राजनीति

काठमाडौं १ विवाद : काठमाडौंमा राप्रपाले टिकट बाँड्न सकेन, रवीन्द्रले टिकट पाए विद्रोह हुने

राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौं १ मा विवाद चर्किएपछि काठमाडौं जिल्लामा उम्मेदवार चयन गर्न सकेको छैन।

काठमाडौं १ मा पार्टीका सह-कोषाध्यक्ष शोभित उप्रेती र वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र दुवै जनाको दाबी परेपछि त्यसको प्रभाव अन्य निर्वाचन क्षेत्रमा पनि परेको हो। क्षेत्रीय निर्वाचन समितिले पशुपतिशम्शेर राणालाई पहिलो र उप्रेतीलाई दोस्रो नम्बरमा सिफारिस गरेको थियो। राणाले आफू उम्मेदवार नबन्ने घोषणा गरेपछि उप्रेतीले स्वतः आफ्नो दाबी प्रस्तुत गरेका छन्। मिश्रले पनि आफ्नो उम्मेदवारी रहने बताएका छन्।

वरिष्ठ उपाध्यक्ष मिश्र यो निर्वाचन क्षेत्रबाट दुई पटक पराजित भइसकेका छन् भने यस पटक क्षेत्रीय समितिले उनको नाम सिफारिस गरेको थिएन। मिश्रले आफ्नै पहलमा बैठक राखेर आपनो नाम जिल्ला समितिमा पठाएका थिए।

राप्रपाले विवाद मिलाउन आइतबार दुवै पक्षसँग छलफल गर्ने जनाएको छ। उप्रेती र मिश्रसहितको बैठकबाट निर्णय गरी उपत्यकाका उम्मेदवारको टुंगो लगाउने केन्द्रीय सल्लाहकार मदनदास श्रेष्ठले जानकारी गराए।

काठमाडौं १ का बासिन्दाले स्थानीय व्यक्तिलाई उम्मेदवार बनाउन पार्टीको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: ३ माघ २०८२ १०:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App