राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले भोटेकोशी विपद्का कारण स्थगित गरिएका पार्टीका सम्पूर्ण आधिकारिक गतिविधि पुनः सञ्चालन गर्ने निर्णय गरेको छ।
वनस्थलीस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकले भोटेकोशी विपद् व्यवस्थापन, संयुक्त राष्ट्रसंघीय महासभामा नेपालको सहभागिता, मधेश प्रदेशको संगठनात्मक अवस्थालगायत विषयमा निर्णय भएको प्रवक्ता जगदीश खरेलले जानकारी दिए।
बैठकले भोटेकोशी बाढीमा परी ज्यान गुमाएका तर शव पहिचान हुन नसकेकाहरूको शीघ्र डीएनए परीक्षण गर्न तथा बेपत्ता भई आशा मारिसकेका व्यक्तिको हकमा परिवारको सहमतिमा मृत्यु प्रमाणपत्र उपलब्ध गराउने कानुनी प्रक्रिया छिटो टुंगोमा पुर्याउन सरकारको ध्यानाकर्षण गराएको छ।
यस्तै, संयुक्त राष्ट्रसंघीय महासभामा सहभागी हुन जान लागेका प्रधानमन्त्री, परराष्ट्रमन्त्रीलगायतको कार्यदललाई नेपालको विपद्सँग जोडिएका विषय, बदलिँदो राजनीतिक परिस्थिति, समृद्धि, अन्तर्राष्ट्रिय सम्बन्ध र विश्वमञ्चमा नेपालको भूमिकाबारे सम्बोधन केन्द्रित गर्ने गरी तयारी गर्न नीतिगत निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ।
यस्तै, रास्वपाले ‘हामी सुन्छौं अभियान’, ‘नागरिक नीति र नेतृत्व’ अभियान, स्थानीय तहका उम्मेदवार छनोट प्रक्रिया तथा अन्य संगठनात्मक र जनसम्पर्कका कार्यक्रम तत्काल अघि बढाउने निर्णय पनि गरेको छ।



प्रकाशित: ४ आश्विन २०८३ १८:०२ आइतबार
-600x400.jpg)


