राजनीति

कांग्रेसको केन्द्रीय समितिमा १० प्रतिशत सहभागिता माग्दै पेसागत संगठनले बुझाए देउवालाई ज्ञापनपत्र

नेपाली कांग्रेस निकट विभिन्न पेसागत संगठनहरूले पार्टीको केन्द्रीय कार्यसमितिमा कम्तीमा १० प्रतिशत सहभागिता सुनिश्चित गर्न माग गरेका छन्।

नेपाल प्रेस युनियन, डेमोक्रेटिक लयर्स एसोसिएसन लगायतका ६ वटा पेसागत संगठनका प्रमुखहरूले सोमबार सभापति शेरबहादुर देउवालाई संयुक्त ज्ञापनपत्र बुझाउँदै पार्टी संरचना र महाधिवेशनमा पेसागत क्षेत्रको सम्मानजनक र अर्थपूर्ण प्रतिनिधित्वको माग गरेका हुन्।

संगठनहरूले पार्टीको महाधिवेशनमा पेसागत संघ-संस्थाका प्रतिनिधिहरूलाई केवल मतदातामा सीमित नराखी उम्मेदवार बन्न पाउने अधिकारसमेत खुला गर्न माग गरेका छन्।

उनीहरूले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको कुल सदस्य संख्याको १० प्रतिशत हिस्सा पेसागत क्षेत्रबाट अनिवार्य रूपमा सुनिश्चित गर्नुपर्ने जिकिर गरेका छन्।

२०४६ सालको जनआन्दोलन तथा २०६२/०६३ को परिवर्तनमा इन्जिनियर, चिकित्सक, कानुन व्यवसायी, शिक्षक, प्राध्यापक तथा पत्रकारहरूले खेलेको निर्णायक भूमिकालाई स्मरण गराउँदै उनीहरूले अब पार्टीको निर्णायक तहमा आफूहरूको स्थान सुरक्षित हुनुपर्नेमा जोड दिए।

ज्ञापनपत्रमा संविधानको मर्मअनुसार राष्ट्रिय सभालाई बौद्धिक तथा अनुभवी वर्गको थलो बनाउनुपर्ने विषय पनि उठाइएको छ।

संविधानले परिकल्पना गरे अनुरुप व्यवहारमा राष्ट्रिय सभामा बौद्धिक वर्गको प्रतिनिधित्व हुन नसकेको गुनासो गर्दै उनीहरूले लोकतन्त्रप्रति आस्थावान पेसागत संघ-संस्थाका प्रतिनिधिलाई राष्ट्रिय सभासहित राज्यका विभिन्न निकायमा अवसर दिन नेतृत्वको ध्यानाकर्षण गराएका छन्।

साथै, प्रतिनिधि सभाको निर्वाचनमा पनि पेसागत पृष्ठभूमिका सक्षम र अनुभवी व्यक्तिहरूलाई प्राथमिकताका साथ उम्मेदवार बनाउने नीति पार्टीले अवलम्बन गर्नुपर्ने उनीहरूको माग छ।

पेसागत संगठनहरूले आफूहरूलाई केवल राजनीतिक कार्यकर्ताको रूपमा मात्र नभई पार्टीको वैचारिक ‘थिंक/ट्याङ्क’ का रूपमा संस्थागत गर्न आग्रह गरेका छन्।

नीति निर्माण, विकास रणनीति र सुशासनका सवालमा पेसागत वर्गको ज्ञान र सीपलाई उपयोग गर्न सके पार्टी अझ आधुनिक र जनउत्तरदायी हुने उनीहरूको विश्वास छ।

पार्टीले सार्वजनिक रूपमा बौद्धिक वर्गलाई आह्वान गरे पनि व्यवहारमा आन्तरिक संरचनाभित्र उचित स्थान नदिँदा पुराना र लोकतन्त्रवादी पेसाकर्मीहरूमा निराशा छाएको ज्ञापनपत्रमा उल्लेख गरिएको छ।

ज्ञापनपत्रमा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, डेमोक्रेटिक लयर्स एसोसिएसनका अध्यक्ष सीताराम केसी, सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका अध्यक्ष ई. रवि भूषण झा, प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिना, प्रजातन्त्रवादी चिकित्सक संघका का.वा. अध्यक्ष डा. बिक्रान्त ढकाल र नेपाल शिक्षक संघका अध्यक्ष सोमनाथ गिरीले हस्ताक्षर गरेका छन्।

ज्ञापनपत्रको बोधार्थ कार्यवाहक सभापति पूर्णबहादुर खड्का तथा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई समेत दिइएको छ।

प्रकाशित: २१ पुस २०८२ १७:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App