राजनीति

किसानको खेतमा पानी पुर्‍याउन सरकार पूर्ण प्रतिबद्ध छ: मन्त्री खड्का

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले महाकाली सिँचाइ आयोजनाअन्तर्गत निर्माणाधीन तेस्रो मूल नहरको स्थलगत निरीक्षण गरेका छन्।

मन्त्री खड्काले आज कञ्चनपुरमा निर्माणाधीन महाकाली सिँचाइ आयोजनाको तेस्रो चरणको निर्माणाधीन नहरको अनुगमन तथा निरीक्षण गर्दै आयोजना समयमै सम्पन्न गर्न सरकार गम्भीर रहेको बताए।

उनले आयोजनाको वर्तमान कार्यप्रगति सराहनीय रहेकाले तोकिएको लक्ष्य हासिल गर्न अझ प्रभावकारी रूपमा काम अघि बढाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिए। निरीक्षणका क्रममा उनले महाकाली सिँचाइ आयोजना सुदूरपश्चिमको समृद्धिसँग प्रत्यक्ष रूपमा जोडिएको आयोजना भएको बताए। 'किसानको खेतमा पानी पुर्‍याउन सरकार पूर्ण प्रतिबद्ध छ, कुनै कमजोरी हुन दिइने छैन,' उनले भने। राष्ट्रिय गौरवको आयोजनालाई समयमा सम्पन्न गर्न सरकार पूर्ण प्रतिबद्ध रहेको उनको भनाइ थियो।

टनकपुर ब्यारेजमार्फत प्राप्त पानी प्रयोग गरी सञ्चालनमा ल्याइएको उक्त आयोजनाले कञ्चनपुरको ब्रह्मदेव, मालाखेती, दोधारा–चाँदनी र त्रिभुवनवस्ती क्षेत्रका ३३ हजार ५२० हेक्टर जमिनमा सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखेको छ।

हालसम्म ३० किलोमिटर मूल नहर र करिब १२ किलोमिटर शाखा नहर निर्माण भइसकेको छ भने करिब ६५० हेक्टर जमिनमा सिँचाइ संरचना तयार भइसकेको छ। आयोजनाको समग्र भौतिक प्रगति हाल २४.२२ प्रतिशत पुगेको छ भने चालु आर्थिक वर्षको पहिलो आठ महिनामा ८३.९७ प्रतिशत भौतिक प्रगति हासिल भइसकेको बताइएको छ।

निरीक्षणमा जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडी, सिँचाइ विभागका महानिर्देशक सञ्जीव बराललगायत मन्त्रालयका उच्च पदस्थ कर्मचारी र स्थानीय जनप्रतिनिधिको उपस्थिति थियो। रासस

प्रकाशित: १२ श्रावण २०८२ २२:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App