राजनीति

रसुवा बाढी ब्रफिङ- मृतक संख्या १,०५६ पुग्यो, करिब ४ हजार बेपत्ता, झन्डै १२ हजारको उद्धार

तस्बिर: एएफपी

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाउनेको संख्या १ हजार ५६ पुगेको छ भने हालसम्म ११ हजार ९९३ जनाको सकुशल उद्धार गरिएको छ।

गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार साँझ ६:०० बजेसम्म सार्वजनिक गरेको अद्यावधिक तथ्यांकअनुसार अझै करिब ३ हजार ९१६ जना नागरिक सम्पर्कविहीन रहेका छन्।

प्राधिकरणका अनुसार बाढीले बगाएर विभिन्न तटीय जिल्लामा पुर्‍याएका १,०५० वटा शव तथा मानव अंगहरू फेला परेका छन्। जसमध्ये सबैभन्दा बढी चितवनमा ३२१, नवलपरासी पूर्वमा २१६ र नवलपरासी पश्चिममा १७० वटा शव भेटिएका छन्। यस्तै, नुवाकोटमा १४२, गोरखामा ६५, धादिङमा ५७, रसुवामा ४१ र तनहुँमा ३८ जनाको शव फेला परेको छ।

बाढीपछि सम्पर्कविहीन रहेका ३,९१६ जनामध्ये जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र (डीईओसी) का अनुसार नुवाकोटबाट करिब १५५८ र रसुवाबाट करिब ८६५ जना छन्।

यस्तै, विभिन्न जलविद्युत् आयोजनाबाट करिब ६३९, सम्पर्कविहीन विदेशी नागरिक ५८३ र विदेशी पर्यटकसँगै घुम्न गएका नेपाली नागरिक १६४ जना रहेका छन्।

सुरक्षाकर्मीतर्फ नेपाली सेनाका ४५, नेपाल प्रहरीका २५ र सशस्त्र प्रहरी बलका १३ जना अझै सम्पर्कविहीन छन्। यसबाहेक भन्सार कार्यालयका १५, अध्यागमन कार्यालयका ३, लाङटाङ राष्ट्रिय निकुञ्जका ३ र क्वारेन्टाइन कार्यालयका ३ जना कर्मचारी हराइरहेका छन्।

प्रभावित क्षेत्रबाट हालसम्म ११ हजार ९९३ जनाको उद्धार गरिएको छ। नेपाली सेनाले हेलिकप्टरमार्फत २७३ जना विदेशी र ४ हजार ९१ जना नेपालीको हवाई उद्धार गरेको छ।

उद्धारका लागि सेनाले मंगलबार ८४ उडानसहित हालसम्म ६१० पटक र निजी क्षेत्रले काठमाडौँबाट २९ पटक हेलिकप्टर उडान गरेका छन्।

बाढीमा परी घाइते भएका २९२ जनामध्ये १८२ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन्। नेपाली सेनाले २,९१५ र सशस्त्र प्रहरीले १,१५५ जना घाइतेलाई स्वास्थ्य उपचार सेवा प्रदान गरेका छन्।

विपद् व्यवस्थापनका लागि कार्यक्षेत्रमा नेपाली सेनाका ९,१९९, नेपाल प्रहरीका ७,९१२ र सशस्त्र प्रहरीका ४,२०३ गरी कुल २१ हजार ३१४ सुरक्षाकर्मी परिचालित छन्।

नेपाल सरकारले रसुवा र नुवाकोट जिल्लालाई १/१ करोड, धादिङलाई ५० लाख तथा प्रभावित १५ वटा पालिकालाई ६ करोड ७५ लाख रुपैयाँ उपलब्ध गराएको छ।

मंगलबार प्रभावित १५ पालिकाका लागि थप ६ करोड ७५ लाख रुपैयाँ निकासा गरिएको छ। हालसम्म ३७ ट्रक र ३७ बोलेरोमार्फत राहत सामग्री प्रभावित क्षेत्रमा पठाइएको छ भने मंगलबार थप १४ गाडी राहत सामग्री पठाइएको छ।

सशस्त्र प्रहरीले ७७ उडानमार्फत राहत ढुवानी गरेको छ। हाल नुवाकोटमा २४६६, रसुवामा ३९८, काठमाडौंमा ३२९ र धादिङमा २६० गरी कुल ३ हजार ४५३ जना नागरिक अस्थायी होल्डिङ सेन्टरहरूमा आश्रय लिइरहेका छन्।

सञ्चार पूर्वाधारतर्फ नेपाल टेलिकमका क्षतिग्रस्त सबै ११० वटा टावर पूर्ण रूपमा सञ्चालनमा आइसकेका छन् भने एनसेलका ७८ मध्ये ७५ वटा टावर सुचारु भएका छन्।

यस्तै, प्रभावित क्षेत्रमा इन्धन आपूर्ति सहज बनाउन ३५ हजार लिटर डिजेल, १५ हजार लिटर पेट्रोल र ९ हजार लिटर हवाई इन्धन मौज्दात राखिएको प्राधिकरणले जनाएको छ।

प्रकाशित: १६ भाद्र २०८३ १९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App