राजनीति

नेपाल परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको छ: प्रधानमन्त्री

प्रधानमन्त्री सुशिला कार्कीले नेपाल अहिले राजनीतिक र आर्थिक रूपान्तरणको नयाँ चरणमा प्रवेश गरेको बताएकी छन्।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १२औं महाधिवेशन तथा विश्व सम्मेलनको समापन समारोहलाई सोमबार सम्बोधन गर्दै उनले नयाँ जनादेश र बदलिँदो परिवेशले मुलुकलाई स्थायित्व र समृद्धितर्फ लैजाने विश्वास व्यक्त गरिन्।

प्रधानमन्त्री कार्कीले मुलुकको बदलिँदो तस्बिरलाई उपलब्धिमा बदल्न विश्वभर छरिएका नेपालीहरूको साथ र सहयोग अपरिहार्य रहेको उल्लेख गरिन्।

‘नेपाल अहिले परिवर्तनको नयाँ चरणमा प्रवेश गरेको छ, जहाँ जनतामा विकास र समृद्धिको नयाँ आशा जागृत भएको छ,’ उनले भनिन् ‘यो महत्त्वपूर्ण समयमा तपाईंहरूले देखाउनुभएको एकता र साझा जिम्मेवारीको सन्देशले मुलुकको विकासमा थप ऊर्जा प्रदान गर्नेछ।’

प्रवासी नेपालीहरूलाई प्रधानमन्त्रीले विदेशमा आर्जन गरेको ज्ञान, सीप, अनुभव र पुँजीलाई मातृभूमिको हितमा परिचालन गर्न आग्रह गरिन्।

संविधानले व्यवस्था गरेको गैरआवासीय नेपाली नागरिकताले मातृभूमि र प्रवासी नेपालीबीचको आत्मीय सम्बन्धलाई अझ बलियो बनाएको बताउँदै उनले यसलाई लगानी र सहकार्यको सेतुका रूपमा उपयोग गर्न आह्वान गरिन्।

प्रधानमन्त्री कार्कीले एनआरएनएभित्र विगतमा देखिएको विवाद र विभाजन अन्त्य भई एकताबद्ध नेतृत्व चयन भएकोमा खुसी व्यक्त गरिन्।

नवनिर्वाचित अध्यक्ष डा. हेमराज शर्मासहितको कार्यसमितिलाई बधाई दिँदै उनले भनिन्, ‘विभाजन र मुद्दा मामिला छाडेर एउटै ब्यानरमुनि उभिनु नै ठुलो शक्ति हो। यो एकताले विश्वभर रहेका नेपालीहरूलाई भावनात्मक रूपमा जोड्नेछ।’

भूकम्प, बाढीपहिरो र महामारीजस्ता विपद्का बेला गैरआवासीय नेपालीले पुर्‍याएको योगदानको कदर गर्दै प्रधानमन्त्रीले नयाँ पुस्तालाई नेपालसँग जोड्ने र नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रूपमा चिनाउने काममा लाग्न समेत आग्रह गरिन्।

प्रकाशित: २ चैत्र २०८२ १९:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App