याइएको छ।

बाढीका कारण क्षतिग्रस्त ४८ वटा झोलुङ्गे पुलमध्ये २० वटा मर्मत गर्न सकिने र २८ वटा पूर्ण रूपमा नयाँ निर्माण गर्नुपर्ने अवस्था छ।

आवागमनलाई तत्काल सुचारु गर्न सरकारसँग मौजुदा रहेका ४८ मिटरका ६ वटा र ७० मिटरको १ थान बेलीब्रिज परिचालन गरिएको छ। जसअन्तर्गत तादी देवीघाट र बेत्रावतीमा बेलीब्रिज राख्ने काम सुरु भइसकेको छ भने प्रभावित क्षेत्रका अन्य २० स्थानमा बेलीब्रिज जडानका लागि सम्भाव्यता अध्ययन भइरहेको प्रधानमन्त्रीले जानकारी दिए।

पुल निर्माणलाई तीव्रता दिन छिमेकी मुलुकहरूबाट समेत प्राविधिक सहायता परिचालन गरिएको छ। भारतबाट २३० फिट लम्बाइको सिंगल लेन मोडुलर स्टिल ब्रिज प्राप्त भइसकेको छ भने भारतले थप ७ वटा बेलीब्रिज पठाउने प्रतिबद्धता जनाएको छ।

यसैगरी, उत्तरी लाइफलाइन र सीमा नाका जोड्न नेपाल सरकारले चीनसँग थप ३० वटा बेलीब्रिज सहयोग गर्न अनुरोध गरेको छ।

सडक पूर्वाधारतर्फ गल्छी-बेत्रावती-रसुवागढी सडकको ८२ किलोमिटरमध्ये विदुर-बेत्रावती-मैलुङ-स्याफ्रुबेँसी-रसुवागढी खण्डको ४० किलोमिटर पूर्ण र १६ किलोमिटर आंशिक क्षतिग्रस्त भएको छ।

हाल ५० जना प्राविधिक कर्मचारी फिल्डमा खटिएका छन् भने सडक बोर्डमार्फत आपत्कालीन ३ करोड २५ लाख रुपैयाँ विनियोजन गरिएको छ।

प्रधानमन्त्री शाहका अनुसार बाढीले क्षतविक्षत पारेको काठमाडाैं-मुग्लिन सडकअन्तर्गतको कृष्णभीर खण्ड चालु भदौं महिनाभित्रै मर्मत सम्पन्न गरी यातायात सञ्चालनमा ल्याइनेछ।

पृथ्वी राजमार्गका गल्छी, बैरेनी, जरीखेत, पोखरे, मुङ्गे र गलौदी खण्डमा भने लेदो पन्छाएर यातायात सुचारु भइसकेको छ।

प्रकाशित: १६ भाद्र २०८३ २०:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App