राजनीति

एनपिएल रोक्न निर्देशन भएका बेला प्रधानमन्त्रीले भने– एनपिएल हाम्रो गौरव हो, भव्य तयारी गर्नुस्

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग(एनपिएल)को भव्य तयारी गर्न आग्रह गरेका छन्। बिहीबार साँझ फेसबुकमा एक फोटो पोस्ट गर्दै प्रधानमन्त्री ओलीले यस्तो आग्रह गरेका हुन्।  

‘एनपिएल हाम्रो गौरव हो, भव्य तयारी गर्नुस्,’ प्रधानमन्त्री ओलीले फोटोमा लेखेका छन्।  

प्रधानमन्त्री ओलीले यसो भनिरहँदा राष्ट्रिय खेलकुद परिषद्को कार्यदलले भने एनपिएलको तयारी रोक्न पत्राचार गरेको छ। युवा तथा खेलकुद मन्त्रालयबाट एनपिएलको पहिलो संस्करण आयोजनाका सम्बन्धमा छानबिन गर्न राखेपकाे कार्यदल गठन भएकाे थियाे। जसले नेपाल क्रिकेट संघ (क्यान) लाई छानबिन नसकिएसम्म एनपिएलकाे तयारी राेक्न निर्देशन दिएकाे थियाे। 

यसअघि प्रधानमन्त्री ओली बिहीबारै सातदोबाटो एन्फा कम्प्लेक्समा स्पोर्टस् साइन्स ल्याबको उद्घाटन गर्दै पनि यही कुरा बताएका थिए।  ‘एनपिएलको भब्य तयारी गर्नुस् । एनपीएल भनेको हाम्रो राष्ट्रिय गौरव हो । यसलाई राष्ट्रिय स्तरमा बढाउनुपर्छ,’ उक्त कार्यक्रममा प्रधानमन्त्री ओलीले भनेका थिए, ‘जसरी क्रिकेटको क्रेज बढेको छ देशमा, त्यसरी नै एनपीएललाई अगाडि लैजानुपर्छ । यसको आयोजना गर्नुस् । यो खेलिनुपर्छ।’

प्रकाशित: २६ असार २०८२ १९:०५ बिहीबार

#KP Sharma Oli #Nepal Premier League