मधेस प्रदेशको नीति तथा कार्यक्रम पारित भएको छ । बिहीबारको मधेस प्रदेश सभाको बैठकबाट २०८३/८४ का लागि प्रस्तुत गरिएको नीति तथा कार्यक्रम सर्वसम्मतले पारित भएको छ । यो संगै मधेस प्रदेश सरकारले बजेट प्रस्तुत गर्ने बाटो खुलेको छ ।
यसअघि विपक्षी दलहरुले विरोध जनाउनका साथै विभिन्न माग राख्दै प्रदेश सभा बैठक अवरुद्ध गर्दै आएका थिए । पछि सभामुख रामआशिष यादवले डाकेको सर्वदलीय बैठकमा मुख्यमन्त्री कृष्ण यादवले विपक्षी दलले उठाएका प्रश्न एवम मागहरुको सम्बोधन गर्ने आश्वासन दिएपछि प्रदेश सभा बैठक पुनः सुचारु भएको थियो ।
बिहीबार बसेको बैठकमा अर्थमन्त्री भट्टराईले विनियोजन विधेयक २०८३ मा समावेश हुने बजेट तथा कार्यक्रमहरुको सिद्धान्त र प्राथमिकताहरु प्रस्तुत गरेका छन् ।
आगामी बजेटमा उपलब्ध साधन स्रोतको अधिकतम उपयोग, लगानीमैत्री वातावरण निर्माण र बहुआयामिक गरिबी दरलाई उल्लेख्य रुपमा घटाउने दिशामा केन्द्रित हुने अर्थमन्त्री भट्टराईले जानकारी दिए ।
उनले यस वर्ष गत वर्षका कमी कमजोरी नदोहोरिने गरी सरकारले आगामी वर्षकालागि सुशासन र प्रविधिमैत्री प्रशासन, मेडइन मधेस, समृद्ध मधेस, कृषि अर्थतन्त्रलाई प्रादेशकि मेरुदण्डमा राखेर बजेट ल्याउने बताए ।
अर्थमन्त्री भट्टराईका अनुसार आगामी बजेटमा टुक्रे योजनाहरुलाई निरुत्साहित गर्दै प्रादेशिक गौरवका आयोजनाहरुमा स्रोत केन्द्रित गरिनेछ ।
बेटी बचाउ बेटी पढाउ अभियानलाई परिमार्जित गर्दै विज्ञान र प्रविधिमा छात्राहरुलाई विशेष प्रोत्साहन छात्रवृति दिइने छ । अर्थमन्त्री भट्टराईका अनुसार अति विपन्न र दलितहरुको स्वास्थ्यका लागि पूर्ण स्वास्थ्य बीमामा पहुँच पुर्याइने छ ।
मधेस प्रदेश सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ ।
प्रकाशित: २८ जेष्ठ २०८३ १५:१३ बिहीबार



