नेपालको पर्यटन क्षेत्रका विज्ञ एवं नेपाल पर्यटन बोर्ड एनटीबीका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीइओ) डा. धनञ्जय रेग्मी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन्।
रास्वपाको पार्टी कार्यालयमा बिहीबार एक कार्यक्रमबिच उनी रास्वपामा प्रवेश गरेका हुन्। रास्वपाको सिद्धान्त, नीतिगत धारणा र समर्पित नेतृत्वप्रति रेग्मीले विश्वास व्यक्त गर्दै पार्टीमा सहभागी भएको जानकारी दिए।
कार्यक्रममा सम्बोधन गर्दै डा.रेग्मीले पुराना राजनीतिक शक्तिहरूबाट मुलुकको समृद्धि सम्भव नभएको निष्कर्षमा पुगेर रास्वपा रोजेको बताउँदै जीवनको धेरै समय विज्ञान, अनुसन्धान र पर्यटन विकासमा बिताएकाले अब त्यो अनुभवलाई राजनीतिको माध्यमबाट राष्ट्र निर्माणमा प्रयोग गर्ने दाबी गरे।
रेग्मीले आफू यसअघिसम्म कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको स्पष्ट पार्दै अब रास्वपाको नीतिगत स्पष्टता र सदाचारी नेतृत्वप्रति भरोसा रहेकाले पार्टीमा प्रवेश गरेको बताएका छन्। रास्वपा सभापति रवि लामिछानेमाथि भइरहेका राज्यद्वारा नियोजित दमन र चरित्रहत्या प्रयासप्रति चिन्ता व्यक्त गर्दै उनले आफू रवि नेतृत्वप्रति पूर्ण समर्थनका साथ उभिएको घोषणा गरेका छन्।
स्याङ्जा जिल्लामा जन्मेका डा. रेग्मी नेपालको हिमाली भूगोल, वातावरण, जलवायु परिवर्तन र पर्यटन क्षेत्रमा लामो समयदेखि अनुसन्धानरत विज्ञ हुन्।
रेग्मी सिइओ हुँदा विभिन्न विवादमा मुछिएका व्यक्ति हुन्।
प्रकाशित: १ श्रावण २०८२ १७:५० बिहीबार



