राजनीति

रेशमको उम्मेदवारी रद्द भएपछि जसपा र राष्ट्रिय मुक्तिको आपत्ति

फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका नागरिक उन्मुक्ति पार्टी नेपालका संरक्षक रेशमलाल चौधरीको उम्मेदवारी रद्द भएपछि त्यसको विरोध चर्किएको छ।

चौधरीको उम्मेदवारी रद्द भएसँगै जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी नेपालले संयुक्त रूपमा विज्ञप्ति जारी गर्दै उनलाई चुनाव लड्न पाउनुपर्ने माग गरेका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष अशोक कुमार राईद्वारा जारी विज्ञप्तिमा रेशमलाल चौधरी थारू पहिचान प्राप्तिको संघर्षका एक सशक्त अभियन्ता रहेको र उनको उम्मेदवारी अस्वीकार गर्नु असंवैधानिक, प्रतिशोधपूर्ण र अलोकतान्त्रिक कदम भएको बताएका छन्।

विज्ञप्तिमा पहिचानको आन्दोलनमा सक्रिय जनता समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी नेपाल र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच एकल चुनाव चिन्ह ‘जाँतो’ मार्फत चुनाव लड्ने निर्णयबाट ईर्ष्यालु बनेका शक्तिहरूको षड्यन्त्रको आशंका भनिएको छ।

त्यस्तै गरी राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोद्वारा जारी विज्ञप्तिमा पनि चौधरीको उम्मेदवारी रद्द गर्ने निर्वाचन आयोगको निर्णय अत्यन्त दुःखद, पूर्वाग्रही र अस्वीकार्य रहेको उल्लेख छ। राष्ट्रिय मुक्ति पार्टीले यसअघि आममाफी पाएका अन्य नेताहरू निर्वाचनमा सहभागी हुँदै आएको उदाहरण प्रस्तुत गर्दै चौधरीको हकमा मात्रै यस्तो निर्णय आउनु गम्भीर पक्षपात भएको जनाएको छ।

पार्टीले निर्वाचन आयोगको निर्णयले एक व्यक्तिको मात्र नभई उत्पीडित समुदायको मताधिकार, प्रतिनिधित्व र आत्मसम्मानमाथि प्रहार गरेको भन्दै निर्णय तत्काल पुनर्विचार गरी उम्मेदवारी कायम गर्न माग गरेको छ।

प्रकाशित: ९ माघ २०८२ १३:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App