राजनीति

राजनीति भनेकै गद्दी हो, तर पार्टीलाई अनुशासनहीन बन्न दिन्न: रेशम

फाइल।

नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले राजनीतिमा पद र शक्तिको मोह स्वाभाविक भए पनि आफ्नो पार्टीलाई अनुशासनहीन बन्न नदिने चेतावनी दिए।

पार्टीको राष्ट्रिय भेलामा सहभागी हुन पुगेका उनले बाघ र मृगको कथा सुनाउँदै राजनीतिक दलहरूले जनताको भावना र अनुशासनलाई कहिल्यै बिर्सन नहुने बताए।

पार्टीभित्र देखिएको नेतृत्व विवाद र अध्यक्ष रञ्जिता श्रेष्ठको पछिल्लो निर्णयप्रति लक्षित गर्दै उनले भने, ‘राजनीति भनेकै गद्दी हो, त्यो सेवा-सुविधाका लागि हरेक मान्छे लालायित हुन्छन्। तर मेरो बच्चा राम्रो छ भन्दैमा उच्छृङ्खल हुन पाइँदैन, अनुशासनमा बस्नुपर्दछ।’

जेलभित्रबाट आफूले जन्माएको पार्टीप्रति भावनात्मक टिप्पणी गर्दै उनले पार्टीमा प्रजातान्त्रिक अभ्यास भए पनि कहिलेकाहीँ निश्चित मुद्दामा डिक्टेटरसिप पनि आवश्यक पर्ने धारणा राखे।

‘राजनीतिक पार्टी जनताको मर्म र भावनाअनुसार चल्नुपर्छ,’ उनले भने, ‘जनताले स्वीकारे मात्र राजनीति गर्ने हो, अस्वीकार गरेपछि त्यसको कुनै फाइदा छैन।’

उनले अध्यक्ष रञ्जिता श्रेष्ठले विधानविपरीत कार्यवाहक अध्यक्ष तोकेकोप्रति असन्तुष्टि जनाउँदै यसले पार्टीमा गम्भीर छलफलको आवश्यकता देखाएको बताए।

चौधरीले आफू पद र शक्तिका लागि नभई जनताको निकासका लागि दृढ रहेको र आवश्यक परे नेतृत्व सहजै हस्तान्तरण गर्न तयार रहेको पनि स्पष्ट पारे।

प्रकाशित: १४ श्रावण २०८२ १७:१५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App