राजनीति

प्रधानमन्त्रीले भनिन्- काठमाडौं प्रशासनको सुधार सार्वजनिक सेवाको नमुना

प्रधानमन्त्री सुशिला कार्कीले काठमाडौं जिल्ला प्रशासन कार्यालयले अपनाएको सेवा प्रवाहको शैलीलाई देशभरका सरकारी निकायका लागि एक नमुना भएको बताएकी छन्।

सोमबार कार्यालयको स्थलगत अनुगमन र वस्तुस्थिति बुझेपछि सामाजिक सञ्जालमार्फत् उनले प्रशासनमा देखिएको परिवर्तनको प्रशंसा गरेकी हुन्।

प्रधानमन्त्री कार्कीले सार्वजनिक सेवामा गरिने साना पहलले नै ठुलो सुधारको मार्गप्रशस्त गर्ने उल्लेख गरेकी छन्।

‘ठुलो सुधारको सुरुवात सानो पहलबाट हुन्छ,’ उनले भनेकी छन्, ‘६ महिने छोटो कार्यकालमा देशैभरिका अड्डाको सुधार गर्न नसकिए पनि काठमाडौं जिल्ला प्रशासन कार्यालय सार्वजनिक सेवामा गर्न सकिने सुधारको एक नमुना हो।’

अनुगमनका क्रममा कार्यालयले भित्र्याएको समय तोकेर दिइने टोकन प्रणालीको प्रभावकारितालाई उनले मुख्य उपलब्धिका रूपमा लिएकी छन्।

टोकनमा आधारित यो सेवा प्रणालीले सेवाग्राहीको लाइन बस्नुपर्ने झन्झट हटाएको र गुनासोलाई शून्यमा झारेको जानकारी पाउँदा आफूलाई खुसी लागेको उनले बताइन्।

सुधारको यो प्रयासका लागि प्रधानमन्त्री कार्कीले काठमाडौंका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) ईश्वरराज पौडेल र समग्र कार्यालय परिवारलाई धन्यवादसमेत दिएकी छन्।

उनले यो नमुनालाई अन्य सरकारी निकायहरूमा पनि विस्तार गर्नुपर्ने आवश्यकतामा जोड दिइन्।

प्रकाशित: २ चैत्र २०८२ १७:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App