पछिल्ला तीन दशकमा नेपाली राजनीतिको प्रमुख मध्येको एक शक्ति बनेको ‘माओवाद ब्रान्ड’ जेन–जी आन्दोलनपछिको राजनीतिले छायामा पारेको छ। स्वयं माओवादी शक्तिहरूले नै माओवाद ब्रान्डलाई तिलाञ्जली दिएको देखिएको छ।
१० वर्षे सशस्त्र द्वन्द्व(जसलाई उक्त शक्तिले जनयुद्ध भन्छ), युद्ध कालका हज्जारौं मृतक, घाइते तथा अपांग, बेपत्ता परिवार, हिंसा पीडितको भावनात्मक विरासतलाई चटक्क छाडेका त्यसका नेताहरू आफ्नो राजनीति कसरी जोगाउने भन्नेमा लिप्त देखिएका छन्। पछिल्लो समय माओवादी विरासतको मूल शक्ति रहेको नेकपा माओवादी केन्द्र र त्यसका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेकपा एकीकृत समाजवादीलगायतका १० वाम दलसँग मिलेर आफ्नो नामबाटै पुनः एक पटक ‘माओवाद ब्रान्ड’ झिकेर आफ्नो राजनीति जोगाउन हिँडेका छन्।
सुरुमा २०५२ देखि संसदीय व्यवस्थाविरुद्ध युद्ध सुरु गरेको माओवादी १० वर्षपछि २०६३ सालमा तत्कालीन सात दलसँग मिलेर त्यही धारमा समाहित भएको थियो। सोही कारण माओवादी चिरैचिरामा विभक्त भयो। त्यही बेलादेखि मोेहन वैद्य, नेत्रविक्रम चन्दलगायतका नेताहरूले प्रचण्डमाथि आफू बलियो हुन सिद्धान्तको बली चढाएको आरोप लगाउँदै आएका छन्। त्यसको १० वर्षपछि २०७४मा नेकपा एमालेसँग एकता गर्दा प्रचण्डले पहिलो पटक दलको नामबाट माओवाद ब्रान्ड झिकेका थिए। जुन २०७८ दल विभाजनसँगै फेरि पुरानै नाममा फर्काए।
अहिले जेन–जी आन्दोलनपछि आफ्नो औचित्यमाथि नै संगीन प्रश्न उठिरहेका बेला उनले फेरि माओवाद ब्रान्ड छाडेका छन्। जसले माओवादीले गरेको सशस्त्र संघर्षको उद्गमस्थल रोल्पा÷रुकुममा अग्र मोर्चा सम्हालेका कार्यकर्ताको मन दुखेको छ।
अहिले माओवादी कार्यकर्ताले नै आरोप लगाइरहेका छन्–माओवादी क्रान्तिकारी नेताका जीवनशैली फेरिएपछि माओवाद किन चाहियो? शान्ति सम्झौतापछि राजधानी छिरेर सत्ता÷शक्तिको भोक मेटाउँदै गर्दा हिजो माओवादीको क्रान्ति’ ओझेल परिरहेको यहाँ टिप्पणी भइरहेको छ।
दशकौँसम्म सङ्क्रमणकालीन न्याय अलपत्र पारेर उल्टै माओवादी नाम नै मेटेर हिँडेकामा यहाँका पूर्वलडाकु, घाइते, अपांग, मृतक/बेपत्ता परिवार, हिंसा पीडितको चित्त बुझेको छैन। नेताहरूले यति सजिलै माओवाद बिर्सिएकामा पनि उनीहरू अचम्मित छन्।
‘पहिले मेरा श्रीमान् शहीद भएकामा गर्व लाग्थ्यो,’ माओवादी संघर्षमा मारिएका एक लडाकुकी पत्नी भन्छिन्, ‘तर अब त्यो भुल थियो कि भन्ने लाग्न थालेको छ।’ अहिले माओवादीले आफ्नै नाम फेरेकामा उनले ‘नेताले पद र प्रतिष्ठासँग रगतको मूल्य साँटेका’ रूपमा बुझेकी छन्।
प्रचण्ड नेतृत्वको पार्टीले मात्र नाम फेरेको छैन। पछिल्लो पटक भूमिगत भएका नेत्रविक्रम चन्द ‘विप्लव’सँग पनि अहिले माओवाद नाम छैन। उनले त दशकअघि नै रोल्पाको थबाङमा अधिवेशन गरेर ‘माओवाद’ शब्द उतै छाडेर हिँडेका थिए। बरु वयोवृद्ध नेता मोहन वैद्यले भने नेकपा क्रान्तिकारी माओवादी भनेर सानै समूहमा भए पनि माओवाद जीवित राखेका छन्।
प्रचण्डले माओवाद ब्रान्ड छाडेकामा साधारण कार्यकर्ता मात्रै होइन, पार्टीको मूलधारमै रहेका नेताको पनि मन दुखेको छ। खुलेर विरोध भने गर्न सकेका छैनन्। ‘विभिन्न पार्टी मिलेर ठुलो दल त बन्यौँ होला, बनिएला पनि,’ एक केन्द्रीय सदस्य भन्छन्, ‘तर माओवाद नै मेटाउँदा मन चाहिँ दुखेकै छ।’ अहिले आफ्नो पहिचान नै मेटेजस्तो लागेको उनी बताउँछन्।
उता प्रचण्डसँगै नेपाली कम्युनिस्ट पार्टीमा गएका वर्षमान पुन भने नाम नहुँदैमा माओवादी परिचय नहराउने दाबी गर्छन्। ‘विप्लवजीको पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी मात्र छ। तर जनताले उहाँलाई माओवादी भनेरै चिन्छ। बाबुरामजीलाई जसले पनि माओवादी नै भन्छ,’ उनी आफ्नो दलिल राख्छन्, ‘त्यसैले हाम्रो पार्टीको नाम जेसुकै भए पनि माओवादी आन्दोलनको विरासत हामीबाट अलग हुन्न।’
माओवादी पनि २००६ सालमा गठन भएको नेपाल कम्युनिस्ट पार्टीकै ओरिजिनबाट बनेको पार्टी भएकाले कम्युनिस्ट पार्टीकै नाम राख्दा त्यो समेटिने उनको दाबी छ।
‘माओवाद छाड्दा मन दुखेन?’ भन्ने प्रश्नमा वर्षमानले भने,‘विचारको रूपमा हिजो जनयुद्ध गर्नु जरुरी थियो। जनवादी क्रान्ति गर्नु थियो त्यसैले माओवादको तरिकाले ग¥यौँ। अब त्योभन्दा अगाडि बढेर समाजवादमा जाँदा समाजवादी क्रान्तिकै नाम र तरिकाले अगाडि बढ्नुपर्छ। त्यसैले समयानुकूल गतिशील हुनुपर्छ।’
‘धेरै नेता कार्यकर्ताको मन दुखेको छ नि?’ भन्ने प्रश्नमा उनले कसैले पनि मन दुखाउन जरुरी नभएको बताए। ‘सबैलाई मन नदुखाउन भन्छु। अब अगाडि बढ्ने बेला आएको छ। यसको जग माओवादी आन्दोलन हो, त्यसमा गौरव गर्नुपर्छ,’ उनले भने।
प्रकाशित: २० कार्तिक २०८२ १८:५३ बिहीबार